२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

घिसिङसँगै रग्बीको छलाङ

राजु घिसिङ

काठमाडौँ — राणा शासन कालमै नेपालमा रग्बी खेल्न थालिएको थियो । तैपनि यो खेल लामो अवधिसम्म फोहोरा दरबार र केही दूतावासमै सीमित थियो । सर्वसाधारणको पहुँचभन्दा धेरै टाढा थियो, नजिक ल्याउने प्रयास भएको थिएन । त्यसैले २०६० को दशक आइपुग्दा धेरैले भन्थे– नेपालमा पनि रग्बी खल्छ र ?

घिसिङसँगै रग्बीको छलाङ

नेपाल रग्बी संघ २०५२ सालमै स्थापना भएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता गर्नेबाहेक कागजी प्रक्रिया पूरा गर्नेबाहेक संघले केही गरेन । पूरै निस्क्रिय रह्यो । यसबीच देशमा जनआन्दोलन भयो । लोकतन्त्रसँगै गणतन्त्र आयो । त्यही अभियानमा २०५६ सालदेखि माओवादीको पूर्णकालीन सदस्यता लिँदै भूमिगत भएका टंकलाल घिसिङ पनि बाहिरी दुनियाँमा फर्किए । उनले युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङको प्रमुख स्वकीय सचिवको रूपमा खेलकुदमा ‘इन्ट्री’ गरे । तामाङ मन्त्रालयबाट बाहिरिएसँगै घिसिङको खास काम पनि सकियो । तर, उनले खेलकुद नियालिरहे ।

मन्त्रीको स्वकीय सचिव भएको तीन वर्षपछि घिसिङ नेपाल रग्बी संघको अध्यक्ष (सन् २०१२) चुनिए । निस्क्रिय रहेको संघमा सम्बन्धित व्यक्तिहरू खोजी–खोजी साधारणसभा गरेरै उनी रग्बीको नेतृत्वमा पुगेका थिए । उनलाई खेल बुझ्नै एक वर्षजति लाग्यो । त्यसपछि उनी चुप बसेनन्, एकपछि अर्को गर्दै खेल व्यवस्थापनमा ‘ट्राइ’ मार्न थाले । उनकै आगमनपछि संघले पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता आयोजना गर्‍यो, जसमा खेलाडी छनोट गर्दै राष्ट्रिय टिम बनायो र अन्तर्राष्ट्रिय रग्बीमै नेपालले ‘डेब्यु’ गर्‍यो । झट्ट हेर्दा बलको खेलजस्तै लाग्ने रग्बीमा पुरुषलाई मात्रै होइन, महिलालाई पनि उत्तिकै सक्रिय बनाइयो । नेपालका पुरुष र महिलाका दुवै राष्ट्रिय टिमले ६ वर्षयता नियमित रूपमा महादेशीय प्रतियोगिता ‘एसिया रग्बी सेभेन्स ट्रफी’ मा प्रतिस्पर्धा गरिरहेको छ । नेपाली रग्बी टिमले ओलम्पिक छनोट नै खेल्यो ।


राखेपको सदस्यसचिवमा सोमबार नियुक्त हुनुअघि दोस्रो कार्यकाल पूरा नहुँदै संघको अध्यक्षबाट राजीनामा दिएका घिसिङ भन्ने गर्छन्, ‘जबसम्म ग्रासरुट र स्कुल स्तरबाटै खेलाडी उत्पादनमा ध्यान दिइन्न तबसम्म खेलको विकास र सफलता सम्भव छैन ।’ त्यसैअनुसार योजना बनाए । संघले महिला र पुरुष दुवैमा सन् २०१४ देखि राष्ट्रिय प्रतियोगिता, क्लब च्याम्पियनसिपसँगै अन्तर स्कुल, यू–१८ प्रतियोगिता नियमित आयोजना गरिरहेको छ । प्रतियोगिता सञ्चालन र अन्तर्राष्ट्रिय सहभागितामामात्रै होइन, टिमको तयारी, खेलाडी उत्पादन र खेलको विकासमा पनि संघ प्रभावशाली देखिएको छ ।

