यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : वाग्मतीको झिनो आस

काठमाडौँ — वाग्मती प्रदेशले मंगलबार कर्णाली प्रदेशमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने झिनो आस कायमै राखेको छ । मूलपानी क्रिकेट मैदानमा ७९ रनको विजय लक्ष्य पाएको वाग्मतीका लागि गौतम केसीले छक्का प्रहार गर्दै जित दिलाए । 

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : वाग्मतीको झिनो आस

सानो लक्ष्य लिएर आए पनि वाग्मतीले २० ओभरको चौथो बलमा ७५ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । त्यसको अर्को बलमा विपुल खनाल १ रनमै रनआउट भएपछि स्ट्राइकमा आएका उपकप्तान गौतमले प्रकाशको बलमा छक्का प्रहार गरे । गौतम ३ बलमा ७ रन बनाई अविजित रहे ।

विवेक मगर १८, उत्तम मगर ११ र क्रिस कार्की १२ रनमा आउट भए । विपिन शाही ८, फरिद खान शून्य, कप्तान प्रतिश जिसी ९, प्रशान्त महत १, स्वप्निलसिंह अधिकारी ४ रनमा आउट भए । कर्णालीका अनुज चुनाराले ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चे । प्रकाश, युनिश सिंह र सुवास ऐरले १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको कर्णाली २७.१ ओभरमा ७८ रनमा अलआउट भयो । कप्तान निश्चल रावल (१५), सन्दीप शाही (१४), विपिन रावल (१२) र रुपक दाहाल (१०) बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । प्लेयर अफ द म्याच गौतमले ४ विकेट लिए । उनले ६.१ ओभरमा ३ मेडन राख्दै १० रनमात्र खर्चेका थिए । विशाल यादवले ५ ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए । क्रिसले २ र विपुलले १ विकेट बाँडेका थिए ।

वाग्मती पाँचौं खेलमा दोस्रो जित हात पार्दै सात प्रदेश सहभागी प्रतियोगिताको अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । शीर्ष दुई टोलीले फाइनल खेल्ने प्रावधान छ । लुम्बिनी प्रदेश ८ र प्रदेश एक ६ अंकसहित पहिलो दुई स्थानमा छन् । सुदूरपश्चिम, वाग्मती, प्रदेश २ र गण्डकीको समान ४ अंक छ । ५ खेलमा एकमात्र जित हात पारेको कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ ।

सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा गण्डकीलाई ४ विकेटले हरायो । अर्जुन साउदले ६८ रन बनाउँदै सुदूरपश्चिमलाई जित दिलाए । उनले ७९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले ४ बलअगाडि २ सय १० रनको विजय लक्ष्य २ सय १२ रन बनाएर पूरा गरेको थियो । प्लेयर अफ द म्याच अर्जुन ४८ औं ओभरमा आउट भए ।

गजेन्द्र बोहरा २, नरेश भट्ट १३ र लोकेश बम १५ रनमा आउट भएपछि अर्जुनले कप्तान खडक बोहरासँग चौथो विकेटमा ५०, राहुल भण्डारीसँग छैटौं विकेटमा ६५ रनको साझेदारी गरे । खडकले ७७ बल खेल्दै ४० र राहुलले ४२ बल खेल्दै ४२ रन बनाए । दुवैले समान ४ चौका प्रहार गरे । वसन्त कार्की ११ रनमा आउट भए । गण्डकीका सुवास भण्डारीले १० ओभरमा ३ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट, सुदीप अर्यालले २ र अर्जुन कुमालले १ विकेट लिए ।

यसअघि गण्डकी ४९ ओभर खेल्दै २ सय ९ रनमा अलआउट भयो । दीपक डुम्रेले ५६ र ओपनर उत्सव श्रेष्ठले ४० रन बनाए । दीपकले ९९ बलमा ७ चौका र उत्सवले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अर्जुन १३, कप्तान विष्णु पाण्डे ११, सुवास २८, कमल परियार २० र सुजन गौतम १० रनमा आउट भए । सुदूरपश्चिमका कैलाश ऐरीले ३, आकाश चन्द र गजेन्द्र बोहराले २–२ तथा नारायण जोशीले १ विकेट लिए ।


प्रकाशित : मंसिर १४, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?