‘खेलकुदको गियर बदलौं’– घिसिङ

पदबहालीपछि सदस्यसचिव टंकलाल घिसिङले खेलकुद विकासका चरणबद्ध योजना सुनाए
कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई सही मार्गमा ल्याएर गतिशील बनाउने लक्ष्य लिएको बताएका छन् । त्यसका लागि उनले खेलकुदको सबै क्षेत्रमा परिवर्तन आवश्यक देखेका छन् ।

‘खेलकुदको गियर बदलौं’– घिसिङ

मंगलबार सिंहदरबारमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसमक्ष शपथ लिएपछि त्रिपुरेश्वरस्थित राखेप मुख्यालयमा आएर पदभार ग्रहणपछि ३७ वर्षीय यी कार्यकारीको कुरा सुन्दा नेपाली खेलकुदको राम्रै अध्ययन गरेर आएको बुझ्न गाह्रो परेन । १० वर्षे माओवादी जनयुद्धको पछिल्लो ६ वर्ष पूर्णकालीन भूमिगत रहेका उनी करिब १० वर्षयता नेपाल रग्बी संघको नेतृत्वमा थिए । राखेप सदस्यसचिव हुनुअघिमात्रै उनले संघबाट राजीनामा दिएका थिए ।

शपथ ग्रहणको समयमा गम्भीर मुद्रामा देखिएका घिसिङ थोरै बोले, धेरै सुने । उनले सुरूमै राष्ट्रिय टिम तयारीमा ध्यान दिने तथा मन्त्रालयसँगको उचित समन्वयमा काम गर्ने प्रतिबद्धता जनाए । शुभकामना दिँदै राखेप उपाध्यक्ष शिव कोइरालाले कुलमान घिसिङको विद्युत्मा दिलाएजस्तै सफलता टंकलालले नेपाली खेलकुदलाई दिलाउने विश्वास व्यक्त गरे । कुलमान र टंकलाल एकै जिल्ला (रामेछाप) का हुन् ।

राखेपमा पदबहालीपछि भने उनले खेलकुद विकासका आफ्ना चरणबद्ध योजनाहरूबारे खुलेरै कुरा गरे । राखेप सदस्यसचिवका लागि आवेदन दिँदा नै खेलकुद विकासका लागि १६ पेज लामो कार्ययोजना प्रस्तुत गरेका घिसिङले त्यसलाई आफ्नो कार्यकालमा पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

आफ्नो अनुभव, उमेर र स्वभाव पनि परिवर्तन चाहने भएका कारण सरोकारवाला सबैलाई उनले आफ्नो लयमा समाहित हुन आग्रह गरे । ‘खेल संघको नेतृत्व, खेलाडी, कर्मचारी सबै पक्षसँग छलफल गर्नेछु । हिजो जुन गतिमा खेलकुद हिँडेको थियो, त्यो गति परिवर्तन गर्नुपर्नेछ,’ एकजना खेलाडी र बलसमेत नभएको रग्बी संघलाई एक दशकबीचमा दिलाएको सफलताको सन्दर्भ पेस गर्दै उनले थपे, ‘त्यो अनुभव खेलकुदमा प्रयोग गर्न चाहन्छु । म सबै सरोकारवालासँग के भन्न चाहन्छु भने, गियर बदलौं । म त्यही पक्षमा छु । खेलसम्बद्ध सबै पक्षहरूलाई पनि त्यही भन्न चाहन्छु ।’ उनले खेलकुदको अस्तित्वमै प्रश्न उठिरहेका बेला त्यसलाई पुरानो लयमा फर्काउने आवश्यकता देखेका छन् ।

नवौं राष्ट्रिय खेलकुद आयोजना र त्यसपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण, खेलकुद ऐनको नियमावली जारी गरी खेल संघहरूको आवधिक साधारणसभा, खेल संघलाई उत्तरदायी बनाउने गरी कार्यक्रम, बेरुजु फर्स्योटजस्ता कार्यलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने घिसिङले बताए ।

‘धेरै अध्ययन गरेर आएको छु । आफूले गर्नुपर्ने कामबारे म पूर्ण जानकार छु । आर्थिक सुशासन र प्रशासनको पक्ष निकै कमजोर छ । बेरुजुमा खेलकुद बदनाम छ । यसलाई शून्य स्तरमा झार्न धेरै काम गर्नुपर्नेछ,’ उनले भने ।

