सन्तोषको शतकमा प्रदेश २ को जित
काठमाडौँ — सन्तोष कार्कीको शतकमा प्रदेश नम्बर २ ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार वाग्मती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । तीन खेलमा दोस्रो जित हात पारेपछि प्रदेश २ तेस्रो स्थानमा उक्लिएको छ ।
सन्तोषले १ सय ११ रन बनाएपछि प्रदेश २ ले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४१ ओभरमा २ सय ५५ रन बनाउँदै विजय लक्ष्य पूरा गर्यो । सन्तोषले १ सय १५ बल खेली १४ चौका र ३ छक्का प्रहार गरे । उनले रोहन विकसँग पहिलो विकेटमा १३ ओभरमा ६४ रन जोडी प्रदेश २ लाई राम्रो सुरुआत दिलाए ।
रोहनले ६ चौका प्रहार गरी ३९ बलमा २६ रन बनाए । तृतराज दास १ र अमित यादव ७ रनमा आउट भए पनि कप्तान विवेक यादवले अविजित ८६ रन बनाउँदै प्रदेश २ लाई जित दिलाए । विवेकले ७३ बल खेली ६ चौका र ७ छक्का प्रहार गरे । सन्नी शाह ९ रनमा अविजित रहे । वाग्मतीका तिलक भण्डारीले २ तथा प्रतिश जीसी र प्रशान्त महतले १–१ विकेट लिए ।
यसअघि स्वप्निलसिंह अधिकारी र विपिन शाहीको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको वाग्मती ४९.३ ओभरमा २ सय ५३ रनमा अलआउट भएको थियो । दोस्रो अन्तिम ओभरमा आउट हुनुअघि स्वप्निलले ८३ बल खेली ६ चौका र ५ छक्कासहित ८५ रन बनाए । ओपनर विपिनले पनि ८३ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । फरिद खान र विवेक मगर समान ११, प्रशान्त महत ६, प्रतीक श्रेष्ठ १५, प्रतिश जीसी ९, गौतम केसी ८ रनमा आउट भए । प्रदेश २ का पुरज ढुंगेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर ३ तथा विवेक, गुलशन झा, अजय यादव र प्रदीप पासवानले समान १–१ विकेट लिए ।
सुदूरपश्चिमको पहिलो जित
सुदूरपश्चिमले पहिलो जित हात पारेको छ । मूलपानीमा भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई १० विकेटले पराजित गर्यो । पहिला ब्याटिङमा निम्त्याइएको कर्णाली १६.५ ओभरमा ६६ रनमै अलआउट भयो । प्रकाश जैसी १५, रमेश बुढा १२ र रूपक दाहाल ११ बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमका आकाश चन्द, नारायण जोशी र शेर मल्लले ३–३ विकेट लिए ।
खडक बोहराले ४२ बलमा ४१ र नरेश भट्टले ३१ बलमा १६ रन बनाएपछि सुदूरपश्चिमले १२.१ ओभरमा लक्ष्य पूरा गर्यो । खडकले ५ चौका र २ छक्का तथा नरेशले ३ चौका प्रहार गरे ।
वाग्मती, सुदूरपश्चिम, कर्णाली र गण्डकीको १–१ जित रहेको छ । वाग्मती र कर्णालीले ४–४ तथा सुदूरपश्चिम र गण्डकीले ३–३ खेल खेलेका छन् । प्रदेश १ र लुम्बिनी प्रदेश ६–६ अंकका साथ पहिलो दुई स्थानमा छन् ।