प्रदेश १ लाई गण्डकीको झट्का

काठमाडौँ — प्रदेश १ ले गण्डकी प्रदेशलाई पराजित गरेको भए वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाउँथ्यो । पहिलो तीन खेल नै जितेर सानदार सुरुआत गरेको हिसाबमा प्रदेश १ लाई गण्डकी खासै ठूलो प्रतिद्वन्द्वी थिएन ।

प्रदेश १ लाई गण्डकीको झट्का

बिहीबार गण्डकीले प्रदेश १ लाई १ विकेटले स्तब्ध पारिदियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको प्रदेश १ केवल १ सय ३३ रनमा अलआउट हुँदा ४४.४ ओभर खेलेको थियो । गण्डकी २५ ओभरमा ९७–२ को बलियो स्थितिमा थियो । दीपेश कँडेल र लव कामतको कसिलो बलिङपछि गण्डकी ११६–९ को अवस्थामा पुग्यो ।

गण्डकी जितभन्दा १८ रन टाढा थियो । अभिनय राजवंशीले फालेको ३८ औं ओभरमा किरण पौडेलले लगातार दुई चौका प्रहार गरे । दोस्रो चौका प्रहार गर्दा नो बल भए पनि किरणले फ्री हिटको अर्को बलमा कुनै रन प्रहार गर्न सकेनन् । गण्डकीलाई जितका लागि तीन रन चाहिएको अवस्थामा ३९ औं ओभरको पहिलो बलमा सुमिरन राईले वाइडमा चौका खर्चन पुगे ।

किरण २४ बलमा २ चौका प्रहार गरी १२ र सुदीप १९ बलमा २ रन बनाई अविजित रहे । उत्सव श्रेष्ठ ४ रनमा आउट भए पनि अर्जुन कुमालले ७० बलमा ३५, दीपक डुम्रेले ५९ बलमा ३३ र मिलन क्षेत्रीले ३६ बलमा २४ रन बनाई गण्डकीलाई बलियो स्थितिमा पुर्‍याएका थिए । अर्जुनले ६, दीपकले ७ र मिलनले ३ चौका प्रहार गरे । प्लेयर अफ द म्याच दीपेश कँडेलले ४ विकेट लिए । उनले १० ओभरमा ७ मेडन राख्दै १० रनमात्र खर्चिए । लवले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ३, अभिनय र श्रवण किस्कुले १–१ विकेट लिए ।

यसअघि प्रदेश १ बाट दीपेशले नै सर्वाधिक ४६ रन बनाएका थिए । उनले १ सय १३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । सोनु अन्सारी १३, विवेकआनन्द मेहता १४, सोनु मण्डल ११ र दीपक जोशी १६ रनमा आउट भए । ओपनर लव शून्य र कप्तान अंकित १ रनमै आउट भएपछि प्रदेश १ ले सुरुदेखि दबाब खेलेको थियो । लुम्बिनीका कमल परियारले ६ ओभरमा १ मेडन राख्दै ३८ रन खर्चेर ३, सुदीप अर्यालले ७ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर २ तथा किरण, सुवास भण्डारी र कप्तान विष्णु पाण्डेले १–१ विकेट लिए ।

पछिल्लो तीन खेलमै हार भोगेपछि प्रदेश १ उपाधि दौडबाट बाहिरिएर अंकतालिकाको चौथो स्थानमा झरेको हो । अघिल्लो खेलसम्म फाइनल दौडमा रहेको प्रदेश २ मूलपानी मैदानमा कर्णाली प्रदेशसँग २ विकेटले पराजित भएपछि तालिकाको पुछारमा पुगेको छ ।

प्रकाशको ८ विकेट

प्रकाश जैसीको सनसनी बलिङमा कर्णालीले प्रदेश २ माथि २ विकेटको जित हात पार्‍यो । प्रकाशले ८ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको प्रदेश २ मात्र १३.४ ओभर खेलेर ४५ रनमै अलआउट भयो । प्लेयर अफ द म्याच प्रकाशले ६.४ ओभरमा ३ मेडन राख्दै १६ रन खर्चे । उनले अनुज चुनारासँग मिलेर एकै स्पेलमा प्रदेश २ लाई अलआउट गरे । अनुजले ७ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए ।

ओपनर सन्तोष कार्कीले ११ र सन्तोष शाहले १२ रनबाहेक अन्य दोहोरो स्कोरमा पुगेनन् । कप्तान विवेक यादव र आदिल अन्सारी शून्य र गुलशन झा १ रनमै आउट भए । विजय लक्ष्य पछ्याएको कर्णालीको हालत पनि त्यस्तै रह्यो । प्रकाशबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । प्रकाशले १० बलमा ३ चौकासहित १६ रन बनाए । प्रदेश २ बाट पनि विवेक र राजेश यादवको एकै स्पेल रह्यो । राजेशले ६.३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ६ र विवेकले ७ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

‘दोस्रो सेमिफाइनल’

सुदूरपश्चिम र वाग्मती प्रदेशबीच शुक्रबार हुने खेल राउन्ड रोबिनको अन्तिम खेलमात्र नभई ‘दोस्रो सेमिफाइनल’ सरह साबित भएको छ । सुदूरपश्चिम ५ खेलमा ३ जितसहित ६ अंकसाथ दोस्रो स्थानमा छ । लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ ।

लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जितेर फाइनल पक्का गरिसकेको छ । दोस्रो फाइनलमा पुग्ने टोली सुदूरपश्चिम र वाग्मतीबीचको खेलले निर्क्योल गर्नेछ । समान ६ अंक नै भए पनि गण्डकी र प्रदेश १ भन्दा राम्रो रनरेटका कारण सुदूरपश्चिम अगाडि छ ।

सुदूरपश्चिमले वाग्मतीलाई पराजित गरेमा फाइनलमा स्थान निश्चित गर्नेछ । वाग्मतीले ५ मध्ये दुई खेल जितेर सात प्रदेश सहभागी प्रतियोगिताको अंकतालिकामा हाल पाँचौं स्थानमा छ ।

वाग्मतीले फाइनल पुग्न सुदूरपश्चिमलाई पराजित गरेरमात्र पुग्दैन । ठूलो अन्तरको जितले मात्र वाग्मतीलाई फाइनल पुर्‍याउने छ । पहिला ब्याटिङ गरेमा वाग्मतीले ७४ रन वा सोभन्दा ठूलो अन्तरको जित निकाले फाइनल पुग्नेछ । सुदूरपश्चिमले लक्ष्य दिएको खण्डमा १ सय ९० रनसम्मको लक्ष्य ३५ देखि ३५.३ ओभर र त्योभन्दा माथिको स्कोर ३४ ओभरभित्र पूरा गरेमा मात्र वाग्मती फाइनल पुग्नेछ ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?