कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३ हजार मिटरमा जुम्ला हाबी

काठमाडौँ — दशरथ रंगशालामा सोमबार सुरु युथ एथलेटिक्स च्याम्पियनसिपमा पहिलो दिन १४ स्वर्णको छिनोफानो भएको छ ।

३ हजार मिटरमा जुम्ला हाबी

बंगलादेशी खेलाडीले आफू सहभागी स्पर्धामा प्रभावशाली नतिजा निकालेका छन् । मध्यम दूरीमा जुम्लाका खेलाडीले बाजी मारेका छन् ।

३ हजार मिटर दौडको यू–२० ब्वाइजमा जुम्लाका प्रकाश कठायतले स्वर्ण जिते । उनले ९ मिनेट २२.७ सेकेन्डमा दूरी पूरा गरे । कपिलवस्तुका अजय पाण्डेले ९ मिनेट ४० सेकेन्डबाट रजत र एक सेकेन्डले पछि परेका ललितपुरका महेश सिदलीले कांस्य जिते ।

सोही स्पर्धाको गर्ल्सतर्फ जुम्लाका खेलाडीद्वय राममाया बुढा (१० मिनेट ४४.५ सेकेन्ड) र बन्दना बुढा (११ मिनेट २१.९सेकेन्ड) ले क्रमशः स्वर्ण र रजत जिते । ११ मिनेट ४३.० सेकेन्डसहित सुर्खेतकी विमला कार्कीले कांस्य जितिन् । बन्दनाले मंसिर पहिलो साता नेपालगन्ज म्याराथनको ५ किमिमा तेस्रो स्थान हात पारेकी थिइन् ।


यू–२० ब्वाइज ४ सय मिटर दौडमा बंगलादेशका जेल्दा सर्जिल हसन खानले स्वर्ण जिते । उनले ५१.६० सेकेन्डमा दूरी पूरा गरे । ५१.८ सेकेन्डसहित बंगलादेशकै मिहिबुल्लाह मोहम्मद खालिदले रजत र नवलपुरका नारायण चौधरीले ५२.४२ सेकेन्डबाट कांस्य जिते । गर्ल्सतर्फ बंगलादेशकी रुना नुसरत जाहानले १ मिनेट ००.४ सेकेन्डबाट स्वर्ण जितिन् । दुई सेकेन्डले पछि परेकी दाङकी अरुणा रिजालले रजत र वीरगन्जकी संगीताकुमारी यादवले कांस्य जिते ।

लङजम्प यू–२० ब्वाइजतर्फ बर्दियाका रामलखन थारुले स्वर्ण जिते । समान ६.३३ मिटर जम्प गरे पनि सबै चरणको प्रदर्शनका आधारमा रामले नवलपरासीका सलिम देवानलाई पछि पारे । कांस्य विजेता बर्दियाकै रोशन थारुले ५.९७ मिटर जम्प गरे ।

गर्ल्सतर्फ बंगलादेशकी सोनिया अख्तरले ५.७७ मिटर जम्प गरी स्वर्ण जितिन् । दाङकी सीमा चौधरी (४.६४ मिटर) र बर्दियाकी रबिना थारु (४.२४ मिटर) ले कांस्य जिते ।


सोही स्पर्धाको यू–१६ उमेर समूहमा कपिलवस्तुका सुदीप थारूले ६.६८ मिटर जम्प गरी स्वर्ण जिते । उनले यू–२० का स्वर्ण विजेताले भन्दा बढी जम्प गरेका हुन् । कपिलवस्तुका रामजित विश्वकर्मा (५.७७ मिटर) र चितवनका सुदीप महतो (५.६३ मिटर) ले क्रमशः रजत र कांस्य जिते । गर्ल्सतर्फ दाङकी करुणा रिजाल (४.२७ मिटर) ले स्वर्ण, दाङकी सुशीला चौधरी (४.२० मिटर) ले रजत र नुवाकोटकी धनु राई (४.०५ मिटर) ले कांस्य जितेका थिए ।

यू–१६ सटपुट ब्वाइजमा चितवनका दीपेश महतो १३.४० मिटर), कपिलवस्तुका तुलसीराम थारू (१२.५४) र वीरगन्जका आदेशकुमार यादव (१०.२१) तथा यू–२० सटपुट गर्ल्समा दाङकी सुशीला चौधरी (९.८२ मिटर), विजेश्वरीकी निशा भुजेल (७.७०) र झापाकी कञ्चन विमली (७.५३) क्रमशः शीर्ष तीन स्थानमा विजयी भएका छन् ।

४ गुणा १०० मिटर रिले दौडको यू–१६ ब्वाइजतर्फ वीरगन्जका आदेश यादव, पुष्पराज यादव, आलोक गुप्ता र शत्रुधन पटेल तथा गर्ल्सतर्फ कालिकोटका लक्ष्मी शाही, मल्टा शाही, भावना र रमिला शाहीको टिमले पहिलो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा बंगलादेशका ८ सहित ४ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बताए । युवास्तरमा प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजित प्रतियोगितामा बंगलादेशी टोलीको उपस्थितिले नेपाली खेलाडीमा प्रतिस्पर्धात्मक भावनाको विकास हुने आयोजकको दाबी छ । स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । रिलेतर्फ ६ हजार, ४ हजार र २ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । अरू स्पर्धाको फाइनल मंगलबार हुनेछ ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?