२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट

एपीएफ र प्रदेश १ भिड्ने

चित्रांग थापा

धनगढी — फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि विभागीय टोली एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सेमिफाइनलमा प्रदेश १ ले घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट र एपीएफले लुम्बिनी प्रदेशलाई ३८ रनले हराए ।

पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाई ८५ रन बनायो । सुदूरपश्चिम ७ रनमै ३ विकेट गुमाएर दबाबमा परेको थियो । सम्झना खड्काले सर्वाधिक २७, कप्तान रितु कनौजियाले २५ र डली भट्टले १२ रनको योगदान दिएका थिए । प्रदेश १ बाट कप्तान रुबिना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले १–१ विकेट लिए ।

८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा पूरा गर्‍यो । १६.५ ओभरमा लक्ष्य पूरा गरेको प्रदेश १ का लागि पहिलो विकेटमा ओपनरद्वय कप्तान रुबिना र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेर विजय आधार खडा रेका थिए । कप्तान रुबिनाले अविजित ३१ रन बनाइन् । कविता जोशीको बलमा बोल्ड भएकी काजलले २८ रन बटुलिन् । रुबिनाले अप्सरी वेगमसँग दोस्रो विकेटमा ३३ रनको साझेदारी गरिन् । अप्सरीले अविजित ९ रन बनाइन् । सुदूरपश्चिमबाट कविता जोशीले मात्रै एक विकेट लिइन् । प्रदेश १ की कप्तान रुबिना प्लेयर अफ द म्याच भइन् ।

दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो । एपिएफकी रोमा थापाले अविजित ४२ रन बटुलिन् । ममता चौधरीले २७, सीता रानामगरले १८, राजमति ऐरी १४ र ज्योति पाण्डेले ११ रन जोडेका थिए । लुम्बिनीका मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले १–१ विकेट लिए ।

जवाफमा लुम्बिनी प्रदेशले ९१ रनमात्रै बनाउन सक्यो । २० ओभरमा लुम्बिनीले ५ विकेट गुमाई उक्त रन जोडेको हो । लुम्बिनीबाट नेरी थापाले अविजित ३८ र नितु भण्डारीले १८ रन जोडे । तेस्रो विकेटमा नेरी र नितुले ४६ रनको साझेदारी गरेका थिए । एपीएफका रेखा रावलले ३ र सीता रानामगरले १ विकेट लिए । एपीएफकी रोमा थापा प्लेयर अफ द म्याच भइन् ।

प्रकाशित : पुस ११, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?