‘ए’ डिभिजन लिग

रंगशालामा ‘ब्लकबस्टर्स’ खेल

शीर्ष रहने होडमा शनिबार भिड्दै मनाङ र मछिन्द्र, आकर्षण एएफसी कप छनोटलाई
हिमेश

काठमाडौँ — कोही कसैलाई नेपाली फुटबलको माया लाग्छ भने शनिबार दशरथ रंगशालामा हुने खेल नछुटाए राम्रो । बिदाको दिन अनि फ्लडलाइटमा खेल ।

रंगशालामा ‘ब्लकबस्टर्स’ खेल

नेपालको घरेलु फुटबलले अहिलेको समयमा पस्कन सक्ने सबैभन्दा माथिल्लो दर्जाको खेल यही हुन सक्नेछ । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा शनिबार मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब भिड्दै छन् । यो भनेको अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टिमबीचको खेल हो ।

त्यसैले यो ‘ब्लकबस्टर्स’ खेल हुनेछ । सके यो खेल रंगशालामा गएर हेर्नु राम्रो, नसके कम्तीमा टेलिभिजनमा । मनाङको १३ अंकसहित पहिलो स्थानमा छ भने २ अंकको दूरीमा मछिन्द्र ठ्याक्कै पछाडि छ । यो खेल कति धेरै महत्त्वपूर्ण छ भने सम्भवतः यही खेलको नतिजाले लिग उपाधिको निर्णय हुनसक्छ । यदि अबका चरणका कुनै नाटकीय नतिजा आएन भने ।

कम्तीमा एउटा तथ्य भने लगभग निश्चितजस्तै छ, यो खेलले सातौं चरणको समाप्तिमा शीर्षस्थानमा रहने टिमको निर्णय गर्नेछ । नेपालमा ‘विन्टर ब्रेक’ को चलन छैन । नत्र सातौं चरण सकिँदासम्म यसले ‘विन्टर च्याम्पियन’ पनि दिनेछ । अहिलेको खेल भने छैटौं चरणको हो, यसको महत्त्वको अर्को ठोस कारण पनि छ ।

सातौं चरण समाप्तिमा शीर्षस्थानमा रहने टिमले एएफसी कपको छनोट खेल्ने पाउनेछ । यसमा एसियाली फुटबल महासंघ (एएफसी) बाट क्लब लाइसेन्सप्राप्त तीन टिमले चुनौती पेस गर्नेछन् । यसमा मनाङ र मछिन्द्रबाहेक आर्मी होडमा छ ।

संयोगले आर्मी तेस्रो स्थानमा छ । कीर्तिमान आठपल्टको विजेता मनाङले डिफेन्डिङ च्याम्पियन मछिन्द्रमाथि जित निकाल्छ भने समीकरण सिधा हुनेछ, मनाङलाई सातौं चरणसम्म कसैले उछिन्न सक्ने छैन । मछिन्द्रको जित वा खेल बराबरीको स्थितिमा अन्य समीकरण बन्नेछ । आखिरमा लिग भनेको समीकरणकै खेल न हो । फेरि मनाङ र मछिन्द्र दुवै अपराजित छन् । आर्मी पनि अपराजित नै छ । त्यसैले सबै अर्थमा मनाङविरुद्ध मछिन्द्रको खेल सनसनीपूर्ण मोडमा छ ।

इतिहासले के भन्छ ?

मछिन्द्रले वर्ष ०६३ देखि मात्र माथिल्लो डिभिजनमा खेल्न थालेको हो । जबकि मनाङसँग ०४३ सालदेखि लिग अनुभव छ । मनाङ त्यही बेलादेखि घरेलु फुटबलको महाशक्ति रहेको छ । पछिल्लो एक दशक जतिको समय मनाङसँगै पुलिस र थ्रीस्टारबीच अगाडि रहन त्रिकोणात्मक संघर्ष हुने गर्थ्यो । अब त्यो रहेन । पुलिस र थ्रीस्टार धेरै पछाडि छुटेका छन् । अगाडि आएको छ मछिन्द्र । वर्ष ०७६ मा मछिन्द्रले पहिलोपल्ट ‘ए’ डिभिजन जितेको थियो ।

मछिन्द्रले वर्ष ०६३ मा डेब्यु गर्दा संयोगले पहिलो खेल मनाङविरुद्ध नै परेको थियो । तत्कालीन भदौ १२ को त्यो खेलमा मनाङले मछिन्द्रलाई माथिल्लो डिभिजन कस्तो हुन्छ भनेर पाठजस्तै सिकाएको थियो । मनाङले ६–० ले हरायो । त्यसमा वसन्त थापा एक्लैले ५ गोल गरेका थिए । त्यो खेलसँगै यी दुई टिमबीच लिगमा १२ खेल भएको छ । त्यसमा मनाङ ७ खेलमा विजेता छ भने मछिन्द्रको पक्षमा २ खेलमात्र गएको छ । बाँकी ३ खेल भने बराबरीमा टुंगिएका छन् ।

