कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खेलाडी–क्यान टस न मस

विनोद पाण्डे

काठमाडौँ — ट्वान्टी–२० विश्वकप पुग्ने अन्तिम खुड्किलो ग्लोबल क्रिकेट छनोट ओमानमा सुरु हुन दुई महिनाभन्दा कम समय छ । प्रतिस्पर्धी १६ टोलीमध्ये प्रायः सबै यही छनोटको तयारीमा व्यस्त छन् । कतिपयले तयारीकै लागि द्विपक्षीय शृंखला खेलिरहेका छन् । नेपाली क्रिकेट भने ठीक विपरीत छ ।

खेलाडी–क्यान टस न मस

नेपाली खेलाडीले असोजयता स्थानीयस्तरका बाहेक कुनै प्रतियोगिता खेलेका छैनन् । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेपछि त अन्य धेरै खेलाडीले ऐक्यबद्धता जनाउन प्रशिक्षणसमेत रोकेका छन् ।

क्यानले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान, दीपेन्द्रलाई उपकप्तानबाट पदमुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल र कमललाई ६ महिनाका लागि ‘सेन्ट्रल कन्ट्र्याक्ट’ बाट हटाएपछि खेलाडी र क्यानबीच संवादहीनता छ । सेन्ट्रल कन्ट्र्याक्टभित्र रहेका खेलाडीले खेलाडी वर्गीकरणविरुद्ध सञ्चारमाध्यममा बोलेपछि नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान कारबाही गर्ने उक्त निर्णयमा पुगेको थियो । शनिबारसम्म खेलाडी र क्यान दुवै आ–आफ्नो निर्णयमा अडिग छन् । विवाद समाधानमा भन्दा पनि एकअर्कालाई आरोप–प्रत्यारोप गर्नमा दुवैले समय खेर फालिरहेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने कुनै विवाद नरहेको दाबी गर्छन् । ‘दोहोरीका कारण विवाद देखिएको हो । यथार्थमा केही विवाद छैन,’ चन्दले कान्तिपुरसँग भने । खेलाडीले सञ्चारमाध्यममा बोलेपछि उनीहरूलाई बोलाएर वार्तामार्फत समाधान गर्न खोजे पनि सफल नभएको क्यानको दाबी छ ।

कारबाहीमा परेका चार खेलाडीले शुक्रबार क्यानको निर्णयले आफूहरूलाई दुःखी तुल्याएको जनाउँदै ‘के नेपाली क्रिकेटमा आजसम्म हामीले गरेको समर्पणको सम्मान यही हो ?’ भनी प्रश्न गरेका थिए । कारबाहीमा परेका ३ खेलाडीसहित उपस्थित निवर्तमान कप्तान ज्ञानेन्द्रले वार्ताका लागि आफूहरू तयार रहेको बताए । तर नेपाली क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने उनको भनाइ छ । ‘उनीहरू आउँछन् भने हामी वार्ताका लागि जहिल्यै खुला छौं । मध्यस्थकर्ता चाहिन्छ भने राखौंला । हाम्रो कसैसँग पूर्वाग्रह छैन,’ अध्यक्ष चन्दले भने, ‘खेलाडीहरूले पनि सञ्चारमाध्यममा वार्ताका लागि तयार छौं भनेपछि वार्ता गर्नुपर्‍यो । उनीहरूले आधिकारिक हिसाबमा नभने पनि हामीले त्यसलाई सकारात्मक रूपमा लिएका छौं । १–२ दिनमा हामी वार्ता गर्छौं ।’

