कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डेब्युमै रवीन्द्रको प्रशंसा

एएफपी

कानपुर — न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध सोमबार बराबरीमा टुंगिएको पहिलो टेस्टमा बहादुरीपूर्ण प्रदर्शनका लागि डेब्यु गरेका खेलाडी रचिन रवीन्द्रको प्रशंसा गरेका छन् । भारतको उच्चस्तरीय स्पिन आक्रमणविरुद्ध रवीन्द्रले डटेर खेले र न्युजिल्यान्ड नाटकीय रूपमा बराबरी नतिजा निकाल्न सफल रह्यो । आठौंक्रममा ब्याटिङ गर्न आएका रवीन्द्र १८ रन बनाएर नटआउट रहे । उनले अजाज पटेलसँग मिलेर भारतलाई निराश पारे ।

डेब्युमै रवीन्द्रको प्रशंसा

जितका लागि २ सय ८४ रन पछ्याइरहेको न्युजिल्यान्डले पाँचौं तथा अन्तिम दिनको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । वेलिङ्टनमा जन्मेका भारतीय मूलका खेलाडी रवीन्द्र ब्याटिङका लागि क्रिजमा ओर्लिंदा न्युजिल्यान्ड ७ विकेट गुमाएर १ सय ३८ रनको खराब स्थितिमा थियो । उनले केली जेमिसन र टिम साउथीसँग मिलेर भारतीय बलिङ आक्रमण रोके । उनको प्रदर्शनका कारण भारत दुई टेस्टको सिरिजमा अग्रता लिनबाट चुक्यो ।

विलियम्सनले भने, ‘डेब्यु गरिरहेका रवीन्द्रसँगै अजाजले बहादुरीपूर्वक केही ओभरको सामना गरे । मैदानमा प्रकाश पर्याप्त थिएन र भारतीय स्पिन आक्रमण विश्वस्तरीय थियो । यस्तोमा उनीहरूले निकै राम्रो खेले ।’ आफ्नो बायाँहाते स्पिन आक्रमण मद्दतमा कुनै विकेट लिन असफल रहे पनि २२ वर्षीय रवीन्द्रले आफूलाई ब्याटबाट सिद्ध गरे । उनले सुस्त र बलले उचाइ दिन छाडेको पिचमा ९१ बल सामना गरे । भारतका लागि रवीन्द्र जडेजा र रविचन्द्रन अश्विनले सात विकेट लिए ।

रवीन्द्र प्रथम श्रेणीको क्रिकेटमा माथिल्लो क्रममा ब्याटिङ गर्छन् । उनीबारे कप्तान विलियम्सनले थपे, ‘उनको आगमनले हाम्रो टिममा एक अलराउन्डर थपिएको छ । उनले जस्तो क्रिकेट खेले, त्यसलाई उनले आफ्नो पूरा जीवन सम्झनेछन् । उनले बहुमूल्य अनुभव बटेलेका छन् ।’

न्युजिल्यान्डको संघर्ष भने टम लाथममा टिकेको थियो । उनले ५२ रन बनाए । उनले नाइटवाचम्यान विलियम समरभिलसँग ७६ रनको साझेदारी गरे । लाथमले पहिलो इनिङ्समा ९५ रन बनाएका थिए । समरभिलले भने १ सय १० बलमा ३६ रन बनाए । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ठोस प्रदर्शन गरे । उनले भारतको पहिलो इनिङ्समा ६९ रनमात्र खर्चेर ५ विकेट लिएका थिए । अब दोस्रो तथा अन्तिम टेस्ट शुक्रबार मुम्बईमा हुनेछ ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?