सीताले हङकङमा खेल्ने

काठमाडौँ — महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ क्रिकेट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । सीतालाई यो अवसरका लागि क्विन्स इभेन्ट म्यानेजमेन्टले सहयोग गरेको हो ।

सीताले हङकङमा खेल्ने

नेपालमै पहिलोपल्ट वुमन च्याम्पियन्स लिग क्रिकेट (डब्लूएसएल) आयोजना गरेको क्विन्स इभेन्टमार्फत नेपाली राष्ट्रिय टोलीका तीन सदस्यले सो प्रतियोगिताका लागि आवेदन दिएकामा सीता छनोट भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । क्विन्सले सीतासहित इन्दु बर्मा र सवनम राईको नाम पठाएकामा सीताको स्वीकृत भएको हो ।

अघिल्लो साता यूएईमा सम्पन्न ट्वान्टी–२० महिला विश्वकप एसिया छनोटमा नेपाल असफल रहे पनि १ सय रन बनाउनुका साथै सर्वाधिक ६ विकेट लिँदै सीता प्लेयर अफ द सिरिज बनेकी थिइन् । नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दादेखिकी सदस्य हुन् सीता । उनले नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २१ खेलमा सर्वाधिक ४ सय ३९ रन बनाउनुका साथै २१ विकेट लिएकी छन् ।

सन् २०२२ मे १ देखि १५ सम्म हङकङमा हुने उक्त प्रतियोगिताले लैंगिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्य दिएको छ । यो प्रतियोगितामा विश्वभरबाट खेलाडीहरू अनुबन्ध गरिएको छ । ६ टोलीबीच गरिने प्रतियोगितामा सीताले कुन टिमबाट खेल्ने निश्चित भइसकेको छैन । ‘प्रतियोगिता आयोजकले सीतासँग प्रतियोगिता र सुविधासहितको सम्झौता गरिसकेको छ । यसका लागि हामीले पहल गरेका थियौं । उनी कुन टिमबाट खेल्ने भन्ने आयोजकले नै पछि निर्धारण हुने भनेका छन्,’ क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले भने । भारतकी हरमनप्रित कौर,

पाकिस्तानकी साना मिर, वेस्ट इन्डिजकी डिएना डोटिनलगायतले खेल्दैछन् । नेपाली महिला क्रिकेटरले विदेशमा खेल्न लागेको थोरैमात्र इतिहास छ । रुबिना क्षेत्री र रोशनी बोहराले श्रीलंकाको डिभिजन १ मा पालिन्क (पालियन्स) क्रिकेट क्लबबाट २०१३ मा खेलेका

थिए । रुबिना नै २०१६ मा मेलबर्न रेनेगेड्सबाट बिग बास २ मा एसोसिएटको कोटामा थिए, तर कुनै खेल खेल्न पाएकी थिइनन् ।

बाँकेकी अलराउन्डर सीता नेपाली महिला क्रिकेटमा पहिलो पुस्ताकी खेलाडी हुन् । नेपालले पहिलोपल्ट सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा टिममा परेकी सीताले लामो समयको करिअरमा विदेशी प्रतियोगिता खेल्न पाउनुलाई गर्वको रूपमा लिएकी छन् । ‘१५ वर्षको मेरो अन्तर्राष्ट्रिय करिअरमा देशको प्रतिनिधित्व गरेर विदेशी प्रतियोगिता खेल्न पाउनुलाई मैले गर्वको रूपमा लिएको छु,’ सीताले पहल गरिदिएकामा क्विन्स इभेन्टलाई धन्यबाद दिइन् ।

खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सीतालाई शुभकामना दिँदै एउटा खेलाडीको सफलताले भविष्यमा समग्र महिला खेलाडीका लागि मार्गदर्शन बन्ने बताए । उनले सीतालाई प्रतियोगितामा राम्रो प्रदर्शन गर्न शुभकामना दिए । सीता र खेलकुदमन्त्री गहतराज एकै जिल्लाका हुन् ।

यसैबीच सीता र क्विन्स इभेन्टबीच एजेन्सी सेवा प्रदानका लागि पनि सम्झौता भएको छ । क्विन्सले भविष्यमा सबैजसो क्रिकेट खेलाडीलाई एजेन्सी सेवा प्रदान गर्ने गरी गृहकार्य गरिरहेको जनाएको छ । महिला खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक घरानाहरूसँग खेलाडीको पहुँच स्थापित गर्न मध्यस्थकर्ताको भूमिका खेल्नेछ । त्यस्तै अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगिताहरूमा खेलाडीलाई एजेन्सी सेवा प्रदान गर्नेछ ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?