एपीएफलाई महत्त्वको जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सहिद स्मारक लिग

एपीएफलाई महत्त्वको जित

प्रशिक्षक कुमार थापाले भने– पुछारका दुई टिमको खेल आकर्षक भयो
एपीएफ ३–१ फ्रेन्ड्स
कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ बाट दुई टिम रेलिगेसनमा पर्नेछन् । अंकतालिकामा अन्तिम दुई स्थानका टिमले ‘ए’ डिभिजनको हैसियत गुमाउने छन् । पाँचौं चरणको अन्तिम खेलअघि पुछारका दुई स्थानमा एपीएफ र फ्रेन्ड्स क्लब थिए । त्यसैले यी दुईको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको थियो । दशरथ रंगशालामा सोमबारको उक्त खेलमा आशिष लामाको दुई गोल सहयोगमा ३–१ को जित निकाल्दै सशस्त्र प्रहरी बलको एपीएफले बाजी मारेको छ ।

यो लिगमा पहिलो जित हात पारेपछि एपीएफका प्रशिक्षक कुमार थापाले भने, ‘पुछारका दुई टिमको खेल आकर्षक भयो । आशिषले ह्याट्रिक गर्न चुके । ५ खेलमा ४ अंक भनेको सन्तोषजनक नै हो ।’ उनको टिम एक जित, एक बराबरी र तीन हारसँगै ४ अंक बनाएर ११ औं स्थानमा उक्लियो । रेलिगेसन क्षेत्र छाडेपछि प्रशिक्षक थापाले थपे, ‘यो पहिलो जित हो । हामी खुसी छौं । यसले टिमलाई सकारात्मक बनाउने छ ।’

उनले गोलकिपरद्वय राजु योगी र अमृत चौधरी चोटग्रस्त भएपछि जापानी खेलाडी युया कुरियामालाई गोलपोस्ट सम्हाल्ने अवसर दिएका थिए । युया विभागीय टिम (पुलिस, एपीएफ र आर्मी) बाट लिग खेल्ने पहिलो विदेशी खेलाडी हुन् । ‘दुई गोलकिपर चोटका कारण खेल्नसक्ने अवस्था छैनन् । त्यसैले यहाँ (नेपालमा) उपलब्ध विदेशी खेलाडीलाई भित्र्याएका छौं । अरू विदेशी खेलाडी पनि खेलाउने छौं,’ प्रशिक्षक थापाले भने ।

नवीन लामाको पासमा बिक्की लामाले ‘१८ यार्ड लाइन’ नजिकबाट प्रहार गरेको बल बारमा लाग्दै रोमाञ्चक ढंगले गोलमा परिणत भएपछि एपीएफले ३० औं मिनेटमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटभित्रै एपीएफले अग्रता दोब्बर बनायो । विपक्षी खेलाडीबाट बल खोस्दै नवीनले सिर्जना गरेको अवसरमा आशिषले गोल गर्दै ३२ औं मिनेटमा एपीएफलाई २–० ले अगाडि बढाए ।

अघिल्लो सिजन (२०७६) मा सर्वाधिक ९ गोल गरेका आशिषले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले आवास लामिछानेको पासमा अघि बढाउँदै पेनाल्टी क्षेत्रबाट बल प्रहार गरेर एपीएफलाई ३–० को अग्रता दिलाए । नथानियल गार्सियालाई एपीएफका दीपेश धिमालले बल अघि बढाइरहेको अवस्थामा फल गर्दै लडाएपछि फ्रेन्ड्स पेनाल्टीको अवसर पायो । जसलाई प्रिजेन तामाङले सहजै गोलमा परिणत गर्दै ६९ औं मिनेटमा गोल अन्तर कम गरेर फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसपछि पनि फ्रेन्ड्सको प्रदर्शनमा सुधार आएन । खेलमा एपीएफ नै हाबी भयो ।

