२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
‘ए’ डिभिजन लिग

सातदोबाटोको ‘फ्लाइङ स्टार्ट’

थ्री स्टार १–१ फ्रेन्ड्स
सातदोबाटो ४–१ एपीएफ
हिमेश

काठमाडौँ — सातदोबाटो युवा क्लबले सपना देख्दा केही फरक पर्ने छैन । फुटबलमा सपना देख्ने बहादुरले नै हो । मनाङ मर्स्याङ्दीले वर्ष ०४२ मा सहिद स्मारक लिगको ‘बी’ डिभिजन जितेर लगत्तै ०४३ मा ‘ए’ डिभिजन पनि जितेको थियो । त्यतिबेला मनाङले ‘बी’ डिभिजनमा एउटै पनि खेल गुमाएको थिएन । सातदोबाटोले पनि ‘बी’ डिभिजन जित्दा कुनै पनि खेल गुमाएन ।

सातदोबाटोको ‘फ्लाइङ स्टार्ट’

के अब सातदोबाटोले यस्तै उपलब्धि हात पार्न सक्छ त ? लिगमा अझै धेरै खेल बाँकी छ र कसैलाई हतार गर्न आवश्यक छैन ।

कम्तीमा अहिले तत्काल भन्न सक्छौं, सातदोबाटोले स्वप्निल सुरुआत भने लिएको छ । खेलभाषामा भन्दा ‘फ्लाइङ स्टार्ट’ । प्रशिक्षक मेघराज केसीको नेतृत्वमा खेलिरहेको सातदोबाटोको शुक्रबारको जितमा नायक रहे नाइजेरियाली खेलाडी अजयी मार्टिन्स । उनले यस लिगमा पहिलो ह्याट्रिक गरे । अजयीले ४३ औं मिनेटमा पहिलो गोल गरे अनि पहिलो हाफ इन्ज्युरी समयको पाँचौं मिनेटमा दोस्रो गोल थपे । उनको ह्याट्रिक ५८ औं मिनेटमा पूरा भयो ।

सातदोबाटोको अर्को गोल सुशील राईको नाममा रह्यो । उनले ५० औं मिनेटमा गोल गरेका थिए । एपीएफको तर्फबाट सम्भव एकमात्र गोल आत्मघाती रह्यो । खेलको ४९ औं मिनेटमा भएको त्यो गोल करण राउतको नाममा थियो । यो पनि यस लिगको पहिलो आत्मघाती गोल रह्यो । थ्रीस्टार क्लबबाट प्रशिक्षक केसीसँगै सातदोबाटो आएका अजयीले आफ्नो तीन गोलको उपलब्धिमा खुसी व्यक्त गरे । सुरुमा उनले आफ्ना प्रशिक्षक केसीलाई धन्यवाद दिए र पछि आफ्नो उत्कृष्ट प्रदर्शनका लागि कडा मिहिनेत गरेको सुनाए ।

सायद प्रशिक्षक केसी पनि उत्साही छन् । उनले भनेका छन्, ‘अबका १० खेलमा पनि हामीले जित्नका लागि खेल्नेछौं ।’

शुक्रबार खेलको नतिजापछि यी दुई टिमले दुई फरक दिशा लिएका छन् । जहाँ सातदोबाटो ३ खेलबाट ७ अंकसहित शीर्षस्थानमा उक्लेको छ । त्यहीं एपीएफ तीनै खेलमा अंकविहीन रहेर पुछारमा झरेको छ । लिगमा एपीएफको यो लगातार तेस्रो हार हो । यस्तोमा प्रश्न उठेको छ, के यसपल्ट एपीएफ रेलिगेसनमा पर्ने छ त ?

लिगमा तीन चरणका खेल सकिँदा मात्र एपीएफको भविष्यबारे कल्पना गर्नु हतार हुनेछ । तर, स्पष्ट संकेत मिल्न थालेको छ, एपीएफले फेरि एकपल्ट संघर्ष गर्नुपर्नेछ । वर्ष ०७६ को लिगमा पनि एपीएफको प्रदर्शन कमजोर रहेको थियो । ९ अंकसहित १४ टिममध्ये १२ औं स्थानमा रहेको थियो । त्यस लिगमा एपीएफ ८ खेलमा पराजित रहेको थियो । त्यो लिगका सुरुआती तीन खेलमा एक अंक बटुलेको एपीएफले यसपल्ट त्योभन्दा खराब सुरुआत लिएको छ ।

वर्ष ०६८ को लिगयता एपीएफको यो अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो । त्यो लिगमा एपीएफ सुरुआती ५ खेलमा पराजित थियो । अहिलेको अवस्थालाई लिएर प्रशिक्षक कुमार थापा के भन्छन् त ? उनको प्रतिक्रिया छ, ‘लगातार तीन खेल हार्दा दबाब बढेको छ । हामीले तीन खेलबाट ९ अंक गुमाइसकेका छौं, लिगमा ९ अंक भनेको धेरै नै हो । हामीमाथि दबाब भनको रेलिगेसनबाट बच्ने नै हो र हामी बच्छौं पनि ।’

फ्रेन्ड्समाथि थ्रीस्टारको हाबी कमजोर हुँदै

ललितपुरका दुई क्लबबीचको पुरानो प्रतिद्वन्द्वितामा थ्रीस्टार लगभग सधैं फ्रेन्ड्समाथि हाबी रहेको छ । तर यो हाबी कमजोर हुँदै छ । गत सिजन फ्रेन्ड्सले ०४६ सालयता थ्रीस्टारलाई पहिलोपल्ट हराएको थियो । यसपल्ट बराबरीमा रोकेको छ । लिगको सुरुमा उपाधिको दाबेदार मानिएको थ्रीस्टारले तीन खेल खेलिसक्दा त्यो परिचय पनि गाढा हुन छाडेको संकेत मिलेको छ । त्यसैले होला थ्रीस्टारलाई फ्रेन्ड्सविरुद्ध बराबरी खेल्नु पनि उपलब्धि हुन थालेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा थ्रीस्टार एक गोलले पछाडि रहेको स्थितिबाट बराबरी नतिजा निकालेको हो । फ्रेन्ड्सले ५१ औं मिनेटमा नथानिल जुडे गार्सियाको गोलले अग्रता लिएको थियो । खेल सकिन सात मिनेटअगाडि मिक्चेन तामाङले बराबरी गोल फर्काए । यो खेलपछि थ्रीस्टारको ३ खेलबाट ४ अंक भएको छ । फ्रेन्ड्स भने अहिलेसम्म जितविहीन छ । दुई बराबरीपछि टोलीको २ अंक भएको छ । ललितपुरका दुई क्लबबीच ०४६ यता भएका खेलमा यो तेस्रो बराबरी हो ।

थ्रीस्टारलाई लिएर उल्लेखनीय पक्ष के छ भने अहिलेको टिमका अधिकांश सदस्यसँग कुनै न कुनै समय राष्ट्रिय टिमबाट खेलेको अनुभव पनि छ । नभएकाले पनि कुनै न कुनै समय उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका छन् । के सायद टिमलाई प्रशिक्षक उर्जेन श्रेष्ठले ठीक नेतृत्व गर्न सकिरहेका छैनन् त ? यसको उत्तर दिन उनी आफैं त अगाडि आएनन् । तर उनका सहायक रवीन्द्र सिलाकारले माने, सायद प्रशिक्षकको टिममै समस्या छ कि ?

प्रकाशित : मंसिर १७, २०७८ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?