१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुम्बिनी यू–१९ राष्ट्रिय च्याम्पियन

झन्डै ७ वर्षपछि पहिलो पटक भएको प्रतियोगितामा विजेता टोलीको वर्चस्व

काठमाडौँ — लुम्बिनी प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ । कप्तान देव खनालले अर्धशतक र अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनीले आइतबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्‍यो ।

लुम्बिनी यू–१९ राष्ट्रिय च्याम्पियन

देवले प्रतियोगिताको सातौं खेलमा चौथो पटक अर्धशतक बनाउनेक्रममा ७० रन बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पूरा ५० ओभर खेली २ सय १२ रन बनाएर अलआउट भयो । आकाश त्रिपाठीलाई इनिङ्सको दोस्रो बलमै हेमन्त धामीले एलबीडब्लू आउट गरे पनि देवले परिपक्व ब्याटिङ गर्दै लुम्बिनीलाई योग्य योगफलमा उभ्याए ।

देवले ९५ बलको इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे । प्रज्वल थापा (२४) सँग दोस्रो विकेटमा ७९ रन जोडेका देव २९ औं ओभरमा आउट हुँदा टोलीको स्कोर १ सय २१ रन थियो । उनले आउट हुनुअघिको उक्त ओभरमा आकाश चन्दलाई दुई छक्का प्रहार गरिसकेका थिए र तेस्रो छक्का प्रहार गर्नेक्रममा आउट भए ।


विशालविक्रम केसीले ५१ र दुर्गेश गुप्ताले ३१ रन बनाउँदै लुम्बिनीको मध्यक्रम सम्हाले । विशालले ६९ बल खेली ४ चौका र २ छक्का तथा दुर्गेशले ३३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । आकाशले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । हेमन्त र शेर मल्लले २–२ तथा नरेन साउद र राहुल भण्डारीले १–१ विकेट लिए ।

जवाफमा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भयो । दुर्गेश गुप्ता र मोहम्मद हुसैनको स्विङ बलिङ झेल्न सुदूरपश्चिमलाई निकै गाह्रो भयो । एकै स्पेल बलिङ गर्नेक्रममा दुर्गेशले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चेर ३ र हुसैनले ८ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । त्यसपछिको ५ विकेट नै प्लेयर अफ द फाइनल अजयको नाममा रह्यो । उनले त्यसका लागि ५.३ ओभरमा २० रन खर्चे ।

लोकेश बमले सुदूरपश्चिमबाट सर्वाधिक २५ रन बनाए । उनले ३९ बल खेली ४ चौका प्रहार गरे । कप्तान खडक बोहरा ३६ बलमा ३ चौका प्रहार गरी २१, शेर १५ र नारायण जोशी ११ रनमा आउट भए । विजेता लुम्बिनीले २ र उपविजेता सुदूरपश्चिमले १ लाख प्राप्त गरे । लुम्बिनीका मोहम्मद हुसैन उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिए । उनले ७ खेलमा २१ विकेट लिएका थिए । लुम्बिनीकै देव खनाल उत्कृष्ट ब्याटरमा चुनिए । देवले ७ खेलमा ३ सय ३४ रन बनाएका थिए । उत्कृष्ट बलर ब्याटरलाई जनही १० हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

झन्डै ७ वर्षपछि पहिलो पटक यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कृत गरे । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो ।

‘अनुशासनमा सम्झौता हुँदैन’

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द पुरस्कार समारोहमा खेलाडीको अनुशासनको विषयलाई लिएर खरो रूपमा उत्रिए । पछिल्लो समय राष्ट्रिय पुरुष खेलाडी र क्यानबीच जुहारी चलिरहेको छ । पछिल्लो महिना कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले सेन्ट्रल कन्ट्र्याक्टको निर्धारणमा चित्त नबुझेपछि सञ्चारमाध्यमा गुनासो गरेका थिए । चन्दको चेतावनी यही विषयमा देखिन्थ्यो ।

‘तपार्इंहरूले उत्कृष्ट प्रदर्शन गरेको कसैले लुकाउन सक्दैन, त्यसका साथसाथै अनुशासनमा पनि रहनुस् । अनुशासन छैन भने त्यो खेलाडीको भविष्य उज्ज्वल छैन,’ यू–१९ फाइनल पुगेको दुई टोलीका खेलाडीहरूलाई सम्बोधनका क्रममा उनले भने, ‘पछिल्लो समय यदाकदा नेपाली क्रिकेटबाट संन्यास लिइसक्नुभएका केही साथीहरू या क्रिकेटमा अहिले निरन्तर खेलिरहनुभएका खेलाडी साथीहरूबाट जानेर हो वा नजानेर क्रिकेट संघका बारेमा अनर्गल कुरा गरिरहनुभएको छ, जुन मिडियामा छरपस्ट नै छ ।’

चन्दले अगाडि भने, ‘त्यसकारण म आग्रह गर्न चाहन्छु, निकै संघर्ष गरेर नेपाली क्रिकेटलाई निलम्बनबाट हामीले फेरि सही ट्र्याकमा ल्याएका छौं । अनुशासनसँग चतुरबहादुर चन्दको नेतृत्वमा रहेको क्रिकेट संघले सम्झौता गर्दैन । यू–१९ का खेलाडी भाइलाई पनि म अनुशासन नतोड्न सुझाव दिन्छु ।’

सेन्ट्रल कन्ट्र्याक्टको विषयमा खेलाडी मिडिया धाएपछि चार खेलाडीसँग क्यानले स्पष्टीकरण सोधेको थियो । त्यसयता क्यान र यी चार खेलाडीबीचको स्पष्टीकरण र प्रस्टीकरण चलिरहेको छ । त्यसमध्येका केही खेलाडीले क्यानले तोकेको समयसीमा नाघिसक्दा पनि सेन्ट्रल कन्ट्र्याक्टमा हस्ताक्षर गरिसकेका छैनन् । हालै नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा निर्वाचित चन्दले आफ्नो मन्तव्यमा यही प्रसङ्ग निकालेका थिए ।

प्रकाशित : मंसिर १९, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?