एपीएफ र सुदूरपश्चिमको यात्रा

चित्रांग थापा

धनगढी — फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा विभागीय टोली एपीएफले लुम्बिनी प्रदेश र घरेलु टोली सुदूरपश्चिमले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ र सुदूरपश्चिमको यात्रा

बिहीबार समूह ‘बी’ मा एपीएफ समूह विजेता र सुदूरपश्चिम उपविजेता भएर अन्तिम चारमा पुगेका हुन् । सुदूर र एपीएफ दुवै विजयी भएका थिए । सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले हरायो । सुदूरले ३ खेलमा २ मा जितसहित ४ अंक जोडेको थियो ।

टस हारेर सुदूरपश्चिमले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाई १ सय ४३ रन बनायो । विन्दु रावलले ५० रनको इनिङ्स खेलिन् । रूबी पोदारले २१, डली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । प्रदेश २ बाट विमला मगरले २ विकेट लिइन् । साना प्रविन, अनुराना चौधरीले १–१ विकेट लिए ।

१ सय ४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्रै बनाउन सक्यो । साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमबाट कविता जोशी र लक्ष्मी साउदले समान २ विकेट लिए । ईश्वरी विष्टले १ विकेट लिइन् । सुदूरकी विन्दु रावल प्लेयर अफ द म्याच भइन् ।

बिहीबारै दोस्रो खेलमा एपीएफ अपराजित यात्रा कायम राख्दै समुह विजेता बनेको छ । एपीएफले गण्डकी प्रदेशलाई १ सय १७ रनले हरायो । टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय ५० रन बनायो । मध्यक्रमकी ममता चौधरीले ४३ रन बनाइन् । सरिता मगरले अविजित २६ रन र रोमा थापाले २६ रन बनाए । ज्योति पाण्डेले २४ रन जोडिन् । गण्डकी प्रदेशबाट मनीषा उपाध्यायले एक विकेट लिइन् । एपीएफका ३ खेलाडी रनआउट भए ।

एक सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ रनमात्रै बनायो । २० ओभरमा ७ विकेट गुमाउँदा गण्डकीबाट शिला क्षेत्रीको ८ रन ठूलो स्कोर थियो । अन्य खेलाडीले गतिलो स्कोर बनाउन सकेनन् । टोलीले अतिरिक्तबाट १३ रन पायो । एपीएफका करुणा भण्डारी र सुष्मा श्रेष्ठले २–२ विकेट लिए । सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले १–१ विकेट लिए । एपीएफकी ममता चौधरी प्लेयर अफ म्याच भइन् । शुक्रबार विश्राम दिइएको छ । शनिबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ ।

विन्दुको अर्धशतक

सुदूरपश्चिमकी विन्दु रावलको अर्धशतक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा बनेको चौथो अर्धशतक हो । बिहीबार विन्दुले प्रदेश २ विरुद्ध ५० रन जोडेकी हुन् । ४५ बल खेलेकी उनले ४ चौका प्रहार गरिन् । विन्दुले अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरिन् । यसअघि प्रदेश १ बाट अप्सरी वेगमले दुई र कप्तान रुबिना क्षेत्रीले एक अर्धशतक बनाएका थिए ।

प्रकाशित : पुस ९, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?