गल्फमा अगाडि आए भुवन

काठमाडौँ — शीर्ष वरीयताका प्रो भुवन (उमेश) नगरकोटी सूर्य नेपाल काठमाडौं ओपन गल्फको दोस्रो दिन मंगलबार रोयल नेपाल गल्फ क्लबमा १ अन्डर ६७ स्कोर गर्दै पहिलो स्थानमा उक्लिएका छन् ।

गल्फमा अगाडि आए भुवन

सूर्य नेपाल गल्फ टुर २०२१/२२ को पहिलो प्रतियोगितामा अघिल्लो दिन ५ अन्डर ६३ खेलेका उनले ३६ होल समाप्तिमा ६ अन्डर १३० को प्रदर्शन गरेका छन् ।

भुवन पहिलो दिन जयराम श्रेष्ठ र कुमार कामीभन्दा एक स्ट्रोक पछाडि थिए । रवि खड्का १ अन्डर ६७ स्कोर गर्दै समग्रमा भुवनसँग एक स्ट्रोक नजिक पुगेका छन् । दोस्रो स्थानमा रहेका रविको समग्र स्कोर ५ अन्डर १३१ रहेको छ । एमेच्योर सुवास तामाङ र जयराम समग्रमा ४ अन्डर १३२ सहित संयुक्त तेस्रोमा छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता सुवासले दोस्रो दिन ४ अन्डर ६४ खेल्दै सात स्थान फड्को मारेका हुन् । जयराम भने २ ओभर ७० खेलेपछि दुई स्थान तल झरेका हुन् ।

दिनेश प्रजापति, सञ्जय लामा र कुमार कामी समान २ अन्डर १३४ सहित संयुक्त पाँचौं स्थानमा छन् । कुमारले अघिल्लो दिन ६ अन्डर ६२ को उत्कृष्ट प्रदर्शनलाई दोहोर्‍याउन सकेनन् । उनले ४ ओभर ७२ को खराब प्रदर्शन गरे । दिनेशले २ अन्डर ६६ स्कोर गरे । सञ्जयले लगातार दोस्रो दिन पनि १ अन्डर ६७ को कार्ड बनाए । १ ओभर ६९ खेलेका धनबहादुर थापा (इभन पार १३६) आठौंमा छन् । उनीभन्दा एक स्ट्रोक पछाडि परेका शुक्रबहादुर राईले दोस्रो दिन इभन पार ६८ खेले । भुवनकुमार रोकाले ७ ओभर ७५ को खराब प्रदर्शन गरे पनि समग्रमा १ ओभर १३७ सहित नवौंमा छन् ।

कुल ६ लाख ४० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा रमेश अधिकारी र कृष्णमान राजवाहक समान ४ ओभर १४० स्कोरसहित शीर्ष दसमा अटाए । यी दुईले दोस्रो दिन समान ७२ स्ट्रोक खेले । ३६ होलको खेलपछि १० ओभर १४६ सम्म रहेका २१ प्रो अन्तिम दुई चरणका लागि छनोट भएका छन् । उनीहरूसँगै शीर्ष ६ एमेच्योर (सुवास, निश्चयजंग रायमाझी, मिथुन राई, सुरेश तामाङ, महेन्द्र फगामी र विदुर तामाङ) ले पनि बाँकी ३६ होल खेल्नेछन् ।

भुवनले नवौं होलमा बोगी बेहोरेपछि सुरुका ९ होलको स्कोर १ ओभर ३५ मा राखेका थिए । त्यसपछि १३, १७ र १८ औं होलमा बर्डी गरेका उनले १५ औं होलमा बोगीमा परेपछि पछिल्ला ९ होलको स्कोर २ अन्डर ३२ बनाएका थिए । पहिलो होलमै एक स्ट्रोक जोगाएका रविले त्यसपछि लगातार पार खेलेर सुरुका नौ होल १ अन्डर ३३ मा टुंग्याए । उनले पछिल्ला ९ होल इभन पार ३४ मा पूरा गरे । उनले १४ र १८ औं होलमा बर्डी गरे पनि १० र १६ औं होलमा बोगी बेहोरेका थिए ।

प्रकाशित : मंसिर २२, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?