लैंगिक समानता र यौन उत्पीडनमा सचेत रहन जोड

काठमाडौँ — नेपाली खेल संघहरूले अबको दिनमा आफूलाई परिवर्तन गरेर लैंगिक समानता र यौन उत्पीडनसम्बन्धी घटनामा सचेत रहनुपर्नेछ । नेपाल ओलम्पिक कमिटीको मंगलबार १२औं साधारणसभा मुख्यतः दुई विषयमा केन्द्रित रह्यो । पहिलो थियो, यही लैंगिक समानता र यौन उत्पीडनबारे ।

लैंगिक समानता र यौन उत्पीडनमा सचेत रहन जोड

अध्यक्ष जीवनराम श्रेष्ठले सहभागी संघका प्रतिनिधिलाई यसबारे सम्बोधन गर्दै यस्तो गर्न नसके समग्र नेपाली खेलकुद ओलम्पिक आन्दोलनमा पछाडि पर्ने बताए । श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पछिल्लो समय खेल संघमा अत्यधिक महिला सहभागितामा जोड दिएको छ र यौन उत्पीडन जस्ता घटनामा अब खुलेर अगाडि आउन भनेको छ ।आईओसीले खेल संघलाई खेल मिलेमतो जस्तो घटनामा शून्य सहनशीलता अपनाउन पनि भनेको छ । दोस्रो विषय भने अदालतले नेपाली खेलकुदलाई लिएर भर्खर गरेको निर्णयबारे थियो । साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सर्वोच्चको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताए ।

उनले देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्दालाई अग्राधिकारमा राखेर हेर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवका विषयमा सर्वोच्च अदालतको आदेशबारे बोल्दै मन्त्री गहतराजले समस्याको चाँडै समाधान हुनुपर्ने बताए । उनले भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’ अध्यक्ष जीवनरामले त्यस अवसरमा खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनुपर्ने बताए । उनले भने, ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न ।’ महासचिव निलेन्द्रराज श्रेष्ठले पनि अहिले नेपाली खेलकुदमा अन्योलता छाएको बताए र त्यसको समाधान चाँडैभन्दा चाँडै आवश्यक रहेकोमा जोड दिए ।

त्यस अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकाशित पुस्तकको पनि विमोचन गरिएको थियो । साधारणसभाको बन्द सत्रले महासचिव श्रेष्ठले प्रस्तुत गरेको सन् २०२१ को प्रगति विवरण र सन् २०२२ का लागि कार्यक्रम पारित गरेको थियो ।

कोषाध्यक्ष रत्नकुमार टन्डनले आर्थिक वर्ष २०७७/७८ को आयव्यय विवरण पेस गर्दै सन् २०२२ का लागि अनुमानित बजेट पनि प्रस्तुत गरे । साधारणसभाले महासचिव र कोषाध्यक्ष दुवैको प्रतिवेदन पनि पास गरेको छ । कमिटीका सदस्य तथा मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले २०२१ बाट कमिटीले दिने भनेर घोषणा गरेको नौ फरक विधामा अवार्डबारे जानकारी दिए । कमिटीले आउने वर्षदेखि पत्रकारिताअन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ । यस्तै ओलम्पिक आन्दोलनमा टेवा पुर्‍याउनेमध्येमा पनि तीन विधामा सम्मान गरिनेछ ।

प्रकाशित : पुस १४, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?