सेन्ट्रल जोनमा लगातार तेस्रो जित

काठमाडौँ — घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाली महिला टोलीले एभीसी सिनियर वुमेन्स सेन्ट्रल जोन भलिबलमा उपाधि रक्षा अभियान बलियो बनाएको छ । नेपालले यसअघि दुई जित (श्रीलंका र माल्दिभ्सविरुद्ध) हासिल गरिसकेको थियो ।

सेन्ट्रल जोनमा लगातार तेस्रो जित

ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर रंगशालामा शनिबार बंगलादेशविरुद्ध नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो । पहिलो सेट २५–०५ ले सहजै आफ्नो पक्षमा पारेको नेपालले दोस्रो र तेस्रो सेटमा प्रतिस्पर्धात्मक खेल खेल्दै २५–१५, २५–१७ ले सेट जितेको हो ।

नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले बंगलादेशसँग सुधारिएको प्रदर्शन गरेको बताए । समूह चरणका अबका दुई खेलमा नेपाल सम्हालिनुपर्ने उनको भनाइ छ ।

‘उज्वेकिस्तानसँग हामी पहिलोपल्ट खेल्दैछौं । नेपाल, श्रीलंका, उज्वेकिस्तान र किर्गिस्तानको स्तर धेरै तल–माथि छैन । हामीले फाइनलमा आफ्नो दावेदारी पेस गर्न भोलि (आइतबार) को खेलमा सम्हालिनुपर्ने हुन्छ,’ प्रशिक्षक भट्टले कान्तिपुरसँग भने, ‘विपक्षीलाई कमजोर नसोचेर आफ्नो खेल प्रदर्शन गर्न सकियो भने जित निकाल्छौं ।’

नेपालले आइतबार उज्वेकिस्तान र सोमबार किर्गिस्तानसँग खेल्दै छ । पुरुषतर्फ शनिबार नेपाल आफ्नो तेस्रो खेलमा श्रीलंकासँग २५–१८, २२–२५, २५–१६, २५–१५ ले पराजित भयो । नेपालले ३ खेलबाट ३ अंकमात्र जोडेको छ । बंगलादेशसँग पराजित नेपालले साबिक उपविजेता उज्वेकिस्तानलाई हराएर अंक बटुलेको थियो ।

प्रकाशित : पुस ११, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?