‘कभर्डहल चाहियो’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कभर्डहल चाहियो’

दुई वर्षको अन्तरालमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेपछि कभर्डहलको माग नेपाली खेलाडीका लागि अधिकारको आवाज थियो
कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही राम्रो खेल्छिन्, कम बोल्छिन् । बोल्न लजाउँछिन् । एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको ट्रफी बोकेर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि स्वागत गर्न पुगेका खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग आँखा जुधाएरै भनिन्– अब कभर्डहल चाहियो ।

दुई वर्षको अन्तरालमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेपछि कभर्डहलको माग नेपाली खेलाडीका लागि अधिकारको आवाज थियो । र, अलिकति असुहाउँदो पनि । खेलाडी आफैंले ‘कृपया रंगशाला बनाइदेऊ हामी सफलता दिलाइदिन्छौं’ भनेर याचना गर्नुपर्ने परिदृश्य अचम्मित नै हो ।

कप्तान शाहीले मन्त्रीसमक्ष तीनवटा महत्त्वपूर्ण माग गरिन् । एउटा पूर्वाधारकै कुरा भयो । भलिबलमा अहिलेसम्म सञ्चालन हुन नसकेको ग्रासरुट कार्यक्रम तथा उमेर समूहको प्रतियोगिता र खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी सुविधा र सुरक्षामा पनि उनले ध्यानाकर्षण गराइन् ।


‘हाम्रो यो सफलताको पछाडि धेरै पीडा लुकेको छ । हामीले प्रशिक्षणस्थलसमेत पाउन कठिनाइ भएको थियो । राष्ट्रिय खेल भएर पनि आफ्नै एउटा कभर्डहल छैन । आगामी दिनमा पूर्वाधारमा ध्यान दिइयोस् भन्ने अपेक्षा छ,’ अरुणा शाहीले भनिन्, ‘विपक्षी टोलीहरूले लगातार सुधार गरिरहेका छन् । तर हामीसँग ब्याकअप खेलाडी छैनन् । नयाँ खेलाडी उत्पादनका लागि ग्रासरुट कार्यक्रममा ध्यान दिनुपर्छ ।’


खेलकुदमन्त्री गहतराजले आफ्नो नियुक्तिदेखि नै बारम्बार खेलाडीको हितमा सोचेर निर्णय गरिने बताउँदै आएका छन् । उनले भलिबलको पूर्वाधारका लागि आफू गम्भीर रहेको दोहोर्‍याए । राखेप परिसर त्रिपुरेश्वरमा अवस्थित पुरानो पौडी पोखरी र टेनिस कोर्डको क्षेत्रमा भलिबल पूर्वाधार बनाउन पहल गर्ने कुरा दोहोर्‍याए । उनले आसन्न एसियाली खेलकुदमा भलिबलका महिला र पुरुष दुवै टोलीलाई सहभागी गराउने निर्णय भएको जानकारी दिए । ‘आगामी एसियन गेम्समा नेपालको दुवै टोलीलाई सहभागी गराउने निर्णय हिजो साँझमात्र गरेका छौं । अब तपाईंहरू भोलि र पर्सी आराम गर्नुहोस्, अर्को दिनदेखि एसियाली खेलकुदको तयारी सुरु गर्नुहोस्,’ गहतराजले भने ।


लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहेका जगदीश भट्टले पनि मन्त्रीको आश्वासनको प्रशंसा गरी आगामी दिनमा राष्ट्रिय खेल भलिबलको विकासमा कोसेढुंगा बन्ने बताए । ‘मैदानमा राम्रो प्रदर्शन गर्नु र सफलता दिलाउनु हाम्रो कर्तव्य हो । त्यसका लागि पूर्वाधारलगायतको व्यवस्थापन गर्नु राज्यको दायित्व हो । त्यसैले आगामी दिनमा भलिबलको ग्रासरुट कार्यक्रम, उमेर समूहका तीनवटा टोली निर्माण गरी दिगो विकास आवश्यक भइसकेको छ,’ प्रशिक्षक भट्टले भने । उनले अन्तर्राष्ट्रिय सफलता र सहभागितामा एउटा लक्ष्य निर्धारण गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बेला भइसकेको बताए ।


नेपाली टोलीलाई विमानस्थलबाट नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टिमलाई शुभकामना तथा सम्मान गरे ।

पुरुष टिमलाई बेवास्ता

सेन्ट्रल जोन भलिबलमा नेपालको महिला र पुरुष दुवै टोलीको सहभागिता थियो । महिला टोलीले उज्वेकिस्तानलाई हराएर उपाधि जित्दा पुरुष टोली उज्वेकिस्तानसँगै हारेपछि पदकबाट वञ्चित भएको हो । लिग चरणमा तेस्रो भएको नेपाल तेस्रो स्थानका लागि भएको प्लेअफमा पराजित भएको हो ।

