भारत जितबाट पाँच विकेट टाढा

एएफपी

मुम्बई — भारत न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन आइतबार जितबाट पाँच विकेट टाढा रहेको छ । न्युजिल्यान्डले जितका लागि ५ सय ४० रनको असम्भव लक्ष्य पाएकामा उसले दिनको खेल समाप्त हुँदा पाँच विकेट गुमाएर १ सय ४० रन बनाएको छ । पाहुना टिमका लागि मुम्बईमा जन्मेका बलर अजाज पटेलले कीर्तिमान २ सय २५ रनमा १४ विकेट लिए ।

भारत जितबाट पाँच विकेट टाढा

घरेलु टिमले आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेसँगै अजाज भारतविरुद्ध कोही पनि विदेशी बलरको सबैभन्दा उत्कृष्ट प्रदर्शन आफ्नो नाममा लेखाउन सफल रहे । यसअघि यस्तै सबैभन्दा उत्कृष्ट प्रदर्शन इयान बोथमको नाममा रहेको छ । सन् १९८० मा उनले मुम्बईमै १ सय ६ रन खर्चेर १३ विकेट लिएका थिए । न्युजिल्यान्डका लागि तेस्रो दिनको खेल समाप्त हुँदा हेनरी निकोलस ३६ र रचिन रविन्द्र दुई रन बनाएर खेलिरहेका छन् । भारतका लागि स्पिनरद्वय रविचन्द्रन आश्विन र अक्षर पटेलले घातक बलिङ गर्दै न्युजिल्यान्डका माथिल्लो ब्याटिङ क्रमलाई ध्वस्त पारे । आश्विनले २७ रनमा दुई विकट लिए । अब न्युजिल्यान्डले टेस्ट बचाउन दुई दिन ब्याटिङ गर्नुपर्नेछ, जुन सम्भव देखिन्न ।

तर न्युजिल्यान्ड ब्याट्सम्यान रविन्द्रले भनेका छन्, ‘हाम्रो लागि सकारात्मक भएर मैदानमा ओर्लिनु सबैभन्दा ठूलो हो । हामीले सही ढंगले ब्याटिङ गर्नुपर्छ र आवश्यक परेको बेला रन पनि बटुल्नुपर्छ । पहिलो टेस्टमा उनकै ब्याटिङ मद्दतले न्युजिल्यान्डले भारतलाई बराबरीमा रोकेको थियो । तर यसपल्ट उनका लागि त्यस्तै काम दोहोर्‍याउन गाह्रो हुनेछ ।

आश्विनले सबैभन्दा पहिले निमित्त कप्तान रहेका टम लथानको विकेट लिए । लथानले १० रन मात्र बनाए । त्यसपछि उनले लगातार दुई बलमा विल योङ र रस टेलरको विकेट लिए । त्यसपछि ड्यारल मिचेलले आफ्नो तेस्रो टेस्ट अर्धशतक पूरा गरे र यसैक्रममा निकोलससँग मिलेर ७३ रनको ठोस साझेदारी गरे । मिचेल अक्षरको बलमा आउट भए ।

यस अगाडि भारतले सात विकेट गुमाएर २ सय ७६ रनमा आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका लागि कीर्तिमान बलिङ गरेको अजाज आफ्ना आमाबुबासँगै सन् १९९६ मा मुम्बईबाट अकल्यान्ड गएका हुन् । सन् २०१८ मा उनले न्युजिल्यान्डका लागि डेब्यु गरेका थिए र अहिले आफ्नो ११ औं टेस्ट खेलिरहेका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?