कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘पोल पोजिसन’ मा मछिन्द्र क्लब

मनाङविरूद्ध मछिन्द्रको जितले एएफसी कप २०२२ छनोट खेल्ने नेपाली टिमको टुंगो अर्को चरणको प्रतिस्पर्धाबाट मात्रै लाग्ने छ
राजु घिसिङ

काठमाडौँ — फरवार्डद्वय दीपक राई र एडेलाजा सोमिडे पछिल्लो सिजन (२०७६ साल) सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएपछि मछिन्द्र क्लब छाड्दै मनाङ मर्स्याङदी फर्किएका थिए । यी दुवै पूर्व क्लबविरुद्ध शनिबार दशरथ रंगशालामा पहिलो रोजाइमै उत्रिए । निलम्बनमा परेका फरवार्ड ओलावाले आफिजको अनुपस्थितिमा दीपक, सोमिडे, अञ्जन विष्ट र विमल रानाले निर्णायक भूमिका निर्वाह गर्न सकेनन् । खेलको कथा बुन्ने काम गरे सुनील बलले ।

‘पोल पोजिसन’ मा मछिन्द्र क्लब

च्यासलबाट यसै सिजन मछिन्द्र पुगेका सुनीलले पाँच मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमै प्राप्त फ्रि–किकलाई सुन्दर गोलमा परिणत गरेपछि मनाङले यो सिजनमा पहिलो हार बेहोर्‍यो । सोमिडेले हातले बल छोएपछि रेफ्री प्रज्वल क्षत्रीले मछिन्द्रलाई फ्रि–किकको अवसर दिएका थिए । करिब २८ यार्डबाट सुनीलले फ्रि–किकमा प्रहार गरेको बल मानवीय पर्खालमाथिबाट सिधै जालीको सम्पर्कमा पुगेको थियो । त्यसमा गोलकिपर विशाल सुनार प्रतिक्रियाविहीन देखिए ।

‘अन्तिममा गोल भयो, जित्नैपर्ने खेल जित्यौं,’ साबिक विजेता मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले जितपछि भने, ‘आजसम्म शीर्षस्थानमा रहेको टिमविरुद्ध ३ अंक ल्यायौं । खुसी छौं ।’

छैटौं चरणमा आएर बेहोरेको पहिलो हारसँगै मनाङ दोस्रो स्थानमा झर्‍यो । मनाङलाई उछिन्दै मछिन्द्र ‘पोल पोजिसन’ मा पुग्यो । अपराजित रहेको मछिन्द्रले ४ जित र २ बराबरीसँगै १४ अंक बनाएको छ । १ अंकले पछाडि छ मनाङ । मछिन्द्रसँगै आर्मी र संकटा पनि अपराजित छन् । एक–एक खेल कम खेलेका यी दुईले समान ९ अंक जोडेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्षस्थानमा रहने टिम देशको प्रतिनिधित्व गर्दै एएफसी कप २०२२ छनोट खेल्ने जनाएको थियो । त्यसैले मनाङविरुद्ध मछिन्द्रको प्रतिस्पर्धालाई उपाधि होडमात्रै नभएर अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसरका लागि पनि महत्त्वका साथ हेरिएको थियो । मनाङविरुद्धको जितले मछिन्द्र दुवै अवसरमा एक कदम अगाडि बढेको छ । ३ अंक जोड्न सकेको भए मनाङ एएफसी कप छनोटमा स्थान सुरक्षित गर्दै उपाधि होडमा पनि बलियो हुने थियो । तर, मछिन्द्रको जितले समीकरण रोमाञ्चक बनाइदिएको छ ।

अब सातौं चरणको नतिजाले मात्रै एएफसी कपमा प्रतिनिधित्व गर्ने टिमको टुंगो लाग्नेछ, जसमा गणितीय रूपमा विभागीय टिम आर्मीको सम्भावना पनि कायमै छ । मछिन्द्रले पुलिस र मनाङले ब्रिगेड ब्वाइजविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने आर्मीले थ्रीस्टार र एपीएफविरुद्ध खेल्नेछ । एएफसी कपको छनोटबारे प्रशिक्षक कटुवालले भने, ‘अर्को एक खेल अझै बाँकी छ ।’ उनको टिमले पहिलोपल्ट ‘ए’ डिभिजन लिगको उपाधि जित्दा दुई वर्षअघि मनाङविरुद्ध २–२ खेल्दै अंक बाँडेको थियो ।

