अस्ट्रेलियाको जित

एएफपी

ब्रिसबेन — अस्ट्रेलियाले इंग्ल्यान्डमाथि पहिलो टेस्टमा ९ विकेटको जित हासिल गर्दै एसेज शृंखलामा १–० को अग्रता लिएको छ । इंग्ल्यान्डलाई दोस्रो इनिङ्समा २ सय ९७ रनमा अलआउट पारेपछि अस्ट्रेलियालाई जितनिम्ति २० रन आवश्यक थियो ।

अस्ट्रेलियाको जित

भेट्रान अफ स्पिनर नाथन लायनले ४ सय टेस्ट विकेट पुर्‍याएको खेलमा अस्ट्रेलियाका लागि मार्कस ह्यारिसले विजयी चौका प्रहार गर्दै ५.१ ओभरमै जित दिलाए । ओपनिङ ब्याटिङ गरेका एलेक्स केरी ९ रनमा आउट भए ।

नियमित ओपनर डेविड वार्नर पहिलो इनिङ्समा चोटग्रस्त भएपछि केरीले उपल्लो क्रमको जिम्मेवारी पाएका हुन् । टेस्ट कप्तानीको पहिलो खेलमै अस्ट्रेलियालाई जित दिलाएपछि प्याट कमिन्सले भने, ‘यसपल्ट धेरै कुरा सकारात्मक रह्यो । सबैजना मलाई हेरेर मुस्कुराइरहेका छन् । वास्तवमा मलाई सबैप्रति गर्व छ । मेरो विचारमा यो हाम्रो पूर्ण प्रदर्शन थियो ।’

गावामा ब्याट र बल दुवैमा ध्वस्त बनेको इंग्ल्यान्डले आफूलाई फेरि संगठिन गर्नुपर्नेछ । पहलो इनिङ्समा १ सय ४७ रनमै अलआउट इंग्ल्यान्ड बलमा पनि सकारात्मक प्रदर्शन गर्न असफल रह्यो । प्लेयर अफ द म्याच ट्राभिस हेड (१५२), वार्नर (९४) र मार्नस लावुसचेन (७४) ले इंग्लिस बलरमाथि धावा बोले ।

विशेष गरी बायाँहाते स्पिन ज्याक लिच सबैभन्दा बढी निशानामा परे । पाहुना टोलीले तेस्रो दिन कप्तान जो रुट र डेभिड मलानबीच एक उत्कृष्ट साझेदारीले पुनरागमन प्रयास गरेको थियो । अघिल्लो दिन अविजित दुवै ब्याटर शनिबार छिट्टै आउट भए । तब इंग्लिस ब्याटिङक्रम तीव्र गतिमा पतन भयो ।

‘निराशाजनक रह्यो । हामीले यो खेललाई नियन्त्रणमा लिन वास्तवमै कडा मिहिनेत गरेका थियौं । चौथो दिनको पहिलो सत्र कति महत्त्वपूर्ण हुन्छ भन्ने हामीले राम्ररी बुझेका थियौं,’ इंग्लिस कप्तान रुटले भने, ‘हामीले नयाँ बलमा राम्ररी खेलेर साझेदारी अगाडि बढाउन सकेको भए विपक्षीमाथि प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सक्थ्यौं ।’ इंग्ल्यान्डले २२०–२ को स्थितिबाट दिनको सुरुआत गरेको थियो । शनिबार चौथो दिन पहिलो सत्रमा ७७ रन जोड्दा बाँकी विकेट गुमायो । गावामा बिजुलीको समस्याका कारण ४५ मिनेटको खेल टेलिभिजनबाट प्रशारण हुन पाएन । त्यो अवधिमा कुनै पनि विकेट गएन ।

३४ वर्षीय अफ स्पिनर लायन शुक्रबार आफ्नो टेस्ट करिअरको ४ सय विकेटको कोसेढुंगा पार गर्न असफल थिए । तर ८२ रनको स्कोरमा खेलिरहेका अघिल्लो दिनका अविजित ब्याटर मलानलाई आउट गरेपछि उनको खुसी हेर्नलायक थियो । आफ्नो १ सय १ औं टेस्टमा ४ सय विकेट लिने उनी विश्वका १६ औं क्रिकेटर बने । यो कीर्तिमानमा पुग्ने शेन वार्न र ग्लेन म्याकग्रापछि उनी तेस्रो अस्ट्रेलियाली खेलाडी बने ।

अर्को ओभरमा अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरीले रुटको विकेट अवसर गुमाए । त्यसलगत्तै क्यामरुन ग्रिनले अस्ट्रेलियामा पहिलो टेस्ट शतक खोजीमा रहेका रुटलाई ८९ रनमा आउट गरेपछि इंग्ल्यान्ड २२९–४ को स्थितिमा पुग्यो । ओलि पोपलाई स्लिपमा स्टिभ स्मिथबाट क्याच गराएर लायनले अर्को विकेट लिए । बेन स्टोक्स र जस बटलरले इंग्ल्यान्डलाई अझै अगाडि लैजाने प्रयासस्वरुप केही राम्रा शटहरू खेले । कप्तान कमिन्स आफैं बलिङ गर्न आए र तत्कालै सफलता पाए ।

प्रकाशित : मंसिर २६, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?