'ए' डिभिजन लिग : आर्मीको पहिलो जित

काठमाडौँ — आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भनेका छन्, ‘खेलाडी परिवर्तन गरेपछि हामीले आक्रामक खेल प्रदर्शन गरिरहेका छौं । राम्रो खेलिरहेका छौं । गोलका अवसर सिर्जना गरिरहेका छौं ।’ सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को तेस्रो चरणसम्म आर्मीको खेलमा भयो पनि त्यस्तै । परिमार्जित खेलकै परिणाम हो ब्रिगेड ब्वाइजविरुद्ध आइतबार हात पारेको १–० को जित ।

'ए' डिभिजन लिग : आर्मीको पहिलो जित

दशरथ रंगशालामा यो सिजन पहिलोपल्ट तीन अंक जोडेपछि प्रशिक्षक न्यौपानेले भने, ‘अघिल्ला दुई खेलमा पनि खेलाडी परिवर्तन गरेपछि गोलका अवसर सिर्जना गरेका थियौं तर उपयोग गर्न सकेका थिएनौं । ब्रिगेड ब्वाइजविरुद्ध पनि खेलाडी परिवर्तन गरेपछि नै अवसरहरू सिर्जना गर्‍र्यौं र यसपालिचाहिँ उपयोग गर्‍यौं र जित हात पार्न सक्यौं ।’

पहिलो खेलमा पुलिसविरुद्ध १–१ र दोस्रोमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको आर्मीले कप्तान भरत खवासको गोलमा ब्रिगेड ब्वाइजमाथि जितको यात्रालाई कायमै राखेको हो । भरतले मिडफिल्डर सन्तोष तामाङको चलाखीपूर्ण पासमा पेनाल्टी क्षेत्रभित्रबाट बललाई सहजै पोस्टको दिशा दिंदै ८५ औं मिनेटमा गोल गरे । उनले पछिल्लो संस्करण (२०७६) मा ब्रिगेड ब्वाइजविरुद्ध हात पारेको ३–० को जितमा पनि एक गोल गरेका थिए, जुन ‘ए’ डिभिजन लिगमा उनको ५० औं गोल थियो ।

अघिल्ला दुई खेलमा चार अंक जोडेको ब्रिगेड ब्वाइजविरुद्ध गत सिजनको उपविजेता आर्मीको प्रतिस्पर्धा पहिलो हाफ खल्लो थियो । दोस्रो हाफको सुरुमै जगजित श्रेष्ठ र दिनेश हेन्जनको स्थानमा युद्ध शाही र विवेक बस्नेतलाई मैदानमा पठाएको आर्मीले ६७ औं मिनेटमा टंक बस्नेत (गौतम श्रेष्ठको स्थानमा) र ८१ औं मिनेटमा आशिष लामा (जर्जप्रिन्स कार्कीको स्थानमा) लाई खेलाएको थियो । तीव्र गतिमा खेल्ने आर्मीले खेलाडी परिवर्तनसँगै खेलमा गति लियो । ब्रिगेड ब्वाइजमाथि शृंखलाबद्ध आक्रामण गर्‍यो ।

विवेकले प्रहार गरेको बललाई ६१ औं मिनेटमा ब्रिगेड ब्वाइजका मनोज राईले खाली पोस्टबाट हेडद्वारा क्लियर गरिदिए । सेसेहाङ आङ्देम्बेलाई ‘वान भर्सेस वान’ मा गोलकिपर पूर्ण चेम्जोङले ६९ औं मिनेटमा असफल पार्दै ब्रिगेड ब्जाइजको संकट टारे । सन्तोषको क्रसमा टेकबहादुर बुढाथोकीले ‘सिक्स यार्ड बक्स’ मा पाएको बल प्रहार गर्न नसक्दा आर्मीले अर्को अवसर गुमाएको थियो । टंकको कर्नरमा ८४ औं मिनेटमा विकास तामाङको ‘फ्रि–हेडर’ मा बल पोस्टबाहिर गयो । त्यसको अर्को मिनेटमै कप्तान भरतले गोलको खाता खोलेका हुन् । इन्ज्युरी समयमा टंकले पाएको सहज अवसरमा उनको हेडर सटीक नहुँदा आर्मीले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

‘हाम्रा लागि यो तीन अंक एकदमै महत्त्वपूर्ण थियो, जसले हामीलाई उपाधि होडमा अगाडि बढ्न सजिलो बनाएको छ,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘केटाहरूले मिहिनेत गरे । राम्रो खेले ।’ ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले ‘अफसाइड ट्र्याप’ मा आफ्ना खेलाडीहरू सहायक रेफ्रीलाई हेरेर दौडिँदा भरतले गोल गरेको बताए, ‘आर्मीजस्तो बलियो टिमविरुद्ध राम्रो खेल्यौं । एक अंक लिने लक्ष्य भने हासिल भएन ।’

आर्मीले तीन खेलबाट संकटा समान ५ अंक बनायो भने ब्रिगेड ब्वाइजले चार अंक जोडेको छ । सातदोबाटो युवा क्लब र मनाङ मर्स्याङ्दीले ७–७ अंक बनाएका छन् । शीर्ष श्रेणीको लिगमा नवप्रवेशी सातदोबाटो राम्रो गोल अन्तरको आधारमा शीर्षस्थानमा रहेको छ । मछिन्द्र र पुलिसले पनि बुधबार जित हात पार्न सके सातदोबाटो र मनाङसँग अंक बराबरी गर्नेछन् ।

प्रकाशित : मंसिर १९, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?