मनाङका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि एएफसी कपको आस मारेका छैनन्, ‘आफ्नो हातबाट फुत्कियो । तर, अझै एउटा अवसर छ । गणितीय हिसाबमा जानुपर्छ । सम्भावना छ । खेलाडीलाई उत्साहित पार्नुपर्छ ।’

उनले थपे, ‘समग्रमा राम्रो भयो । ‘सेट पिस’ मा अलि राम्रो गर्न सकेनौं । दोस्रो हाफमा पेस (गति) पनि कम भयो ।’ ठूलो खेल, ठूलो प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धाको दबाबबारे उनी बोले, ‘जसरी पनि अंक लिनु थियो । हामी ३ अंकका लागि दौडियौं । जित्यो भने फाइदा हुन्छ, माथि (शीर्ष) आउँछ । तर, बराबरीमा पनि फाइदा हुनेमा धेरै सोचेनौं ।’

रोमाञ्चक खेल

एन्फाले उपलब्ध गराएको तथ्यांकअनुसार यो सिजनकै सर्वाधिक १० हजार दर्शक उपस्थित खेलमा पहिलो हाफमा मनाङ आक्रामक देखियो । तेस्रो मिनेटमै सोमिडेको ‘ओभरहेड किक’ मा बल पोस्ट नजिकबाट बाहिरियो । कप्तान अञ्जनले १६ औं मिनेटमा ‘फस्ट बार’ च्याप्दै प्रहार गरेको बल पनि बाहिर गयो । अञ्जनको क्रसमा सोमिडेले पेनाल्टी क्षेत्रमा बल नियन्त्रण गरेर पनि प्रहार गर्न नसक्दा मनाङले १८ औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो ।

पूर्ण फिट नरहेका डिफेन्डर रन्जित धिमालको स्थानमा फरवार्ड मनीष डाँगी मैदानमा प्रवेश गरेपछि भने मछिन्द्रले गति लियो । मनीषको आगमनपछि लेफ्ट–ब्याक कप्तान सुजल श्रेष्ठले सम्हालेका थिए । पहिलो रोजाइमा उत्रिएका विमल घर्तीमगरले २३ औं मिनेटमा अगाडि एक्लै रहँदा पाएको बल अघि बढाउन ढिलाइ गरेपछि मौका गुमेको थियो । सुनीलले दिएको बल नुर्लान नोभरुजोभले नियन्त्रण गर्ने क्रममा प्रवेश कुँवरलाई पन्छाउँदै प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरिँदा मछिन्द्रले गोलको राम्रो अवसर खेर फाल्यो ।

मनाङ दोस्रो हाफमा पनि अग्रता नजिक पुगेको थियो । पुजन उपरकोटीको कर्नरमा ४८ औं मिनेटमा दिनेश राजवंशीको हेडरमा बल पोस्टनजिक रहेका डिफेन्डर देवेन्द्र तामाङको ढाडमा लागेर फर्केको थियो । मछिन्द्रका विशाल राईले ५७ औं मिनेटमा सुनीलको पासमा गरेको हेडर पनि सटिक भएन । मनीषले ६४ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रूपमा प्रहार गरेको बल गोलकिपर सुनारले रोकिदिए । त्यसपछि सुनीलले यो लिगमा गरेको व्यक्तिगत चौथो गोलले खेलको कथा नै फेरिदियो । यसक्रममा गोलकिपर विशाल श्रेष्ठले ५ खेलयता ‘क्लिन–सिट’ राखेका छन् ।

संकटमा च्यासल युवा

रेलिगेसन क्षेत्रमा रहेको च्यासल युवा क्लबले शनिबार पहिलो खेलमा हिमालयन शेर्पासँग ३–१ को हार बेहोर्‍यो । चौथो हारसँगै च्यासल संकटमा फस्दै गएको छ । हिमालयनको दोस्रो जितमा युनयोली मुताम्बाले २५ र ५७ औं तथा सुरेश कुमाल ८० औं मिनेटमा गोल गरे । च्यासलका लागि सब्स्टिच्युट रुमेश बर्तौला ७६ औं मिनेटमा एक गोल गरे ।

प्रकाशित : पुस ११, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?