मनाङले यी एक दर्जन खेलमा २७ गोल गरेको छ भने मछिन्द्रले ८ गोलमात्रै । मछिन्द्रले मनाङलाई हराएको वर्ष ०६६/०६७ र ०६९ मा मात्र हो । त्यसमध्ये पहिलो जित भने मछिन्द्रका लागि सबै स्वादिलो रहेको थियो । त्यसमा भित्री काठमाडौंको यो क्लब ४–० ले विजयी भएको थियो । भनिन्छ, फुटबलमा इतिहासले वर्तमान पछ्याइरहेको हुन्छ । मछिन्द्र पक्कै चाहन्छ, यस्तो नहोस् । तर यसका लागि मछिन्द्रले मैदानमा आफूलाई प्रमाणित गर्नुपर्नेछ, किनभने टोलीका लागि उपाधि रक्षा गर्न पनि शनिबारको खेल गुमाउन ठीक हुन्न ।

प्रशिक्षकका आ–आफ्नै दाबी

मनाङका अनुभवी प्रशिक्षक टोपे फुजा पनि मान्छन्, मछिन्द्रको सामना गर्दा यो खेल दुवैका लागि सजिलो हुन्न । तर खेल पक्कै राम्रो हुनेछ । उनी दुवै टिमलाई दबाब भएको मान्छन् । यसको एउटै कारण एएफसी कप छनोटको समीकरण पनि हो । फेरि उनको विश्लेषणमा मछिन्द्र राम्रो टिम हो । अनि उनी मनाङ ३ अंककै लागि खेल्ने दाबी गर्छन् । भन्छन्, ‘हामी जितकै लागि खेल्नेछौं । अहिले मनाङको प्रदर्शनमा सुधार भइरहेको छ ।’

मनाङले खेलेका ५ खेलमा ५ जितेको छ भने एक बराबरीमा टुंगिएको छ । मछिन्द्रले भने ३ खेल जितेको छ, दुईमा बराबरीमा रोकिएको छ । मछिन्द्रका युवा प्रशिक्षक प्रवेश कटुवाल आफ्नो टिमका लागि जित्नैपर्ने दबाब रहेको मान्छन् । उनी पनि मनाङ सन्तुलित टिम रहेको मान्छन् । थप्छन्, ‘हामीले मनाङविरुद्ध नतिजा निकाल्न त्यहीअनुसार रणनीति बनाएका छौं ।’ मछिन्द्रका लागि आफ्ना केही प्रमुख खेलाडी चोटग्रस्त रहनु भने समस्या छ ।

...

दुवै खेल बराबरीमा

सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को शुक्रबार भएका दुवै खेल बराबरीमा टुंगिएका छन् । लिगको छैटौं चरणको पहिलो खेलमा एनआरटी र एपीएफले ३–३ को रोमाञ्चक बराबरी खेले । एपीएफ २ गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो । पुलिस र फ्रेन्ड्सबीचको दोस्रो खेल भने निराशाजनक गोलरहित बराबरीमा टुंगिएको हो ।

एनआरटीका लागि दर्शन गुरुङले दुई गोल गरे । उनले ३२ र ४८ औं मिनेटमा गोल गरे । मेसुके ओलामोउले ६१ औं तेस्रो गोल थपे । एपीएफको तर्फबाट भने आशिष लामाले ३७ औं मिनेटमा पहिलो गोल गरे । एनआरटी ३–१ ले अगाडि रहेका बेला दीपेश धिमालले ६५ र नवीन लामाले ६९ औं मिनेटमा एपीएफका लागि गोल गरे ।

यो नतिजापछि एनआरटी ६ खेलबाट ७ अंकसहित छैटौं स्थानमा उक्लेको छ । एपीएफ भने ६ खेलबाट ५ अंकसहित ११ औं स्थानमा रह्यो । पुलिसको ६ खेलबाट ६ अंक नै भएको छ । टोली आठौं स्थानमा उक्लियो । पुछारमा रहेको फ्रेन्ड्सको ६ खेलबाट ३ अंक भएको छ । फ्रेन्ड्स अहिलेसम्म जित निकाल्न असफल एक्लो टिम हो ।

प्रकाशित : पुस १०, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?