कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विमलको ‘कमब्याक’ गोल

गत फागुनमा घुँडाको शल्यक्रिया गरेका विमल घर्तीमगरले यो लिगमा पुनरागमन गर्दै शनिबार पहिलो गोल गरेका छन्
राजु घिसिङ

काठमाडौँ — सबैभन्दा बढी ‘एक्सपोजर’ पाएका फुटबलर हुन् विमल घर्तीमगर । उनले उमेर समूहमा खेल्दाखेल्दै बेल्जियम, फ्रान्स, स्पेनका क्लबमा ट्रेनिङ गरे अनि ट्रायल दिए । यी फरवार्ड युरोपेली क्लबमा अनुबन्ध नजिक पनि पुगेका थिए । त्यसमा पारिवारिक समस्या र चोट बाधक बन्यो । दोहाको अत्याधुनिक अस्पताल अस्पेटरमा ९ महिनाअघि दायाँ घुँडाको शल्यक्रिया गराएका उनले मैदानमा फर्केयता पहिलो गोल शनिबार गरेका छन् ।

विमलको ‘कमब्याक’ गोल

विमलकै गोलको सहयोगमा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रले दशरथ रंगशालामा हिमालयन शेर्पालाई ३–० ले हरायो । ‘कमब्याक गोल’ पछि उनले भने, ‘लामो अनुपस्थितिपछि मैदानमा फर्कंदा नै खुसी थिएँ । मेरो यो गोलले दर्शक र शुभचिन्तक अझै खुसी भएजस्तो लाग्छ । शल्यक्रियापछि मैदानमा फर्केपछि विस्तारै राम्रो भइरहेको छ, एकदमै खुसी लागेको छ । हिमालयन शेर्पाविरुद्ध जुन गोल निस्कियो, यसले सक्ने रहेछु है भन्ने मनोबल बढेको छ, विश्वास आएको छ ।’

यो लिगमा मछिन्द्रको पहिलो खेल

(एनआरटीविरुद्ध) मा ८० औं मिनेटमा अभिषेक रिजालको स्थान लिँदै विमलले चोटपछि पुनरागमन गरेका थिए । त्यसमा १३ मिनेट खेल्दा पाएको अवसरमा उनले गोल गर्न सकेनन् । आर्मीविरुद्ध ३३ मिनेट र जावलाखेलविरुद्ध २५ मिनेट खेल्दा पनि अवसर उपयोग गर्न सकेनन् । उनी हिमालयन शेर्पाविरुद्ध भने बललाई पोस्टको दिशा दिन सफल भए ।

मनीष डाँगीको स्थानमा ७४ औं मिनेटमा मैदानमा प्रवेश गरेका उनले चार मिनेट इन्ज्युरी टाइमको दोस्रो मिनेटमा गोल गरे । करिम नुरैनको आकर्षक पासमा हिमालयन शेर्पाका गोलकिपर र डिफेन्स बिट भइसकेको अवस्थामा विमलले सहज गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाएका हुन् । त्यसअघि सुनील बलले २९ र नुर्लान नोभरुजोभले ६८ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई तेस्रो जिततर्फ डोर्‍याएका थिए ।

यससँगै मछिन्द्र मनाङसँग समान १० अंक भए पनि राम्रो गोल अन्तरका आधारमा शीर्षस्थानमा उक्लियो । विमलको ‘ए’ डिभिजन लिगमा तेस्रो गोल हो यो । उनले च्यासल युवा क्लबबाट २०७५ सालमा ४ खेल खेल्दा २ गोल गरेका थिए । पछिल्लो सिजन २०७६ सालमा च्याम्पियन मछिन्द्रका लागि आर्मीविरुद्धको अन्तिम खेलमा मैदानमा उत्रिए पनि उनले गोल गरेका थिएनन् । त्यसैले हिमालयन शेर्पाविरुद्धको गोल उनका लागि शीर्ष श्रेणीको लिगमा तीन वर्षपछिको गोल पनि हो । उनलाई अर्को अवसरमा डिफेन्डर उलरिच सिवेले रोकिदिए ।

प्रशिक्षक प्रवेश कटुवालले निरन्तर सब्स्टिच्युटका रूपमा अवसर दिइरहेका विमल अझै मैदानमा डराइरहेका देखिन्छन् । विशेषगरी विपक्षी खेलाडीसँग आमनेसामने भएको अवस्थामा । २४ वर्षीय विमलले भने, ‘सामान्य होइन, ठूलै शल्यक्रिया गरेर आएको हो । पहिलो, दोस्रो खेलमा डराइरहेको थिएँ । अहिले आएर कन्फिडेन्स बढेको छ ।’ पुरानै लयमा (राम्रो) कहिले फर्किन्छ त ? ‘फर्ममा फर्कन गाह्रो नै छ,’ उनले जवाफ दिए, ‘मेरो ठाउँमा खेल्ने सबै खेलाडी राम्रो खेलिरहनुभएको छ । मैले ट्रेनिङ मजाले गरिरहेको छु, पूरा प्रयास गरिरहेको छु । त्यस्तो समस्या केही छैन । रिकोभरीको प्रक्रिया सकियो । विस्तारै फर्ममा आउँछु जस्तो लाग्छ ।’

राष्ट्रिय टिमको ट्रेनिङमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा २०७७ पुस ३ मा भएको अभ्यास खेलमा विमललाई दायाँ घुँडामा चोट लागेको थियो । एन्टेरिअर क्रुसिएट लिगामेन्ट (एसीएल), मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) र ल्याटरल मिनिस्कसमा देखिएको चोटको शल्यक्रिया अस्पेटरमा फागुन २५ मा गरिएको थियो । अस्पेटरमै ‘रिह्याबिलिटेसन’ गरेर फर्किएका उनले असोजमा राष्ट्रिय यू–२३ टिमसँग ट्रेनिङ थालेका थिए । तर, प्रतिस्पर्धीसँग जुधेर खेलेका थिएनन् । तिहारपछि मछिन्द्रमा अनुबन्धित भएसँगै पूर्ण अभ्यासमा फर्किए ।

‘यो लिगमा जति पनि टिमको खेल हेरेको छु, सबै टिम एउटा जोस–जाँगरले बनेका छन् । कुनै पनि टिमसँग खेल्न सजिलो छैन,’ १५ वर्षको छँदै राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप (सन् २०१३) मा पाकिस्तानविरुद्ध गोल गरेपछि खुबै चर्चा पाएका विमलले मछिन्द्रको उपाधि रक्षा अभियानबारे उनले भने, ‘अहिलेसम्म राम्रै भइरहेको छ । यो जितले तालिकाको शीर्षस्थानमा पुगेका छौं । यसले खेलाडी, अफिसियल, कोच सबैको मनोबल बढेको छ । हामी उपाधि रक्षाको अभियानमै छौं जस्तो लाग्छ ।’

प्रकाशित : मंसिर २६, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?