लिगमा ५३ सेकेन्डमै गोल 

पुलिस १–१ हिमालयन । मछिन्द्र २–० जावलाखेल
हिमेश

काठमाडौँ — भावनामा चुर्लुम्म डुबेका अनुभवी प्रशिक्षक । रिस थाम्न नसकेका युवा प्रशिक्षक । अनि ५३ सेकेन्डमै गोल । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको बुधबार तेस्रो चरणको अन्तिम दुई खेलको सार लगभग यही रह्यो ।

लिगमा ५३ सेकेन्डमै गोल 

सबैभन्दा पहिले खेल सुरु भएको मिनेट नबित्दै भएको गोलबाट चर्चा सुरु गरौं । दशरथ रंगशालामा बुधबार दिनको पहिलो खेलमा हिमालयन शेर्पाले पुलिसविरुद्ध ५३ सेकेन्डभित्रै गोल निकालेको थियो । यसका नायक थिए कप्तान विश्वास श्रेष्ठ ।

हिमालयनले बल अगाडि बढाएको पहिलो अवसरमै विश्वासले गोल गरे । यो यसपालिको लिगमा अहिलेसम्मकै कम समयमा सम्भव गोल रह्यो । के यो नेपाली लिग इतिहासकै सबैभन्दा कम समयमा भएको गोल हो त ? होइन । विश्वासको यो गोलले २१ वर्षअगाडिको अर्को त्यस्तै गोललाई सम्झाउने अवसर भने जुराएको छ । ०५७ सालको लिगमा थ्रीस्टारले एनआरटीविरुद्ध खेल सुरु भएको १८ सेकेन्डमै गोल गरेको थियो ।

यो नै लिगबारे स्पष्ट अभिलेख राख्न थालेयताको सबैभन्दा कम समयमा भएको गोल हो । यसका नायक थिए, दीपक अमात्य । त्यो खेलमा थ्रीस्टार विजयी रह्यो ।

यस्तै भाग्य हिमालयनको रहेन । नतिजा पुलिसविरुद्ध बराबरीमै चित्त बुझाउनुपर्‍यो । पुलिसका लागि सुमन लामाले ६० औं मिनेटमा गोल गरे । पुलिस ३ खेलमा अहिलेसम्म अपराजित छ, तर त्यसमध्ये दुई खेल बराबरीमा टुंगेको छ । टिम ५ अंकको स्थितिमा छ ।

त्यस अर्थमा पुलिसका लागि बराबरी पनि सन्तोषजनक नतिजा रह्यो । त्यसैले यो नतिजामा प्रशिक्षक अनन्त थापाले धेरै गुनासो गरेनन् । पुलिसले जुमनु राई र भोला सिलवालका रूपमा दुई भेट्रान खेलाडीलाई सब्स्टिच्युटमा उतारेको थियो । त्यसपछाडि प्रशिक्षक थापाको तर्क थियो, टिमलाई अनुभवी खेलाडी पनि आवश्यक छ, किनभने उनीहरूविना टिम निकै युवा छ । पुलिस अहिलेसम्म जुमनु र भोलाकै भरमा पर्नु के ठीक हुनेछ त ? त्यो समयले भन्ला ।

लिगजस्तो लामो समय चल्ने प्रतियोगितामा यो प्रयोगले काम नगर्न सक्छ । डर यसमै छ । अथवा यसको कारण कतै टिममा राम्रा खेलाडीको अभावमा प्रशिक्षक थापा आफ्ना पुरानै खेलाडीमा भर पर्नुपरेको त होइनन् ? जुमनु र भोला पुलिसका खेलाडी नहुँदो हो त यस्तो स्थिति उत्पन्न नहुन सक्थ्यो कि ? बराबरीमा हिमालयनका प्रशिक्षक युगलकिशोर राई पटक्कै खुसी देखिएनन् । उल्टै पूरा खेल अवधिमा यी प्रशिक्षक रिसको एकपछि अर्को शृंखलाबाट गुज्रिइरहेका थिए ।

