आर्मीको बलियो डिफेन्स- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सहिद स्मारक लिग

आर्मीको बलियो डिफेन्स

राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो चरणसम्मको प्रदर्शन हेर्ने हो भने डिफेन्डिङ च्याम्पियन मछिन्द्र नै सबैभन्दा राम्रो टिम देखिएको छ । यो सिजन नाम चलेका युवा, अनुभवी र विदेशी खेलाडीको लामो सूची बनाएको क्लब मछिन्द्र नै हो । तैपनि मछिन्द्रले दशरथ रंगशालामा आर्मीको चुनौती पन्छाउन सकेन ।

सोमबार गोलरहित सकिएको खेलबारे मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘उपाधि जित्ने होडका दुई टिमबीचको महत्त्वपूर्ण खेलमा सोचेअनुरूप खेल्न सकेनौं । पहिलो हाफमा पाएका दुई अवसर उपयोग भएन र बराबरीमा चित्त बुझाउनुपर्‍यो ।’

रञ्जित धिमालको पासमा नुर्लान नाभरुजोभको ‘ट्यापिङ’ मा आर्मीका गोलकिपर विकेश कुथुले मुस्किलले बल रोक्दै २६ औं मिनेटमा मछिन्द्रलाई अगाडि बढ्न रोकेका थिए । त्यसैमा सुनील बलले प्रहार गरेका थिए । यसमा विकेशले राम्रो बचाउ गरेपछि सन्तोष तामाङले गोललाइनबाट बल क्लियर गरिदिए । त्यसबेला विंगर सुदील राईले चोट बोक्दै मैदान छाडेपछि आर्मी १० खेलाडीमा खेलिरहेको थियो ।

निर्धारित ९० तथा इन्ज्युरीको आठसहित कुल ९८ मिनेटसम्म बलमाथि पकड राख्न मछिन्द्र सफल भयो । तर टोलीका हरेक प्रयासमा बल आर्मीको पेनाल्टी क्षेत्र वरिपरि पुगेपछि पूर्णविराम लाग्थ्यो । अर्थात्, आर्मीको डिफेन्स संगठित देखियो र राम्रो प्रदर्शन गर्‍यो । यसबारे प्रशिक्षक कटुवालले भने, ‘आर्मी राम्रो टिम हो । उसको फिटनेस राम्रो हुन्छ र सधैं ‘सेट टिम’ हुन्छ ।’

उनले थपे, ‘आर्मीविरुद्ध जहिले गाह्रो हुन्छ, जुनै टिमलाई पनि गाह्रो हुन्छ । उसले पुलिससँग भन्दा (पहिलो चरण) धेरै राम्रो खेल्यो, उत्कृष्ट खेल्यो ।’ उनको टिमले पहिलो चरणमा सुनीलको दुई गोलसँगै एनआरटीलाई २–१ ले हराएको थियो भने आर्मीले पुलिससँग १–१ खेलेको थियो ।

मछिन्द्रले यही दशरथ रंगशालामा पछिल्लो संस्करण (२०७६ साल) को अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर पहिलोपल्ट लिगको उपाधि जितेको थियो । उक्त खेलमा मछिन्द्रलाई जित अनिवार्य थियो भने आर्मीलाई हार टार्न सके उपाधि पक्का थियो । यस्तोमा मछिन्द्रले सफलता हात पारेको थियो । मछिन्द्रले सोमबार त्यो हारको बदला लिन चाहेको थियो । यसपालि दोस्रो चरणमा यी दुई टिम भिड्नुपर्‍यो । प्रस्ट तीन अंक जोड्ने अभिायनमा रहेका दुवै टिमको प्रतिस्पर्धा केही ‘फिजिकल’ पनि भयो ।

लगातार दोस्रो बराबरीपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘तीन अंक धेरै महत्त्वपूर्ण थियो । हामीले जसरी पनि लिन ३ अंक सकेको भए हामी अगाडि जाने थियौं । तर, अझै पनि केही बिग्रेको छैन ।’ एक अंकमा सन्तुष्ट नरहेको उल्लेख गर्दै उनले भने, ‘हामीले डिफेन्समा धेरै राम्रो खेल्यौं । तर, आक्रमणमा संयोजन मिलेन । स्कोरिङको स्पष्ट अवसर बनाउन सकेनौं । ७० मिनेटपछि आक्रमणमा अघि बढ्ने योजना थियो । तर, दुई खेलाडी पहिलो हाफमै घाइते भएपछि गाह्रो भयो । ७० मिनेटपछि ३ खेलाडी परिवर्तन गरेपछि एट्याकिङमा राम्रो भयो तर मौका उपयोग गर्न सकेनौं ।’

