भारतद्वारा न्युजिल्यान्डलाई कठिन लक्ष्य

एएफपी

कानपुर — भारतले न्युजिल्यान्डसामु पहिलो टेस्टको चौथो दिन आइतबार जितका लागि २ सय ८४ रनको लक्ष्य दिएको छ । भारतीय पुछारका ब्याट्सम्यानले बलियो प्रदर्शन गरेपछि घरेलु टिम चुनौतीपूर्ण लक्ष्य तयार पार्न सफल भएको थियो । यसअघि न्युजिल्यान्डले भारतको माथिल्लो क्रमलाई सस्तोमा समेटेको थियो । रविचन्द्रन आश्विनले दोस्रो अन्तिम ओभरमा विल योङको विकेट लिए र उनले खालि दुई रन मात्र बनाउन सके ।

भारतद्वारा न्युजिल्यान्डलाई कठिन लक्ष्य

तर उनले आफ्नो विकेट गुमाएको स्थिति भने दुर्भाग्यपूर्ण रह्यो । न्युजिल्यान्डको पहिलो इनिङ्समा ८९ रन बनाएका योङले समयमै रिभ्यु लिन सकेनन् । अन्यथा आश्विनको बलले स्टम्प छुने थिएन । अब अन्तिम दिनको खेलमा टम लथानले दुई रनबाट अगाडि खेल्नेछन् र टिम एक विकेट गुमाएर चार रनको स्थितिमा छ ।

उनलाई साथ दिइरहेका स्पिनर विलियम समरभेलले खाता खोलेका छैनन् । भारतको पहिलो इनिङ्समा ‘डेब्यु’ शतक बनाएका श्रेयस ऐरले दोस्रो इनिङ्समा पनि अर्धशतक बनाए । उनले आश्विन र रिद्धिमान साहसँग दुई महत्त्वपूर्ण साझेदारी गरे । श्रेयसले ६५ रन बनाए । रिद्धिमन भने ६१ रनमा अविजित रहे र भारतले चिया सत्रपछि सात विकेट गुमाएर २ सय ३४ रनमा आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्‍यो । भारतले दिनको सुरुआत एक विकेट गुमाएर १४ रनको स्थितिमा गरेको थियो र त्यति बेला घरेलु टिमलाई ६३ रनको अग्रता प्राप्त थियो । अक्षर पटेलले पाँच विकेट लिएपछि न्युजिल्यान्ड शनिबारको खेलमा २ सय ९६ रन बनाएर अलआउट भएको थियो ।

तर न्युजिल्यान्डका केली जेमिसन र टिम साउथीले घातक बलिङ गर्दै खेल आफ्नो पक्षमा मोडे । त्यस स्थितिमा भारत पाँच विकेट गुमाएर ५१ रनको स्थितिमा पुगेको थियो । श्रेयसले आश्विनसँग ५२ रनको साझेदारी गर्दै टिमलाई संकटबाट मुक्त गरे । आश्विन जेमिसनको बलमा ३२ रन बनाएर आउट भए । जेमिसनले चेतेश्वर पुजारालाई २२ रनमा आउट गर्दै भारतको माथिल्लो विकेटको पतन सुरु गरेका थिए । भारतले ४१ रन बनाउँदासम्म निमित्त कप्तान अजिन्के रहानेलाई पनि गुमाएको थियो ।

त्यसपछि साउथीको विकेट लिने पालो थियो र उनले आफ्नो मेडन ओभरमा दुई विकेट लिए । अनुभवी बलरले मयन्क अग्रवाललाई १७ बलमा आउट पारे । उनी दोस्रो स्लिपमा टम लथानबाट समातिए । लगत्तै उनले अलराउन्डर रविचन्द्र जडेजालाई शून्यमा आउट पारे र भारत खराब स्थितिमा पुगेको थियो । चिया सत्रसम्म पुग्दा सम्हालिएको भारत सात विकेट गुमाएर १ सय ६७ रनमा पुगेको थियो । श्रेयस आफैं पनि साउथीको सिकार बने ।


प्रकाशित : मंसिर १३, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?