यसक्रममा उनले आफ्नो ‘क्याप’ लाई एकभन्दा बढी अवसरमा रिसमा भुईंमा बजारे । पछि उनले भने, ‘यो रिस नियन्त्रणभन्दा बाहिरको त थिएन । तर टिमले रणनीतिअनुसार खेल्न सकेन ।’ पुलिसको खेल सुक्ष्म अध्ययन गरेर प्रशिक्षक राईले एक साता आफ्नो टिमको तयारी गरेका थिए, तर मैदानमा उनका खेलाडीले त्यसअनुसार खेल्नै सकेनन् । यस्तोमा हिमालयन तीन खेलबाट २ अंकमै सीमित रह्यो र रेलिगेसन क्षेत्रको नजिक रह्यो ।

अपराजित यात्रामा मछिन्द्र

जावलाखेललाई हराएपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल खुसी नै रहे । डिफेन्डिङ च्याम्पियन मछिन्द्रले यसक्रममा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

टोलीले सीमान्त थापाको आत्मघाती गोलले १४ औं मिनेटमा अग्रता लिएपछि २१ औं मिनेटमा रञ्जित धिमालले दोस्रो गोल थपे । यो जितपछि मछिन्द्रको ३ खेलबाट ७ अंक भएको छ । यो खेलबाट देखियो, मछिन्द्र उपाधि रक्षा गर्ने मनसायमा छ । मछिन्द्रसँगै ७ अंकमा तीन टिम छन् । सातदोबाटो र मनाङ मर्स्याङ्दीको पनि ७ अंक छ ।

जावलाखेलको भने यो लगातार तेस्रो हार हो । टोली अंकविहीन रहेर रेलिगेसन क्षेत्रमा छ । जावलाखेलले लिगका सुरुआती तीनै खेलमा गोल गर्न सकेको छैन । उल्टै आत्मघाती गोल गरेको छ । खेलपछि जावलाखेलका प्रशिक्षक किशोर केसी खुबै भावनात्मक रूपमा प्रस्तुत भए । उनको चित्त दुखाइ प्रस्ट रूपमा धेरै थियो, विशेषतः आफ्नै खेलाडीप्रति । त्यसो त दुई दशकभन्दा लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय केसीले बिरलै आफ्ना खेलाडीको आलोचना गरेका छन् ।

तर मछिन्द्रविरुद्धको खेलपछि विशेषतः उनले दुई खेलाडीको आलोचनामा शब्द खर्चे । त्यसमा पहिलो खेलाडी थिए, गोलरक्षक टेकेन्द्रसिंह थापा । प्रशिक्षक केसीको निचोड थियो, टेकेन्द्रले केही जिम्मेवारीपूर्ण खेल खेलेको भए, यी दुवै गोल हुने थिएनन् ।

यी दुवै गोलमा तिनै गोलरक्षकको कमजोरी देखिएको थियो । प्रशिक्षक केसीलाई टिमका एकमात्र राष्ट्रिय टिमका सदस्य खेलाडी सुरज ठकुरीमा पनि गुनासो थियो । उनको तर्क थियो, सुरजको खेल टिमलाई चाहिएजस्तो रहेन ।

प्रशिक्षक केसीले थपे, ‘खेलाडीमात्र होइन, प्रशिक्षक पनि तरबारको धारमा छन् । प्रशिक्षक बर्खास्तगीको सम्भावनाबाट गुज्रिरहेको हुन्छ । त्यसैले खेलाडीको प्रदर्शनलाई लिएर उत्पन्न हुने असन्तोष आफ्नै मनमा धेरै गुम्साइरहे पनि ठीक हुन्न ।’ हुन पनि दुई गोलको जितले मछिन्द्रको त्यो सफलता सजिलो देखिन्छ । तर खेल यस्तो थिएन, जावलाखेलले लगभग बराबरीकै चुनौती पेस गरेको थियो । अनि केही सटिक आक्रमण बुनेको थियो । तर, पराजित रह्यो । यस्तोमा जावलाखेलले समस्या ठ्याक्कै कहाँनिर छ, खोज्न हतार भइसकेको छ ।

प्रकाशित : मंसिर २३, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?