डिफेन्डर विकास खवास र फरवार्ड नवयुग श्रेष्ठलाई चोटका कारण गुमाएको आर्मीले घाइते भएका सुदीलको स्थानमा २८ औं मिनेटमा जगजित श्रेष्ठलाई मैदानमा पठाइएको थियो । विंग्स ब्याक सुमन अर्यालले पनि चोटकै कारण पहिलो हाफको इन्ज्युरी समयमै मैदान छाडेका थिए । उनको स्थान टेकबहादुर बुढाथोकीले लिए । त्यसैले आर्मीले खेलाडी परिवर्तनको अन्तिम अवसर (तेस्रोपल्ट) मा डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत र फरवार्ड जर्जप्रिन्स कार्कीलाई निकाल्दै डिफेन्डर युद्ध शाही, मिडफिल्डरद्वय टंक बस्नेत र दिनेश हेन्जनलाई मैदानमा प्रवेश गराइएको थियो । त्यसपछि मात्रै आर्मीले मछिन्द्रमाथि केही दबाब दिएको थियो ।

'स्कोरिङमै समस्या'

‘स्कोरिङमै समस्या छ,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘फोकस स्कोरिङमै गरिरहेका छौं । तर, त्यो गेममा आइरहेको छैन । यसले फरक पार्छ । कुरा उपाधि होडको गर्ने तर यता गोल नगर्ने हो भने औचित्य नै हुँदैन ।’ उनले आर्मीको ‘हाई–इन्टेन्सिटी’ मा खल्ने शैलीमा जगजित अभ्यस्त भइनसकेको पनि बताए ।

मछिन्द्रले दोस्रो हाफमा मनीष डाँगी, विमल र मिडफिल्डर उत्सव राई मैदानमा प्रवेश गरे पनि गोल निकाल्न सकेन । मछिन्द्रका समस्या पनि स्कोरिङमै भएको प्रशिक्षक कटुवालले भने, ‘हामीसँग विशुद्ध स्ट्राइकर नभएकाले पनि गोल गर्न नसकेको हो । हामीलाई सेन्टर फरवार्डको खाँचो छ । रेजिन सुब्बा (चोट लागेका) लाई अझै एक महिना लाग्छ । विमल (घर्तीमगर) पूर्ण फिट छैनन् । विदेशी पनि विशुद्ध सेन्टर फरवार्ड होइनन् । मैत्रीपूर्ण खेलमा ह्यामस्ट्रिङमा समस्या भएका नुर्लानले शतप्रतिशत दिन सकेका छैनन् । अभिषेक (रिजाल) ट्रेनिङमा राम्रो गरे पनि लिगका दुईटै खेलमा खासै खेल्न सकेका छैनन् ।’

मनाङलाई फाइदा

आर्मीसँग मछिन्द्रले अंक बाँडेको प्रत्यक्ष फाइदा मनाङ मर्स्याङ्दीलाई भयो । दोस्रो चरणको समाप्तिमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम बनेको मनाङ ६ अंकसहित शीर्षस्थानमा छ । आर्मीसँग रोकिएपछि मछिन्द्र ४ अंकमै

सीमित भयो ।

सोमबारको पहिलो खेलमा एनआरटीविरुद्ध गोलरहित नतिजा निकालेको ब्रिगेड ब्वाइजसँगै संकटा, पुलिस र सातदोबाटो युवा क्लबले पनि ४–४ अंक जोडेका छन् । दुवै खेल हारेका एपीएफ र जावलाखेल रेलिगेसन क्षेत्रमा छन् ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिले जानेको, नेताले नछानेको व्यक्ति हुँ : बिन्दा पाण्डे

'पुरूष भएर जन्मँदा उत्कृष्ट, महिला भएर जन्मँदा त्योभन्दा अलि तल, लैंगिक अल्पसंख्यकको पहिचान बनाउँदा अमानवीय व्यवहार गर्ने व्यक्ति नेतृत्व तहमा अझै हाम्रो पार्टीमा हुनुहुन्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले महाधिवेशनमा एकतिहाइ महिला सहभागिता हुनुपर्ने माग गरिरहेका महिला नेताहरुमा उत्साह घटेको छ । सहमतिका नाममा पदाधिकारीमा महिला सहभागिता अपेक्षित नभएको गुनासो आइरहेकै बेला नेता बिन्दा पाण्डेसँग गरिएको कुराकानी :

पदाधिकारीमा एकतिहाइ महिलाको दाबी थियो, त्यो त भएन नि ?

निर्वाचनमा जाने स्थितिमा एकतिहाइ उम्मेदवारी दिने तयारी थियो तर जान पाएनौं । हलले सूची तयार गर्ने सर्वाधिकार अध्यक्षलाई दियो । उहाँले जोजो सहज हुन्छन्, उनीहरूलाई टिममा राख्नुभयो । त्यसको विपक्षमा जानुको खास अर्थ थिएन । हलमा प्रस्तुत भएको सूचीमा अरूले फाराम भर्ने भनेको असहमति देखाउन हो । हामीले जुन सहभागिताको कुरा गरेका थियौं, त्यो असहमति देखाउन होइन । त्यो पदमा रहेर काम गर्न सक्छौं भनेर दाबी गरेका हौं । सबै क्षेत्रमा काम गर्ने महिलामा एकता गरौं भनेका थियौं, त्यो भएन । त्यो

कमजोर पक्ष पनि रह्यो । महाधिवेशन स्थलमा आइसकेपछि जुन दाबी गरेका थियौं, अधिकांश प्रतिनिधिले ठीक गर्नुभयो भनेका थिए । निर्वाचन भएको भए हामी सफल हुन्थ्यौं । कसरी ?