तीव्र गतिमा परिवर्तन भइरहने नेपाली राजनीतिक परिदृश्यका कारण उनी आफैंलाई पनि पूर्ण कार्यकाल पदमा बिताउन पाउँछु भन्ने विश्वास छैन । खुला प्रतिस्पर्धामार्फत केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका रमेशकुमार सिलवाललाई १५ महिनामै नयाँ सरकारले बर्खास्त गरिदियो । खेलकुद मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि माओवादीकै कोटाबाट घिसिङ राखेप कार्यकारी नियुक्त भएका हुन् ।

मन्त्रीले चाहेको अवस्थामा सदस्यसचिव फाल्न पाउने नयाँ व्यवस्थाबारे नवनियुक्त सदस्यसचिवले विरोध वा समर्थन दुवै गरेनन् । विगतमा सदस्यसचिवको मनोमानी चल्ने अवस्था परिवर्तन भएर मन्त्रालयप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था चाहिँ आफूलाई ठीक लागेको उनको भनाइ छ । ‘सदस्यसचिवलाई कार्यकालको बीचमै पदमुक्त गर्नुअघि उसले गरेका काम र पूरा गरेको जिम्मेवारीको मूल्यांकन गर्ने आधारहरू पनि हुन्छन् होलान् नि त ?,’ घिसिङले प्रतिप्रश्न गरे, ‘मन्त्रालयले कार्यसम्पादन सम्झौता गर्ने भनेको छ । त्यो लक्ष्य पूरा गरेपछि तर अरू केही सोच्नुपर्छ र ? मैले राम्रो गर्दै छु भने अनावश्यक हस्तक्षेप र सोधिखोजी हुँदैन होला भन्ने अपेक्षा छ ।’

तत्कालको लक्ष्य नवौं राष्ट्रिय खेलकुद

चार वर्षे नियुक्ति लिए पनि राजनीतिक परिदृश्य हेर्दा घिसिङले सदस्यसचिवका रूपमा पूरा कार्यकाल बिताउने सम्भावना न्यून छ । यस्तोमा उनले अल्पकालीन योजनाहरू कार्यान्वयनमा ध्यान दिनसक्छन् । कोरोना महामारीका कारण नवौं राष्ट्रिय खेलकुद आयोजना मिति १ वर्ष घर्किसकेको छ । उनले भनेका छन्, मेरो मुख्य लक्ष्य नवौंको यथाशीघ्र आयोजना हुनेछ ।

‘नवौं राष्ट्रिय खेलकुद यसअघि नै हुनुपर्ने थियो । यो खेलकुद क्षेत्रमा लागेकाहरूका लागि ठूलो घाटा हो । नवौं राष्ट्रिय खेलकुद यथासक्य छिटो आयोजना गर्ने गरी काम अगाडि बढाउने छु,’ उनले थपे, ‘नवौं खेलकुदले राष्ट्रिय टिम तयारीको कुरा जोड्छ । राष्ट्रिय टिम निर्माण गरेपछि अन्तर्राष्ट्रिय सहभागिताका लागि बन्द प्रशिक्षण सुरु गर्नुपर्नेछ ।’

सन् २०२२ को सेप्टेम्बरमा चीनमा १९ औं एसियाली खेलकुद आयोजना हुँदै छ । त्यसको अर्को वर्ष पाकिस्तानमा १४ औं दक्षिण एसियाली खेलकुद हुनेछ । सदस्यसचिव घिसिङले त्यसलाई लक्षित गरी राष्ट्रिय टोलीको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘मेरो कार्ययोजनामा कम्तीमा १ वर्ष राष्ट्रिय टिम तयारीलाई समय दिनुपर्छ भन्ने थियो । एसियाली खेलकुदका लागि त्यति समय त पाइँदैन तर त्यसलाई तुरुन्तै थालियो भने गति समाउन सकिने छ ।’

नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिबारे अनुसन्धान गरेको बताउने घिसिङले त्यसको समीक्षा गरी प्राथमिकताका आधारमा तयारी र सहभागिता हुनुपर्ने बताए । ‘ओलम्पिक हाम्रो सहभागितामै सीमित छ । एसियाली खेलकुदमा पनि पछिल्ला तीन संस्करणमा हामी झनै कमजोर बन्दै गइरहेका छौं,’ उनले भने, ‘ओलम्पिक खेलहरू पहिलो प्राथमिकतामा रहनेछन् । त्यसपछि एसियाली खलकुद र दक्षिण एसियाली खेलकुदका खेलहरू प्राथमिकतामा हुनेछन् ।’

प्रकाशित : मंसिर १५, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?