उनले सुरुमा खेलाडी नभएपछि साथीभाइ र आफन्तलाई बोलाएर अभ्यास गराउँदै टिम तयार गरेका थिए । कोरोना भाइरसको महामारीको कारण देशमा लकडाउन हुनुअघि काठमाडौं उपत्यका, चितवन, पोखरा, कैलाली, हेटौंडाका ५५ स्कुलमा रग्बीको नियमित प्रशिक्षक हुन्थ्यो । पछिल्लो अन्तरस्कुल प्रतियोगितामा ३२ विद्यालयका टिमले प्रतिस्पर्धा गरेका थिए ।

संघले ३२ वटा जिल्ला शाखा विस्तार गरेको छ । संघले महामारीकै दौरान प्रदेश कमिटी पनि बनायो । स्कुलमा रग्बीको प्रशिक्षण दिने भनेपछि सात प्रदेशबाट ३ सय ४० स्कुल तयार भएको सूची बनेको संघका सदस्य एवं पूर्वखेलाडी विनोद लामाले बताए । श्रीलंकन प्रशिक्षक राधिका हिताराचीलाई ल्याएर राष्ट्रिय टिमलाई ट्रेनिङ दिएको संघले लेभल २ र एडुकेटर २ जनासहित प्रशिक्षकको संख्या ३० पुर्‍याएको छ भने निर्णायक १२ जना बनाएको छ । गतिविधि बढाउँदै लगेको संघले गत वर्ष विजय खड्कालाई महाप्रबन्धक नियुक्त गरेको थियो ।

क्लब च्याम्पियनसिपकै प्रभाव हुन सक्छ, पाँच क्लब (गोर्खाली, हिमालयन टाइगर, चितवन वोरिस, बडिमालिका र आकाशभैरव रग्बी क्लब) मा महिला र पुरुष दुवैमा फिप्टिन्स र सेभेन्स टिम छन् । नेपाल वुमेन्स रग्बी क्लब पनि निकै सक्रिय छ । संघले नेपालप्रति विश्व रग्बीलाई आकर्षित गर्न यही नोभेम्बर (२०२१) मा हिमालयन रग्बी फेस्टिभल आयोजना गर्ने निर्णय गरेको थियो, जहाँ फ्रान्स, जापानलगायतका १ सय बढी खेलाडी आउन इच्छुक थिए । संघले महामारीका कारण उक्त फेस्टिभल २०२२ मे महिनामा सारेको छ । संघले रग्बी रंगशाला बनाउने योजना अघि सार्दै डीपीआर तयार गरिसकेको छ ।

रग्बी विश्वकप २०१९ को ट्रफी टुर नेपालमा पनि ल्याइएको थियो । विशेष सुरक्षा र चासो दिइने यो ट्रफीको खुम्बुमा खिचिएको तस्बिरले विश्वव्यापी चर्चा पाएको थियो । त्यससँगै संघको सक्रियकै कारण हुनसक्छ सन् २०१५ मा एसिया रग्बीको एसोसिएट सदस्य भएको नेपालले २०१८ मा पूर्ण सदस्यता पायो । अक्टोबर २०२० मा आएर वर्ल्ड रग्बीको एसोसिएट सदस्यता पायो । घिसिङ पनि फड्को मार्दै दुई वर्षअघि एसिया रग्बीको कार्यसमिति सदस्य निर्वाचित भए । उनी एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’ को प्रमुख नै भए । रग्बीलाई अघि बढाउँदै घिसिङ देशकै खेलकुदको सर्वोच्च संस्थाको प्रमुख कार्यकारी भएका छन् । एउटा खेलको विकासमात्रै होइन, पदक जित्दै देशकै गौरव बढाउने खेलहरूको विकास गर्दै सुशासन कायम गर्ने अवसरमा कसरी अघि बढ्छन् ? केही समय कुर्नैपर्छ ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?