तीन साताअघि महिला सहभागिताको कुरा के छ भनेर शीर्ष नेतालाई सोधेका थियौं । क्लस्टरमा ७३ जना थियो, २ जना पुगेन । निर्वाचन आयोगका साथीहरूले ७५ पुर्‍याउनुपर्छ भन्नुभयो । त्यसबेला एक जना पदाधिकारीमा आउनुहुन्छ भन्नुभएको थियो । हामीले दाबी गर्नुपर्छ, काम गर्न सक्छौं भनेर पार्टीले थाहा पाउनुपर्छ । महाधिवेशनबाट जिम्मेवारी लिएर काम गर्नुपर्छ भनेर हामीले दाबी गर्‍यौं । त्यो कुरा पार्टीभित्र र बाहिर सन्देश थियो ।

अध्यक्ष केपी शर्मा ओलीले हलमा सूची प्रस्तुत गर्दा किन विरोध गर्नु भएन ?

मैले जुन पद (उपमहासचिव) दाबी गरेको थिएँ, निर्वाचन गरे त्यसमा प्रतिस्पर्धा गरेर राम्रै परिणाम निकाल्छु भन्नेमा म ढुक्कै थिएँ । हामीले सूची बनाउँदा आउँछ भन्ने अपेक्षा थिएन । निर्वाचन भएको भए पाँच जनाले उम्मेदवार दिने तयारी गरेका थियौं, पाँचै जना प्रतिस्पर्धामा जान्छौं भन्नेमा हामीलाई विश्वास थियो ।

तपाईं पदाधिकारीमा किन पर्नु भएन ?

प्रतिनिधिले जानेको, नेताले नछानेको व्यक्ति हुँ म । अधिकांश प्रतिनिधि साथीको पछि नहट्नुस् भन्ने सन्देश थियो । तीन जना महासचिवमध्ये मैले उम्मेदवारी दिन पाएको भए नतिजा सकारात्मक आउँथ्यो ।

तपाईंलाई अन्याय भएको जस्तो लाग्दैन ?

म अन्यायविरुद्ध जुझ्ने भनेर आन्दोलनमा लागेको हुँ । जुन समुदायको कुरा उठाउँछु, त्यो समुदायले हाम्रो प्रतिनिधित्व गर्नुपर्छ है भनेर भनिराख्छ नि । पुरुष भएर जन्मँदा उत्कृष्ट, महिला भएर जन्मँदा त्योभन्दा अलि तल, लैंगिक अल्पसंख्यकको पहिचान बनाउँदा अमानवीय व्यवहार गर्ने व्यक्ति नेतृत्व तहमा अझै हाम्रो पार्टीमा हुनुहुन्छ । पितृसत्ताको जडलाई हाम्रो नेतृत्व तहले हटाउन सकेको छैन । एकतिहाइ महिला सहभागिताको कुरा उठायौं, शीर्ष नेतृत्व तहले महिला साथीहरूलाई ‘धेरै महिलावादी नहोऔं’ भन्ने अभिव्यक्ति दिँदा उहाँहरूको पितृसत्तामा धक्काचाहिँ लागेको छ । तर जुन तहको धक्का लाग्नुपर्थ्यो, हाम्रो आन्दोलनले दिन सकेको छैन ।

नेताहरूको चाकरी गर्ने रोग महिलाहरूमा पनि सरेको हो र ?

योचाहिँ समाजको एक खालको प्रवृत्ति हो । यसलाई लिंग छुट्याएर हेर्न हुँदैन । तर अहिलेको संस्कार वरिपरि घुमिराखेर झुकेर नमस्कार गरिदिएदेखि, प्रतिकार नगरिदिएदेखि, नेतृत्वले जे भन्छ, त्यसलाई हस् हजुर भनेपछि ती व्यक्ति नजिकको कार्यकर्ता हुने देखिन्छ । ती व्यक्तिले दिएको जिम्मेवारीको काम गर्छ भन्ने मान्यता स्थापित भएको छ ।

अझै महिला सहभागिता बढ्ने सम्भावना छ ?

महाधिवेशन हलको अनुमतिअनुसार अध्यक्षले आफूलाई काम गर्न सहज हुने टिम बनाउनुभयो । नवौं महाधिवेशनदेखि नै यो टिम भयो भने मलाई काम गर्न सहज हुन्थ्यो भनेर अघि बढाइएको तर त्यतिबेला सफलता नपाएका साथीलाई अहिले तत्तत् ठाउँमा समावेश गरे टिम बनाउनुभएको छ । स्थायी र पोलिटब्युरो बनाउँदा आफ्नो सहजताका आधारमा टिम बनाउनुस् तर परिणाम निकाल्नुस् भन्छु म ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×