२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फाप्लामा एपीएफ च्याम्पियन

व्यक्तिगत विधाको पुरस्कारमा भने प्रदेश १ को वर्चस्व कायम
चित्रांग थापा

धनगढी — प्रदेश १ माथि बदला लिँदै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ । एपीएफले आइतबार धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्‍यो ।

फाप्लामा एपीएफ च्याम्पियन

गत वर्ष पुसमा दाङको लमहीमा सम्पन्न यसै प्रतियोगिताको फाइनलमा प्रदेश १ टिम एपीएफलाई ६ रनले पराजित गरी राष्ट्रिय विजेता बनेको थियो । तर, राष्ट्रिय खेलाडीको बाक्लो जमघट रहेको यी दुई टोलीबीचको खेलमा एपीएफले आइतबार प्रदेश १ लाई कुनै मौका दिएन ।

एपीएफले टस जितेर फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रनमात्र बनाउन सक्यो । एपीएफले १४.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । उपाधिसँगै विजेता एपीएफले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता प्रदेश १ ले ३ लाख पुरस्कार थाप्यो ।

ओपनर ज्योति पाण्डेले अविजित ३६ रन बनाउँदै एपीएफलाई जिताउन भूमिका खेलिन् । उनले ३९ बल खेल्दै ६ चौका प्रहार गरिन् । ममता चौधरीले अविजित १९ रन बनाइन् । उनीहरूले चौथो विकेटमा अविजित ३३ रन जोडे । इन्दु बर्मा ५, राजमती ऐरी शून्य, रोमा थापा ४ रनमा आउट भए । प्रदेश १ की कप्तान रुबिना क्षेत्रीले झरेका सबै ३ विकेट लिइन् । त्यसक्रममा उनले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेकी थिइन् ।

यसअघि स्तरीय ब्याटिङ प्रदर्शन गर्न नसकेको प्रदेश १ बाट रुबिनाले ३४ रन बनाइन् । अप्सरी बेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफबाट सीता रानामगर ३ विकेट लिँदै प्लेयर अफ द म्याच बनिन् । उनले ४ ओभरमा १२ रन खर्चेकी थिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिए ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा भएको प्रतियोगितामा ७ प्रदेश र एपीएफको सहभागिता थियो । व्यक्तिगत विधामा भने प्रदेश १ ले वर्चस्व कायम राख्यो । रुबिना सर्वोत्कृष्ट खेलाडी भइन् । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरिन् । उनले कुल ५ खेलमा १ सय ५७ रन बनाइन्, त्यसमा एक अर्धशतक सामेल छ । सर्वाधिक ७६ रनको इनिङ्स खेलेकी उनले १९ चौका प्रहार गरिन् । बलिङतर्फ उनले ८ विकेट लिएकी थिइन् ।

उत्कृष्ट ब्याटर घोषित अप्सरी वेगमले दुई अर्धशतकसहित १ सय ७६ रन बनाइन् । दुई अर्धशतक बनाउने एक्ली खेलाडी बेगमले १ छक्कासहित ९ चौका प्रहार गरिन् ।

प्रदेश १ कै अलिसा खाडिया उत्कृष्ट बलर बन्नेक्रममा ५ खेलमा ९ विकेट लिन सफल भइन् । विजयी टोलीलाई सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले ट्रफी प्रदान गरिन् ।

प्रकाशित : पुस १२, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?