आशिष ह्याट्रिक नजिक पुगेका थिए । उनले ‘वान भर्सेस वान’ मा ७१ औं मिनेटमा प्रहार गरेको बललाई फ्रेन्ड्सका गोलकिपर राहुल यादवले रोकिदिए । इन्ज्युरी समयमा ‘सिक्स यार्ड बक्स’ मा पाएको बललाई युवराज खड्काले पोस्टको दिशा दिन नसक्दा एपीएफले गोल अन्तर बढाउने अवसर गुमाएको थियो ।

तेस्रो हारपछि फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, ‘हामीले सुरुको २५ मिनेट राम्रो खेलेका हौं । ३–४ अवसर पनि बनाएका हौं । जब गोल भयो, त्यो अफसाइड भयो । त्यसपछि फुटबल खेल्नै बिर्सेजस्तो भयो ।’ उनले थपे, ‘आफ्नै स्तरका टिमहरूसँग अझै खेल्नु छ । एक–दुई खेल जित्यो भने माथि जान्छ । तर, खेल्न गाह्रै छ । चुनौती कडा नै छ । यो सिजन हाम्रो लक्ष्य कसरी जोगिने (ए डिभिजनमा) भन्ने नै हो । हामी कोसिस गर्दै जाने छौं ।’ ह्यामस्ट्रिङका कारण गुमाएका कप्तान प्रकाश बुढाथोकीको अभावमा मैदानभित्र टिमको नेतृत्व गर्ने खेलाडीको अभाव भएको पनि उनले बताए ।

पाँचौं चरण समाप्तिसम्म जितविहीन रहेको एक्लो टिम हो फ्रेन्ड्स । सहभागी १४ क्लबमध्ये पुछारमा रहेको टोलीले दुई बराबरी र तीन हारको नतिजा निकालेको छ । एपीएफको जितसँगै च्यासल युवा क्लब पनि रेलिगेसन क्षेत्रमा झर्यो । च्यासलको एपीएफ र जावलाखेल युथको समान ४ अंक छ । तर, च्यासल ‘हेड टु हेड’ र गोल अन्तरमा पछाडि परेपछि रेलिगेसन क्षेत्रमा झरेको हो ।

प्रकाशित : पुस ६, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

लक्ष्य सहभागिताभन्दा माथि

विनोद पाण्डे

काठमाडौँ — नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा सहभागिताको रूपमा मात्र नभई फाइनल पुग्ने लक्ष्य बनाएको छ । यूएईमा हुने यू–१९ एसिया कपमा सहभागिता जनाउन नेपाल यू–१९ टोली सोमबार राति त्यसतर्फ गएको छ ।

नेपाल समावेश समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । समूह ‘बी’ का सबै खेल शारजहाँमा हुनेछ । डिसेम्बर २३ देखि ३१ सम्म हुने यू–१९ एसिया कपको समूह ‘ए’ मा रहेका भारत, पाकिस्तान, अफगानिस्तान र यूएईले सबै खेल दुबईमा खेल्नेछन् । डिसेम्बर ३० मा दुबई र शारजहाँमा सेमिफाइनल तथा ३१ मा दुबईमा फाइनल खेल हुने तालिका छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा हुने प्रतियोगितामा नेपालले पहिलो दिन बंगलादेशसँग खेल्नेछ । त्यस्तै डिसेम्बर २५ मा यूएई र २८ मा कुवेतसँग खेल्नेछ । नेपालले यू–१९ एसिया कपमा सहभागी हुन अघिल्लो साता वाइवाइ यू–१९ राष्ट्रिय प्रतियोगिता गरेर नेपालको टोली बनाएको थियो ।

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालको सहभागिता मात्र नभई उपाधि लक्ष्य भएको प्रशिक्षक वसन्त शाही र कप्तान देव खनाल बताउँछन् ।

‘यू–१९ एसिया कपलाई हामीले सहभागिताको हिसाबमा मात्र हेर्न हुँदैन । एउटा अनुभवको पाटो त छँदै छ । युवा खेलाडीले त्यसमा सहभागिता भएर पाउने अनुभव हो । तर हाम्रो पहिलो लक्ष्य टेस्ट खेल्ने राष्ट्रलाई आश्चर्यचकित बनाएर नकआउट चरणमा पुग्नु नै हुनेछ,’ प्रशिक्षक शाहीले भने । कप्तान देवले पनि प्रशिक्षककै भनाइमा सहमत छन् ।