बंगलादेशबाट सँगै फर्किएका नेपालका दुवै टोली एकै समयमा प्रस्थान गरेका थिए । भलिबल संघको कमजोर व्यवस्थापनका कारण पुरुष टोलीले विमानस्थलमा निकै असहज र अपमानित महसुस गर्‍यो । स्वाभाविक रूपमा उपाधि विजेता टोलीले नै बढी प्राथमिकता पाउँछ । तर दुई वर्षअघि घरमै आयोजित पाँचौं सेन्ट्रल जोनको तुलनामा सुधारिएको प्रदर्शन गरेको पुरुष टोलीलाई संघले सान्त्वना दिन पनि सकेन ।

विमानस्थलमा भलिबल संघका सबै पदाधिकारी महिला टोली वरिपरि झुम्मिए । महिला खेलाडी खादा/मालाले भरिभराउ थिए । पदाधिकारी महिला टोलीसँग तस्बिर र सेल्फीमा व्यस्त हुँदा पुरुष खेलाडी भने खाली हात ट्याक्सी चढेर घर गए । संघले पुरुष टोलीका लागि पनि सवारीको व्यवस्था गरेको थिया । तर उचित व्यवस्थापन हुन नसक्दा त्यो गाडी खाली नै फर्कियो ।

‘स्वाभाविक रूपमा सफलता हासिल गर्ने टोलीकै वाहीवाही हुने हो । हामीले त्यसलाई धेरै अनर्थ रूपमा लिएका छैनौं,’ राष्ट्रिय टोलीका कप्तान इमबहादुर रानामगरले कान्तिपुरसँग भने, ‘तर संघले अलिकति खादाका लागि खर्च गरिदिएको भए हुन्थ्यो ।’

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले विमानस्थलको स्वागत कार्यक्रमको व्यवस्थापन गरेकी थिइन् । टिमलाई विमानस्थलमा स्वागत गरी नगर परिक्रमा गराएर राखेप कभर्डहलमा सम्मान कार्यक्रम गरिएको थियो । ‘हामीले खेलाडीलाई काखा र पाखा गरेका होइनौं । पुरुष टिमलाई पनि पुग्ने खादा र माला ल्याएका थियौं । तर सबैले महिला खेलाडीलाई लगाइदिँदा उनीहरूका लागि पुगेन,’ उपाध्यक्ष मास्केले कान्तिपुरसँग भनिन् ।

पुरुष टिमले पाँच टोली सम्मिलित प्रतियोगितामा दुई जित हासिल गरेको थियो । माल्दिभ्स र उज्वेकिस्तानलाई पराजित गरेपछि नेपाल लिग चरणमा तेस्रो भएको हो । राष्ट्रिय टोलीका क्वीक स्पाइकर हरि अधिकारीले प्रदर्शन र उपलब्धिमा सन्तुष्ट रहेको बताए ।

‘अघिल्ला संस्करणको तुलनामा हाम्रो धेरै नै माथिल्लोस्तरमा प्रदर्शन भएको हो । प्रतिस्पर्धात्मक खेल थियो । हामीले बलियो टोलीलाई पराजित गर्‍यौं ।

उपाधि जितेको श्रीलंकाविरुद्ध पनि हामीले एक सेट जितेका हौं,’ त्रिभुवन आर्मी क्लबका सिनियर सदस्य हरिले भने, ‘दुर्भाग्य, हामी पदकको नजिक पुगेर पनि हार्नुपर्‍यो । मेरो विचारमा पूरै टिमले शतप्रतिशत प्रदर्शन गरेको हो । तयारीअनुसार हाम्रो प्रदर्शन सन्तोषजनक रह्यो भन्ने लाग्छ ।’

प्रकाशित : पुस १६, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय खेल : पूर्वाधार न बजेट

एउटा अँध्यारो कोठाबाट चलेको भलिबल संघको आफ्नै पूर्वाधार छैन, एकेडेमी छैन, ग्रासरूट कार्यक्रम छैन, उमेर समूहको प्रतियोगिता छैन
कुशल तिमल्सिना

काठमाडौँ — एसियन सेन्ट्रल जोन भलिबलका लागि बंगलादेश प्रस्थान गर्नुअघि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज उपस्थित कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दको बिलौना थियो– राष्ट्रिय खेल घोषणा गर्नुबाहेक हामीलाई सरकारले हेरेन । पूर्वाधार, प्रतियोगिता र योजना कार्यान्वयनमा सहयोग गरेन ।

