१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

लुम्बिनी फाइनल नजिक

काठमाडौँ — लगातार तेस्रो जितपछि लुम्बिनी प्रदेश सोमबार वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । लुम्बिनीले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शीर्षस्थानको प्रदेश १ लाई ६ विकेटले पराजित गर्‍यो ।

लुम्बिनी फाइनल नजिक

लुम्बिनीको ५ खेलमा यो चौथो जित हो । जितपछि प्रदेश १ लाई उछिन्दै लुम्बिनी शीर्षस्थानमा उक्लेको छ । आफ्नो दोस्रो खेलमा कर्णालीसँग १ सय ४० रनले पराजित लुम्बिनीले अन्तिम खेलमा प्रदेश २ सँग खेल्दै छ । त्यो जितेमा लुम्बिनी फाइनल पुग्नेछ । आफूअनुकूल नतिजा आएमा लुम्बिनी त्यसअघि नै पनि फाइनल पुग्न सक्छ ।

पहिलो ३ खेल जितेको प्रदेश १ ले चौथो खेलमा आएर हार सामना हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको प्रदेश १ केवल ३७.२ ओभरमा १ सय ६ रनमै अलआउट भयो । गौरव कटुवालले १९, दीपक जोशीले १८ र राकेश शाहले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । मोहम्मद हुसैनले ५ विकेट लिँदै प्रदेश १ लाई धराशायी बनाए । उनले प्रतियोगितामा दोस्रो पटक ५ वा सोभन्दा बढी विकेट लिए । दुर्गेश गुप्ताले पहिलो ओभरमै सोनु अन्सारीलाई आउट गरे । हुसैनले अर्का ओपनर कप्तान अंकित सुवेदीलाई पहिलो ओभरमै शून्यमा आउट गरेपछि प्रदेश १ को पतन सुरु भयो ।

हुसैनले अंकितसहित लव कामत (८), दीपक, दीपेश कँडेल (६) र सोनु मण्डल (२) लाई आउट गरे । उनले सो क्रममा १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चे । वासिर अहमदले ८.२ ओभरमा ४ मेडन राख्दै ९ रन खर्चेर ३ र दुर्गेशले ७ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।

लुम्बिनीले २३.३ ओभरमा १ सय १० रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । वासिरले गौरवलाई २४ औं ओभरको पहिलो बलमा छक्का तथा दोस्रो तथा तेस्रो बलमा चौका प्रहार गर्दै विजयी रन बटुले । उनी १६ बलमा ३ चौका र १ छक्का प्रहार गरी २४ रनमा अविजित रहे । आकाश त्रिपाठीले १३, कप्तान देव खनालले ३१ बलमा ३ चौका र १ छक्कासहित २५, विशालविक्रम केसीले ३० बलमा ३ चौकासहित २६ र विराट भण्डारीले २६ रन बनाए । प्रदेश १ का दीपेशले २ तथा गौरव र लवले १–१ विकेट लिए ।

मूलपानीमा भएको खेलमा गण्डकीले प्रदेश २ माथि ५५ रनको अप्रत्याशित जित हात पार्‍यो । यसअघिका तीनमध्ये दुई खेल जित्दा २ सय ५० रनभन्दा माथिको विजय लक्ष्य पूरा गरेको प्रदेश २ सोमबार १ सय ५७ रनको विजय लक्ष्य लिएर आउँदा २२.५ ओभरमा १ सय १ रनमा अलआउट भयो । कमल परियार ५.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिई प्लेयर अफ द म्याच बने । सुवास भण्डारीले ९ ओभरमा ३ मेडन राख्दै ३० रन खर्चेर ३ र किरण पौडेलले ५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । प्रदेश २ बाट तृतराज दासले ४१ बलमा २ चौका र २ छक्कासहित ३१, रोहन विकले २३, आदिल अन्सारीले १९ र कप्तान विवेक यादवले १० रन बनाए ।

यसअघि गण्डकीबाट अर्जुन कुमालले सर्वाधिक ४७ रन बनाए । उनले ८८ बल खेल्दै ७ चौका प्रहार गरे । सन्देश सुनार २६, सचिनराज अधिकारी र कमलले समान १४ तथा प्रशान्त सिंहले १० रन बनाए । विवेकले ९ ओभरमा २ मेडन राख्दै २० रन खर्चेर ५ र गुलशन झाले ७.४ ओभरमा ३१ रन खर्चेर ३ तथा अजय यादव र प्रदीप पासवानले १–१ विकेट लिए । गण्डकीको ४ खेलमा यो दोस्रो जित हो ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?