एसिया कप क्रिकेटका लागि खेलाडी छनोट- खेलकुद - कान्तिपुर समाचार

एसिया कप क्रिकेटका लागि खेलाडी छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले आइतबारमात्रै सम्पन्न यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ ।

क्यानका अनुसार नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् । एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।

बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीमा देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल र अर्जुन यादव रहेका छन् । त्यसैगरी कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी छनोटमा परेका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्

रोचक बन्दैछ हनुमानढोका संग्रहालय

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको हनुमानढोका संग्रहालयमा विगतमा अवलोकन गर्न नपाइने पुरातात्त्विक र आकर्षणका थुप्रै सामग्री समावेश गरिएको छ ।

हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार, २०६८ सालमा हनुमानढोका दरबारस्थित न्हुंच्छे चोक र फरास खानाबीचको भवन जिर्णोद्वार गर्ने क्रममा पुरातात्त्विक र सांस्कृतिक महत्त्वका सामग्रीहरु फलामको सेफमा पुरिएको अवस्थामा भेटिएको थियो ।

ती सबै सामग्रीको लगत तयारी गरिसकिएको र हाल हनुमानढोका संग्रहालयमा केही दुर्लभ सामग्रीको प्रदर्शनी समेत सुरु गरिएको छ ।

यसमा इष्ट इडिया कम्पनीले जारी गरेका सुनका सिक्काहरु, तात्कालीन समयका नापतौलका सामग्री, राज्यभिषेक समारोहमा हात्तीको शिरमा सजाइने चाँदीको चन्द्रकलश, चाँदीका मुकुटहरु आदि रहेका छन् ।

खनालका अनुसार हनुमानढोका दरबार क्षेत्रमै पर्ने काष्ठमण्डप निर्माणबारे भने विकास समिति वा पुरातत्त्व विभाग समेत प्रत्यक्ष सरोकारसम्बद्ध छैनन् । ‘काष्ठमण्डप पुनर्निर्माणका क्रममा त्यहाँबाट झिकिएको ४ सुरका गणेश र गोरखनाथको मूर्ति भने हाम्रो संग्रहमा राखिएको छ,’ खनालले भने, ‘अहिले नयाँ प्रतिस्थापन गरिएकोबारे आइरहेको बहसमा हामी जवाफ दिने स्थानमा छैनौं ।’

वास्तुकलाका हिसाबमा महत्त्वपूर्ण स्थान रहेको हनुमानढोका दरबार क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७८ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×