संकटाको सान, आर्मीलाई धक्का- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
'ए' डिभिजन लिग

संकटाको सान, आर्मीलाई धक्का

कान्तिपुर संवाददाता

काठमाडौँ — उत्तम राईको दुई गोल सहयोगमा संकटा क्बलले आइतबार ब्रिगेड ब्वाइजलाई ३–० ले हराएर सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा उत्कृष्ट लय कायमै राखेको छ ।

अपराजित रहेको संकटा तेस्रो जितसँगै १२ अंक बनाउँदै तेस्रो स्थानमा उक्लियो । संकटालाई दोस्रो खेलमा त्रिभुवन आर्मीले थ्रीस्टारविरुद्ध गोलरहित खेलेको फाइदा पनि भयो ।

संकटाले पहिलो हाफमै तीन गोल गर्‍यो । कर्नरमा ब्रिगेड ब्वाइजका डिफेन्डरले क्लियर गर्न नसकेको बल जोर्डन जुनियर ओवोनाले मिलाइदिएका थिए र त्यसैमा उत्तमले हेडर गोल गर्दै १३ औं मिनेटमै संकटालाई अग्रता दिलाए । दक्षिण एसियाली कोटामा संकटा आएका उनले व्यक्तिगत दोस्रो गोल २८ औं मिनेटमा गरे । उनले फोडे फोफनाको क्रसमा नियन्त्रण गर्दै बललाई पोस्टको दिशा दिएर संकटाको अग्रता २–० ले अगाडि बढाए । यी सिक्किमे फरवार्डले भारतका चर्चित क्लबहरू डेम्पो, चेन्नई एफसी र मिनेरवा पन्जाबबाट खेलिसकेका छन् । मनाङविरुद्ध २–२ को बराबरीमा पनि एक गोल गरेका उनले गत सिजन फ्रेन्ड्स क्लबका लागि खेलेका थिए ।

तेस्रो गोल लक्ष्मण रुचालले गरे । गोलकिपर पूर्ण चेम्जोङ अगाडि बढेको समयमा रन्दीप पौडेलले ‘मिस पास’ दिए, जसलाई लक्ष्मणले सहजै खाली पोस्टमा गोलमा परिणत गरेपछि संकटाले अग्रता तेब्बर बनाएको थियो । उनले हिमालयन शेर्पाविरुद्ध १–१ मा टुंगिएको खेलमा पनि गोल गरेका थिए ।

जितपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले भने, ‘ब्रिगेड ब्वाइजले केही मुख्य खेलाडी गुमाएको थियो, त्यसले हामीलाई सजिलो बनाइदियो । सुविधाजनक अग्रता लिएपछि हामीले अन्त्यतिर आफ्नो पोजिसनलाई कायम राख्यौं ।’

उनको टिमले ब्रिगेड ब्वाइजअघि फ्रेन्ड्स र पुलिसलाई हराएको थियो भने हिमालयन शेर्पा, मनाङ र मछिन्द्रविरुद्ध बराबरी खेल्दै अंक बाँडेको थियो । संकटाले तीन जित र तीन बराबरी खेलेको छ । यससँगै संकटाले शीर्षस्थानको मछिन्द्रसँगको दूरी २ अंकमा छोट्यायो । अपराजित मछिन्द्रले १४ अंक जोडेको छ भने दोस्रोमा रहेको मनाङको खातामा १३ अंक छ । यो लिगमा अर्को अपराजित टिम आर्मी १० अंकसहित चौथोमा छ ।

सुरुका दुई खेलमा ४ अंक जोडेको ब्रिगेड ब्वाइजले पछिल्ला दुवै खेल हारेको छ । यससँगै ब्रिगेडलाई रेलिगेसन चुनौती कायमै रह्यो । ब्रिगेड ब्वाइज रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्रै माथि छ । ६ खेलमा ५ अंकमा सीमित भएपछि प्रशिक्षक सनोज श्रेष्ठले भने, ‘डिफेन्सको गल्तीको कारण संकटाले अग्रता लियो र त्यही गोलले खेलको लयमा परिवर्तन गरिदियो । अब हामी राम्रो नतिजा निकाल्ने दबाबमा परेका छौं ।’ उनको टिमले सातौं चरणमा मनाङविरुद्ध पोखरामा प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टार–आर्मी बराबर

तीनपल्टको लिग च्याम्पियन थ्रीस्टारले विभागीय टिम आर्मीविरुद्ध गोलरहित खेल्दै आइतबार अंक बाँडेको छ । थ्रीस्टार ‘ए’ डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युवा क्लबसँग दोस्रो चरणमै १–० ले पराजित भएयता जितविहीन छ, जसको ५ खेल पुगेको छ । थ्रीस्टार पछिल्ला तीन खेलमा त गोलविहीन नै छ ।