यो यू–१९ एसिया कपको नवौं संस्करण हो । भारतले सात संस्करण जितेको छ, त्यसमा एकपल्ट पाकिस्तानसँग संयुक्त विजेता बनेको थियो । अर्कोर् एकपल्ट यो प्रतियोगिता जित्ने टोली अफगानिस्तान हो । अफगानिस्तानले सन् २०१७ मा मलेसियामा सम्पन्न फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनले पराजित गरेको थियो । नेपाल एकपल्ट सेमिफाइनलमा पुगेको त्यही संस्करणमा मात्र हो । अन्यथा नेपाल सहभागितामै सीमित रहँदै आएको छ ।

विगतमा नेपाल धेरैपल्ट बलियो मानिएको भारत, पाकिस्तानको समूहमा पर्दै आएको थियो । यसपालि नेपालले फरक प्रतिद्वन्द्वी पाएकाले पनि मनोबल उच्च देखिएको हो त ? प्रशिक्षक शाही असहमत रहे, ‘श्रीलंका र बंगलादेशलाई कदापि कमजोर ठानेका छैनौं । बंगलादेश पछिल्लो पटक यू–१९ विश्वकपको च्याम्पियन हो । हामी डिफेन्डिङ च्याम्पियनको समूहमा छौं, त्यो पनि सोच्नुपर्छ ।’

श्रीलंका टोली इंग्ल्यान्डसँग ५ एकदिवसीय खेलको शृंखला खेलेर यूएई पुगेको छ । एक्सपोजर नपाए पनि नेपालको तयारी राम्रो भएका प्रशिक्षक शाही मान्छन् । ‘वास्तवमा तयारीका लागि समय त्यति थिएन, १२–१३ दिनको क्याम्प गर्‍यौं । यो समयमा हाम्रा जति पनि कमिकमजोरी थिए त्यसलाई सुधारेर टिम राम्रो बनाएका छौं,’ शाहीले भने, ‘यू–१९ राष्ट्रिय प्रतियोगिता जसरी राउन्ड रोबिन हिसाबमा भयो, त्यसले पनि तयारीलाई राम्रो साथ दियो । अन्तिममा भए पनि हामीले एपीएफ र पुलिससँग दुई अभ्यास खेल खेल्यौं, त्यसले पनि तयारी सृदुढ बनाएको छ ।’

उनले नेपालको ब्याटिङ पक्ष सबल रहेको सुनाए । ‘यू–१९ राष्ट्रिय प्रतियोगितामा जसरी रनहरू बन्यो, तीन शतक बने, थुप्रै अर्धशतक बने । नेपालको ब्याटिङ जहिल्यै पनि कमजोर रहन्छ भन्दै आइएको थियो, अहिले ब्याटिङ स्ट्रेन्थ राम्रो देखेको छु । बलिङमा अलिकति काम गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

कप्तान देव पनि क्याम्प राम्रो भएको र सबैको प्रयास राम्रो रहेको जनाउँछन् । नेपाली यू–१९ टोलीमा रहेका तीव्र गतिका बलर गुलशन झाले सेप्टेम्बरमा नेपाली राष्ट्रिय टोलीबाट ओमानमा विश्वकप लिग २ खेलेका थिए । टोलीका अरू धेरै खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय यात्रामा निस्केका हुन् । देवको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसमा उनले कप्तानी गरिरहेका छन् । ‘कप्तानी लिनु एउटा जिम्मेवारी हो, जुन जिम्मेवारी मैले पाएको छु, त्यो धेरैको सपना नै हुन्छ,’ छनोटको आधार रहेको यू–१९ राष्ट्रिय प्रतियोगितामा चार अर्धशतक बनाएका उनले भने ।

२० सदस्यीय नेपाली टोलीमा १५ खेलाडी र ५ अफिसियल छन् । तर एक खेलाडीमा कोभिड–१९ को शंका देखिएपछि नेपाल एक खेलाडी कम लिएर यूएई गएको हो ।

प्रकाशित : पुस ६, २०७८ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×