३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फेवा फन्कोमा फिस्टेल रेस

aपोखरा — फेवाताल र हिमाललाई घरी दाहिने र घरी देब्रे पार्दै १८ देशका २ सय धावकले शनिबार ‘फिस्टेल रेस’ मा दौडिने भएका छन् । हिमालय ट्रेल रनिङको आयोजनामा पोखरामा दोस्रोपल्ट फेवा फन्कोमा फिस्टेल ट्रेल रेस हुन लागेको हो ।

उक्त ट्रेल रेस ४२ किलोमिटर, २१ किलोमिटर र ५ किलोमिटरको इभेन्टमा हुनेछ । ट्रेल रेसमा नेपालबाहेक १७ देशका ७० धावक सहभागी हुनेछन् । ट्रेल रेसका व्यवस्थापक दीपक भट्टका अनुसार शुक्रबारसम्म सबै धावक पोखरा आइपुग्ने छन् । ४२ किलोमिटरको म्याराथन छोरेपाटनको पाताले छाँगो (डेभिज फल) बाट सुरु हुनेछ । धावकले विश्वशान्ति स्तुप, पुम्दीकोट, भुम्दी हुँदै फेवाताल पारीको घाँटछिना झर्नेछन् । त्यहाँबाट देउराली हुँदै कास्कीकोट उक्लिएर सराङकोट पुग्नेछन् । सराङकोटबाट मेथलाङ हुँदै फेवाताल किनारको सेदीमा रेस टुंगिने छ ।

२१ किलोमिटरको ट्रेल रेस डेभिज फलबाट सुरु भएर विश्वशान्ति स्तुप, चंखपुर, पँधेली, मेथलाङ हुँदै सेदीमा टुंगिन्छ । ५ किलोमिटर इभेन्ट भने सेदीबाट सुरु भएर ग्यारजाति, मेथलाङ हुँदै सेदीमै टुंगिने छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत, क्यानडा, अस्टि्रेलिया, पोल्यान्ड, जापानलगायत देशबाट धावक नेपाल आइसकेका छन् । नेपालस्थित विभिन्न देशका दूतावास र कूटनीतिक नियोगका प्रतिनिधि पनि ट्रेल रेसमा सहभागी हुनेछन् ।

व्यवस्थापक भट्टले उक्त ट्रेलमा पहिलोपल्ट दौड हुन लागेको बताए । पोखरालाई साहसिक पर्यटनको हब बनाउने अभियानस्वरुप ट्रेल रेस गरेको उनले जनाए । ‘फेवाताल वरिपरि अझै पनि मौलिक संस्कृति नियाल्न पाइन्छ,’ उनले भने, ‘हिमशृंखला, फेवाताल र यहाँको प्रकृति नियाल्दै दौडन पाउनु विदेशी धावकका लागि पनि अवसर हो ।’ पोखरामा ट्रेल रेसका लागि प्रशस्त सम्भावना भए पनि अन्वेषण गर्नै बाँकी रहेको उनी बताउँछन् । नेपाली र विदेशी धावक सँगै दौडदा एक अर्काको संस्कृति र अनुभव पनि आदानप्रदान हुने उनको ठम्याइ छ ।

हिमालय ट्रेल रनिङका सल्लाहकार सुन्दर पौडेलले हराएका गोरेटो बाटोको पुनः अन्वेषण गरेर ट्रेल रेस गरिएको बताए । उनका अनुसार भविष्यमा उक्त मार्गलाई हाइकिङका लागि प्रयोग गर्न सकिन्छ । ‘मोटरबाटोले पदमार्ग विस्थापित भइरहेको अवस्थामा पर्यटक आकर्षित गर्न ट्रेल रेस गतिलो विकल्प हुनसक्छ,’ उनले भने, ‘रमाइलो र साहसिक दुवै हिसाबले ट्रेल रेसका लागि फेवा फन्को उपयुक्त स्थल हो ।’

आगामी वर्षदेखि वार्षिक ३ देखि ४ वटा ट्रेल रेस सिरिज पोखरामा गर्ने संस्थाको तयारी छ । ग्रेट हिमालयन ट्रेलका विजेता धावक जगन तिमिल्सिनाले संस्थाको नेतृत्व गरेका छन् । फिस्टेल ट्रेलको निर्देशक भने अनुज अधिकारी हुन् । विजेतालाई पुरस्कृत गरिने बताइएको छ ।

सराङकोट क्षेत्रमा यसअघि पोखरा ट्रेल रेस सिरिज हुँदै आएको थियो । पोखराको रानीपौवा स्पोर्ट्स क्लबले वार्षिक रूपमा काहुँडाँडा क्षेत्रमा ट्रेल रेस आयोजना गर्छ । ८ हजार ९१ मिटरको अन्नपूर्ण पहिलो आरोहण भएको अवसरमा हरेक वर्ष अन्नपूर्ण आधार सिविरबाट अन्नपूर्ण म्याराथन हुने गरेको छ ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?