खेलाडीको हौसला बढाउने बिदाइ कार्यक्रममा संघको दुःख पोखेको भन्दै मन्त्री गहतराज कार्यक्रममै झोंक्किए । तर, स्थान गलत भए पनि चन्दले कुरा सही गरेका थिए । राष्ट्रिय खेल तोकेपछि त्यसको संस्थागत विकास र स्तरोन्नति प्राथमिकतामा पर्नुपर्‍यो भन्ने संघको माग जायज नै थियो ।

बंगलादेशमा आयोजित प्रतियोगिताको महिलातर्फ नेपालले उपाधि रक्षा गर्‍यो । पुरुषतर्फ पनि सुधारिएको प्रदर्शन भयो । यसले नेपाली खेलाडीको क्षमता पुष्टि गरेको छ । उपलब्धि संस्थागत गरी थप सफलताका आधार तय गर्नुपर्छ । तर, भलिबल संघसँग न पूर्वाधार छ न बजेट । नेपालले महिलातर्फ एसियामै शीर्ष आठभित्र आउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ ।

यो प्रतियोगिताका लागि महिला र पुरुष टोलीको सहभागिताका लागि स्रोत व्यवस्थापन झनै दयनीय थियो । तयारी र सहभागितासमेत गरेर करिब ३५ लाख रुपैयाँ खर्च भएको अनुमान संघको छ । नियामक निकायबाट कुनै आर्थिक सहयोग नहुँदा संघले खर्च जुटाउन चर्को दौडधुप गर्नुपरेको थियो । बंगलादेश जाने/आउने हवाई टिकटका लागि समेत प्रायोजक खोज्नुपर्‍यो । संघले प्रायोजकबाट करिब ६ लाख र बचतबाट २५ लाख रुपैयाँ खर्च गरिसकेको छ । पूरा हिसाब टिम फर्किएपछि हुनेछ ।

ग्लोबल ट्राभल एड्भेन्चरबाट करिब ५ लाखको हवाई टिकट, अध्यक्ष मनोरन्जन रमण शर्माबाट नगद १ लाख, एनआईसी एसिया बैंकबाट पोसाकलगायतको प्रायोजनबाट सेन्ट्रल जोनमा पुगेको टोलीले दिएको सशक्त प्रदर्शनपछि यो खेलको विकासबारे बहस हुन थालेको छ ।

‘यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहयोग माग्दा अन्तर्राष्ट्रिय सहभागिताका लागि बजेट छैन भन्ने जवाफ पाएका हौं । सदस्य सचिवज्यू (टंकलाल घिसिङ) ले अहिलेलाई जाँदै गर्नुस् पछि हेरौंला भन्नुभएको थियो,’ संघका महासचिव चन्दले भने, ‘शुभचिन्तक र दाताहरूको सहयोग भयो नै भलिबल संघले आन्तरिक प्रतियोगिताबाट गरेको बचतले यसपल्ट सेन्ट्रल जोन सहभागिता सहज भयो ।’ संघले महिला र पुरुषको गरी वार्षिक चारवटा प्रतियोगिता आयोजना गर्छ– एनभीए कप क्लब च्याम्पियनसिप, एनभीए क्लब लिग । महासचिव चन्दले भने, ‘असोज दोस्रो साता एनभीए कप आयोजना गर्दा ३० लाख बचत गरेका थियौं । त्यो रकम यो प्रतियोगितामा खर्च गरेका हौं ।’

राखेपले गत आर्थिक वर्षमा संघलाई आन्तरिक प्रतियोगिताका लागि १० लाख र एसियन च्याम्पियनसिपको तयारीका लागि थप १० लाख गरी २० लाख उपलब्ध गराएको थियो । असारमा झन्डै एक महिना बन्द प्रशिक्षण गरेपछि कोरोना महामारीलाई कारण देखाउँदै एसियाली भलिबल महासंघ (एभीसी) ले प्रतियोगिता स्थगित गरिदियो । ‘त्यतिबेलासम्म तयारीका लागि ३० लाख खर्च गरिसकेका थियौं ।

राखेपले १० लाखमात्र दियो । बाँकी खर्च असोजमा एनभीए कप आयोजना गरेपछि भुक्तानी गरेका हौं,’ महासचिव चन्दले थपे, ‘आन्तरिक प्रतियोगिता नभएको भए संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमलाई सहभागी गराउन सक्दैनथ्यो ।’ उनले संघले हरेक वर्ष ९ देखि १० करोडसम्मको बजेट राखेपलाई पेस गरेको बताए । तर, राखेपबाट प्रतियोगिता आयोजनाका आधारमा सीमित सहयोग हुँदै आएको छ । यस वर्षदेखि खेल पोसाक उत्पादक कम्पनी केल्मीले प्रायोजन गरेपछि संघलाई ‘किट’बापत ६/७ लाखको व्ययभार कम हुन थालेको छ । ‘क्रिकेट र फुटबलले जस्तो हामीलाई अन्तर्राष्ट्रिय निकायबाट नगद आउँदैन । उनीहरूले प्रशिक्षकलगायत दक्ष जनशक्ति र म्याट, नेट, बलजस्ता जिन्सी सामग्री मात्र सहयोग गर्छन्,’ चन्दले भने ।

