कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बर्खाले जुराएको जग्गा

न्यु डायमन्ड स्पोर्ट्स क्लबले छात्रावाससहितको भलिबल ट्रेनिङ सेन्टर बनाउनका लागि पुरानो नैकापमा २ रोपनी ८ आना २ पैसा जग्गा ‘लिज’ मा लिएको छ
राजु घिसिङ

काठमाडौँ — दुई महिनाअघिको मात्रै कुरा हो एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने तयारीमा जुट्नु थियो । घरेलु प्रतिष्ठित च्याम्पियनसिपको आयोजना बर्खाको अन्त्यतिर हुँदै थियो । तर बर्खा रोकिएन । त्यसैले सहभागी टिमहरूलाई तयारीमै समस्या पर्‍यो । किनभने क्लबहरूसँग अभ्यास गर्नर् मिल्ने इन्डोर हल थिएन/छैन ।

बर्खाले जुराएको जग्गा

लगातार झरी परेपछि न्यु डायमन्ड स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईले जुक्ति लगाएका थिए– घरकै कोठाभित्र अभ्यास गर्ने । गरे पनि त्यस्तै । पुरानो नैकापस्थित न्यु डायमन्ड स्कुलको ‘आउटडोर’ मैदानमा सधैं ट्रेनिङ गर्ने टिमले एउटा घरको कोठामा प्रशिक्षण गर्नुपर्‍यो । कोठामा टिमको पूर्ण प्रशिक्षण सम्भव थिएन, झन्डै एक महिना ‘डिफेन्स’ को ट्रेनिङ गरेर न्यु डायमन्ड क्लब च्याम्पियनसिपमा उत्रियो । अन्ततः त्यही कोठामा गरिएको तयारीले प्रदर्शनमा सुधार गर्दै न्यु डायमन्डले फाइनलमा एपीएफको चुनौती ३–१ ले समाप्त पार्दै ५ वर्षपछि क्लब च्याम्पियनसिपको उपाधि जित्यो ।

२०७३ सालपछि क्लब च्याम्पियनसिप जितेको खुसियाली मनाइरहेका बेला प्रशिक्षक राईलाई भने अर्को चिन्ताले सताउन थाल्यो । उनले सुनाए, ‘पानी पर्‍यो कि ट्रेनिङ नै गर्न नपाउने ! यसरी कहिलेसम्म चल्छ ? यो पाराले भएन ।’ उनलाई साह्रै चित्त दुख्यो । त्यही चिन्ताले उनलाई ‘इन्डोर ट्रेनिङ सेन्टर’ स्थापनाका लागि महत्त्वाकांक्षी बनाइदियो । उनी दिनरात त्यसैमा लागे पनि । कहिले सरकारी/सार्वजनिक जग्गा खोजी हिँडे । कहिले खाली देखिएका निजी ‘प्लट’ तिर आँखा डुलाइरहे । सरकारी जग्गाको प्रयोग अलि झन्झटिलो पनि छ । निजी जग्गा ‘लिज’ मा लिँदा राम्रै खर्च बढ्छ । उनी दोधारमा परे । तर उपयुक्त जग्गा खोज्न छाडेनन् ।

अन्तत ः प्रशिक्षक राईले न्यु डायमन्डका लागि स्कुलकै केही माथि दुई रोपनी आठ आना दुई पैसा निजी जग्गा लिजमा लिएका छन्, जहाँ भलिबल ट्रेनिङ सेन्टर स्थापना गर्ने योजनामा शुक्रबार भूमिपूजा गरियो । ५४ वर्षीय राईले भने, ‘सारा समर्थक छन् । यत्रो पीडामा पर्दा उनीहरूले कसो साथ नदेलान् त भनेर सरकारी जग्गा नपाएको अवस्थामा यो (निजी जग्गा) लिजमा लिएर आवासीय एकेडेमीसहितको ट्रेनिङ सेन्टर स्थापनाको यो काम सुरु गरिएको हो ।’ एनभीए राष्ट्रिय क्लब लिग २०६९ र ०७७ को विजेतासमेत रहेको क्लबमा उनी उपाध्यक्ष पनि छन् । उनले

