कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोभिड संक्रमणले वेस्ट इन्डिज समस्यामा

एएफपी

कराँची — लयमा रहेको पाकिस्तानले सोमबार तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको पहिलो प्रतिस्पर्धामा वेस्ट इन्डिजको सामना गर्दा जितका लागि बलियो प्रत्याशी रहनेछ । पाहुना टिम आफैं कोभिड संक्रमणका कारण संकटमा छ ।

कोभिड संक्रमणले वेस्ट इन्डिज समस्यामा

कप्तान किरोन पोलार्डसँगै प्रमुख खेलाडीबिना पाकिस्तान आइपुगेको वेस्ट इन्डिजका तीन खेलाडी कोरोना संक्रमित भएका छन् र तिनमा सेल्डन कोटरेल, रोस्टन चेज र केली मेयर्स रहेका छन् ।

वेस्ट इन्डिजले ठूलो संख्यामा खेलाडी पाकिस्तान ल्याएको हुनाले अब खेलमा दोस्रो रोजाइका खेलाडी मैदानमा ओर्लिनेछन् । पाकिस्तानले भने आफूअनुकूलको परिचित मैदान र परिस्थितिमा खेल्नेछ । पछिल्लो ट्वान्टी–२० विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको बाबर आजम नेतृत्वको पाकिस्तानले हालै मात्र बंगलादेशलाई उसकै घरमा ३–० ले हराएको थियो । बाबरले भनेका छन्, ‘हामी उच्च लयलाई कायम राख्न चाहन्छौं ।’

उनले थपेका छन्, ‘अहिले वेस्ट इन्डिजका प्रमुख खेलाडी पाकिस्तान आएका छैनन्, तर जति आएका छन्, तिनीहरू पनि उच्चस्तरका छन् । त्यसैले वर्तमान वेस्ट इन्डिजको सामना गर्दा सजिलो हुने छैन ।’ पछिल्ला १८

ट्वान्टी–२० खेलमध्ये १२ मा पाकिस्तान विजयी रहेको छ र उसले खालि तीन खेलमा मात्र हार बेहोरेको छ । तीन खेल भने नतिजाविहीन रहेको छ । पाकिस्तानको सबैभन्दा बलियो पक्ष उसको सुदृढ ब्याटिङ क्रम रहेको छ ।

बाबरले प्रारम्भिक ब्याट्सम्यान जोडीका लागि मोहम्मद रिजवानसँग ठोस साझेदारी गरिरहेका छन् । यस्तै साहिन अफ्रिदीको नेतृत्वमा पाकिस्तानको बलिङ पनि बलियो रहेको छ । सन् २०१२ र २०१६ को ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिज पछिल्लो संस्करणमा भने सेमिफाइनलसमेत पुग्न सकेन । उसका प्रशिक्षक फिल सिमोन्सले भनेका छन्, ‘विश्वकपमा जे भयो, त्यसबारे हामीलाई पनि थाहा छ र अहिले त्यस्तै प्रदर्शन दोहोर्‍याउन चाहन्नौं ।’

यी दुई टोलीबीच पहिलो ट्वान्टी–२० खेल सोमबार हुनेछ । तीन ट्वान्टी–२० खेलको शृंखलापछि यी दुईबीच नै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुनेछ । सुरक्षाका कारण सबै खेल कराँचीमा हुनेछ ।

प्रकाशित : मंसिर २७, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?