यी भए बजेटका कुरा । प्रतियोगिता सञ्चालन गर्न पुग्ने बजेट त नपाउने संघको पूर्वाधार र ग्रासरुटमा लगानी कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । राखेप कभर्डहलमा करिडोरको एउटा अँध्यारो कोठाबाट भलिबल सञ्चालन हुन्छ । संघको आफ्नै पूर्वाधार छैन, एकेडेमी छैन, ग्रासरुट कार्यक्रम छैन, उमेरसमूहको प्रतियोगिता छैन ।

यस्तो परिस्थितिमा महिला टोलीले दुई वर्षको अन्तरालमा तीनवटा ठूला प्रतियोगिताको फाइनलमा पुग्नु र दुईवटामा उपाधि जित्नु चानचुने सफलता होइन । कप्तान अरुणा शाहीले पूर्वाधारमा अहिले पनि ध्यान दिन नथाल्ने हो भने कहिल्यै भलिबलको विकास नहुने बताइन् ।

‘हाम्रो देशमा रिजल्ट मात्र खोजिन्छ, तयारीलाई ध्यान दिइँदैन । राष्ट्रिय खेल भनेर मात्र हुँदैन । हामीसँग आफ्नै कभर्डहलसमेत छैन । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त तयारी गर्न पाइँदैन । ब्याक टु ब्याक नतिजा आइरहेका बेलामा पनि यसमा ध्यान नदिने हो भने भलिबलको विकास कहिल्यै हुँदैन,’ महिला टोलीको लगातार सफलताकी नायक अरुणाले ग्रासरुट कार्यक्रम र नयाँ खेलाडी उत्पादनबारे भनिन्, ‘खेलकुदमा पुस्तान्तरण जरुरी हुन्छ । हामीभन्दा पछाडिको पुस्ता उत्पादनमा ढिला भइसक्यो । किनभने दुई वर्षको अन्तरमै हाम्रो यो टिमले आफ्नो उपलब्धि जोगाउन धेरै संघर्ष गर्नुपर्‍यो । नयाँ र उच्चस्तरको पुस्ता नआएसम्म सशक्त प्रदर्शनलाई नियमित राख्न सक्दैनौं । त्यसका लागि एकेडेमी, ग्रासरुट कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यमा ध्यान दिनुपर्छ ।’

भलिबलको कभर्डहल निर्माणका लागि सरकारले एक वर्ष रातो किताबमा उल्लेख गरी १ करोड रुपैयाँ विनियोजन गरेको छ । कभर्डहल निर्माणका लागि काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा जग्गा पहिचान भइसकेको छ । यसका लागि सम्बन्धित स्थानीय तह र राखेपबीच लिखित सहमति हुन ढिला भइरहेको छ । त्यसैले यो वर्ष पनि बजेट फ्रिज हुने चिन्ता छ । जग्गा पहिचान नहुँदा अघिल्लो आर्थिक वर्षमा पनि ५० लाख बजेट फ्रिज भएको थियो ।

‘हामीले तारकेश्वर नगरपालिकामा स्थान पहिचान गरी नगर प्रमुख र उपप्रमुख तथा वडाध्यक्षसँग छलफल गर्‍यौं,’ संघकी उपाध्यक्ष निरोज मास्केले भनिन्, ‘तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई समेत लगेर ठाउँ देखाएका थियौं । दुवै पक्ष मौखिक रूपमा सहमत भइसकेका छन् । तर, स्थानीय तह र खेलकुद परिषद्बीच नै लिखित सहमति गर्नुपर्ने भएकाले समय लागेको हो । हामी फलोअपमै छौं ।’

सेन्ट्रल जोनको बिदाइ कार्यक्रममा मन्त्री गहतराजले त्रिपुरेश्वरस्थित राखेप परिसरको पौडी पोखरी र टेनिस कोर्ट रहेको जग्गा भलिबल संघलाई उपलब्ध गराउने प्रयास गर्ने घोषणा गरेका थिए । भलिबल संघको शाखा ७७ जिल्लामै छ । नयाँ खेलकुद ऐनकै कारण संघको कार्यसमितिको निर्वाचन नभएको पनि आउने जेठमा तीन वर्ष पुग्दै छ ।

प्रकाशित : पुस १५, २०७८ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×