डेढ दशकयता न्यु डायमन्डलाई महिला भलिबल खेलाडी उत्पादनको पर्याय नै बनाइदिएका छन् । न्यु डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी मालीका अनुसार क्लबले भलिबल कोर्ट, चेन्जिङ रुम, ट्वाइलेट–बाथरुमसहितको ट्रेनिङ सेन्टरका लागि इन्जिनियरले दुईखाले नक्सा बनाइदिएका छन् । एउटा, प्यारापिटसहितको ट्रेनिङ सेन्टर । अर्को, देशकै प्रतिभावान् ४० जना बालिकाहरूलाई आवासीय भवनसहितको ट्रेनिङ सेन्टर । त्यसैले नक्साअनुसार २ करोड र ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । क्लबका टिम व्यवस्थापक किरण कार्कीले भने, ‘देशकै नमुना भलिबल ट्रेनिङ सेन्टर बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि मुख्य स्रोत मानिसहरू, भलिबलप्रेमीहरू, व्यवसायी, नेता र स्थानीय निकायको सहयोग नै हुनेछ ।’

चन्द्रागिरि १३ स्थित पुरानो नैकापमा भूमिपूजापछि अध्यक्ष मालीले भनिन्, ‘आगामी भलिबल दिवस (जेठ ८ गते) यही (ट्रेनिङ सेन्टर) मा मनाउने चाहना छ, जुन सहयोगी हातहरूमा भर पर्छ ।’ उनी नेपाल भलिबल संघकी कोषाध्यक्ष पनि हुन् । जग्गाको भाउ अकासिँदै गएका बेला भलिबलमा अझै महत्त्वाकांक्षी भइरहेका प्रशिक्षक राई बोले, ‘यहाँ देशकै प्रतिभावान् बच्चाहरूलाई ल्याएर भलिबल ट्रेनिङ दिन चाहन्छौं, जसबाट उत्कृष्ट खेलाडी उत्पादन गरेर देशलाई टेवा दिनेछौं ।’

२०६२ साल वैशाख ५ देखि स्कुल सञ्चालनमा ल्याएको पाँच जनाको समूहले नै त्यसको १३ महिनापछि स्कुलको आउटडोर मैदानमा छात्राहरूलाई भलिबल प्रशिक्षण दिन थालेको थियो । त्यसबाट स्कुलको टिम बन्यो । पछि त्यसैले न्यु डायमन्ड स्पोर्ट्स क्लबको रूप लियो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका रमिला तण्डुकार, रेश्मा भण्डारी, कृपा अधिकारी, प्रतिभा माली र सलिना श्रेष्ठ न्यु डायमन्डबाटै उदाएका हुन् । राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले पनि दुई वर्षयता न्यु डायमन्डमै ट्रेनिङ गरिरहेकी छन् । यी नाम चलेका खेलाडीबिना पनि न्यु डायमन्डले नेपाली महिला भलिबलमा विभागीय टिमहरूलाई पनि बलियो चुनौती दिने गरेको छ । कप्तान ललिता नाथ पनि ट्रेनिङ सेन्टर स्थापनाले महिला भलिबलमा अर्को उत्साह र उचाइ थप्ने बताउँछिन् ।

‘अहिले जुन स्तरका खेलाडी उत्पादन गरिरहेका छौं, त्यो भन्दा धेरै राम्रो खेलाडी बनाउन चाहन्छौं,’ राईले भने, ‘त्यसका लागि ट्रेनिङ सेन्टर स्थापना गरेर यहाँ विदेशका राम्रा भलिबल क्लब ल्याएर खेलाउनेछौं । हामी आफ्नै टिम पनि विदेशको राम्रो प्रतियोगितामा खेलेर क्लब च्याम्पियनसिप जित्ने प्रयास गर्नेछौं ।’ पुरानो नैकापमा राईसँग ट्रेनिङ गर्ने छात्राको संख्या दैनिक ३० देखि ५० जनासम्मै हुन्छ । उनको अनुपस्थितिमा न्यु डायमन्डकै सिनियर खेलाडीहरूले प्रशिक्षण गराउँछन् । यही टिमले देशव्यापी रूपमा सञ्चालन भइरहने राष्ट्रियस्तरका खुला प्रतियोगितामा थुप्रै उपाधि जितेको छ ।

प्रकाशित : मंसिर २५, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?