फ्रेन्ड्स, एपीएफ, एनआरटी र आर्मीसँग गोलरहित नतिजा निकाल्नेक्रममा थ्रीस्टारले पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन । थ्रीस्टारले च्यासलविरुद्ध (३–० को जित/पहिलो चरण) र फ्रेन्ड्सविरुद्ध (१–१/तेस्रो चरण) मात्रै गोल गरेको छ । एक जित, चार बराबरी र एक हारसँगै ७ अंक बनाएको थ्रीस्टार अंकतालिकामा पनि सातौं स्थानमै छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोलका केही अवसर उपयोग गर्न सकेन । अनुभवी फरवार्ड भरत खवाससहित विवेक बस्नेत, राजीव गुरुङ र सुशान्त चौधरीलाई दोस्रो हाफमा मैदानमा पठाएर पनि आर्मीले तेस्रो जित हात पार्न सकेन । अन्त्यतिर थ्रीस्टारको सहज अवसरमै गोल गर्ने निरन्तर प्रयासलाई आर्मीका डिफेन्डरले असफल पारेका थिए । बराबरी नतिजा दुवैका लागि घाटा हो । आर्मीका लागि यो नतिजा अझै खराब हो ।

यस नतिजासँगै आर्मीको सातौं चरणसम्म शीर्षस्थानमा रहेर एएफसी कप २०२२ छनोटमा पुग्ने सम्भावना औपचारिक रूपमै समाप्त भयो । एन्फाले सातौं चरणमा शीर्षस्थानमा रहने क्लबले देशको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने जनाएको छ । त्यो होडमा अब आर्मीको सम्भावना सकियो । किनभने छनोटका लागि एक खेल बाँकी छँदा आर्मी शीर्षस्थानको मछिन्द्रसँग ४ अंकले पछाडि परेको छ । अपराजित रहे पनि आर्मी फेरि एकपल्ट बराबरीका लागि खेल्ने टिम देखिएको छ । चौथो स्थानमा रहेको आर्मीले दुई जित र चार बराबरी खेल्दै १० अंक बनाएको छ । थ्रीस्टारविरुद्ध ३ अंक जोड्न सकेको भए आर्मी तेस्रो स्थानमा निरन्तर रहने थियो ।

प्रकाशित : पुस १२, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

फाप्लामा एपीएफ च्याम्पियन

व्यक्तिगत विधाको पुरस्कारमा भने प्रदेश १ को वर्चस्व कायम
चित्रांग थापा

धनगढी — प्रदेश १ माथि बदला लिँदै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ । एपीएफले आइतबार धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्‍यो ।

गत वर्ष पुसमा दाङको लमहीमा सम्पन्न यसै प्रतियोगिताको फाइनलमा प्रदेश १ टिम एपीएफलाई ६ रनले पराजित गरी राष्ट्रिय विजेता बनेको थियो । तर, राष्ट्रिय खेलाडीको बाक्लो जमघट रहेको यी दुई टोलीबीचको खेलमा एपीएफले आइतबार प्रदेश १ लाई कुनै मौका दिएन ।

एपीएफले टस जितेर फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रनमात्र बनाउन सक्यो । एपीएफले १४.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । उपाधिसँगै विजेता एपीएफले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता प्रदेश १ ले ३ लाख पुरस्कार थाप्यो ।

ओपनर ज्योति पाण्डेले अविजित ३६ रन बनाउँदै एपीएफलाई जिताउन भूमिका खेलिन् । उनले ३९ बल खेल्दै ६ चौका प्रहार गरिन् । ममता चौधरीले अविजित १९ रन बनाइन् । उनीहरूले चौथो विकेटमा अविजित ३३ रन जोडे । इन्दु बर्मा ५, राजमती ऐरी शून्य, रोमा थापा ४ रनमा आउट भए । प्रदेश १ की कप्तान रुबिना क्षेत्रीले झरेका सबै ३ विकेट लिइन् । त्यसक्रममा उनले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेकी थिइन् ।

यसअघि स्तरीय ब्याटिङ प्रदर्शन गर्न नसकेको प्रदेश १ बाट रुबिनाले ३४ रन बनाइन् । अप्सरी बेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफबाट सीता रानामगर ३ विकेट लिँदै प्लेयर अफ द म्याच बनिन् । उनले ४ ओभरमा १२ रन खर्चेकी थिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिए ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा भएको प्रतियोगितामा ७ प्रदेश र एपीएफको सहभागिता थियो । व्यक्तिगत विधामा भने प्रदेश १ ले वर्चस्व कायम राख्यो । रुबिना सर्वोत्कृष्ट खेलाडी भइन् । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरिन् । उनले कुल ५ खेलमा १ सय ५७ रन बनाइन्, त्यसमा एक अर्धशतक सामेल छ । सर्वाधिक ७६ रनको इनिङ्स खेलेकी उनले १९ चौका प्रहार गरिन् । बलिङतर्फ उनले ८ विकेट लिएकी थिइन् ।

उत्कृष्ट ब्याटर घोषित अप्सरी वेगमले दुई अर्धशतकसहित १ सय ७६ रन बनाइन् । दुई अर्धशतक बनाउने एक्ली खेलाडी बेगमले १ छक्कासहित ९ चौका प्रहार गरिन् ।

प्रदेश १ कै अलिसा खाडिया उत्कृष्ट बलर बन्नेक्रममा ५ खेलमा ९ विकेट लिन सफल भइन् । विजयी टोलीलाई सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले ट्रफी प्रदान गरिन् ।

प्रकाशित : पुस १२, २०७८ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×