खेलाडीमाथि गरिएको कारबाहीमा प्रधानमन्त्री शेरबहादुर देउवा, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मले चासो देखाएका छन् भने सामाजिक सञ्जालमा पनि निर्णय पुनर्विचार हुनुपर्ने आशयका अभिव्यक्ति आइरहेका छन् । बैतडीका कांग्रेसका सभापतिसमेत रहेका क्यान अध्यक्ष चन्द शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले व्यक्तिगत भेटका लागि प्रधानमन्त्री देउवालाई भेटे पनि क्रिकेटको अहिलेको स्थिति जानकारी गराएको उल्लेख गरे । ‘सरकार या राजनीतिक दलले विवादमा हात हाल्न खोजे भने नेपालको क्रिकेट आईसीसीबाट निलम्बन मात्र होइन बर्खास्त नै हुन्छ भनेर अवगत गराएँ । पहिलाको गल्ती फेरि दोहोर्‍याउनुु हुन्न भनेर आएँ,’ चन्दले भने, ‘प्रधानमन्त्रीले सकिन्छ भने विवाद मिलाएर जानू, अनुशासन पनि कायम रहने गरी क्रिकेटका लागि जे राम्रो हुन्छ त्यही गर्नू भन्नुभयो ।’ राष्ट्रका लागि खेलेका खेलाडी भनेर जे गरे पनि छुट दिनुपर्‍यो भन्ने आशयको कुरा सुन्दा आफू आश्चर्यचकित भएको अध्यक्ष चन्दको भनाइ छ । उनी अनुशासन र आचारसंहितामा कुनै सम्झौता नहुने बताउँछन् ।

क्यानले विश्वकप छनोट तयारीका लागि मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षण गर्ने घोषणा गरेको थियो ।

त्यो एक सातासम्म पछि धकेलिने उल्लेख गर्दै अध्यक्ष चन्दले केही दिनमै बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम निकालिने जनाए । उनले खेल्नबाट कसैलाई वञ्चित नगराएको र कारबाहीमा परेका चारै खेलाडीलाई पनि बन्द प्रशिक्षणमा सहभागी गराइने बताए । प्रशिक्षक पुबुदु दासानायके क्यानडाबाट एक साताभित्र आइपुग्ने उनले जानकारी दिए । खेलाडीले गल्ती स्विकार्नुपर्ने उनको पहिलो सर्त छ । ‘उनीहरूले मिडियामा बोल्नु गल्ती भयो भनेर स्विकारे सेन्ट्रल कन्ट्र्याक्टमा ल्याउने कुरा छँदै छ । माफी आएन भने निर्णय यथावत् हुन्छ,’ चन्दले भने, ‘कप्तानीका विषयमा समयसाक्षेप निर्णय बोर्डले गर्ने हो । ज्ञानेन्द्र कप्तान बनेको दुई वर्ष भइसकेको छ ।’ उनले क्यानको निर्णयबारे आईसीसीलाई जानकारी गराइसकेको र आईसीसी पनि अनुशासनका विषयमा सहकार्य गर्न तयार रहेको बताए ।

पूर्वकप्तान पवन अग्रवाल अहिलेको समस्या वार्ताबाटै समाधन हुन सक्ने बताउँछन् । ‘आफ्नो अहंमता र हठलाई छेउ लगाएर खेलाडी र क्यान दुवै बसेर वार्ता गर्नुपर्‍यो । खेलाडीको मुद्दा क्यानले सकारात्मक हिसाबमा सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘सर्वोच्च निकाय भएकाले खेलाडीले संस्थालाई उचित सम्मान दिनुपर्छ । क्यानले मन फुकाएर खेलाडीको मुद्दा र माग सुन्नुपर्छ । अहिले सकिँदैन भने अर्को पटकको वर्गीकरणमा राख्ने प्रतिबद्धता जनाउनुपर्छ ।’ कारबाही परेका खेलाडीले शुक्रबार पत्रकार सम्मेलनमा आफूहरू खेल्न तयार रहेको जनाइसकेकाले त्यसका लागि क्यानले वातावरण बनाइदिनुपर्ने अग्रवालले बताए ।

स्पष्टीकरण कुनै पूर्वाग्रही नभएर अनुशासन कायम राख्न सोधिएको अध्यक्ष चन्दले बताए । उनले भने, ‘खेलाडीहरूलाई यो महसुस हुन्छ भने समस्या समाधान हुन्छजस्तो लाग्छ । हामी नै उनीहरूलाई वार्तामा बोलाउँछौं । उनीहरू पनि हाम्रै परिवारका सदस्य हुन्, नबोलाउने कुनै कुरै छैन । खेलाडीलाई पनि सेवा/सुविधामा कुनै कन्जुस्याइँ हुँदैन ।’

प्रकाशित : पुस ४, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?