कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपाल फेरि असफल

विश्वकपको ग्लोबल छनोटमा पुग्न जित्नैपर्ने खेलमा नेपालले यूएईलाई नतिजा सुम्पियो

काठमाडौँ — नेपालले ट्वान्टी–२० महिला विश्वकप एसिया छनोट प्रतियोगिता जित्ने मौका गुमाएको छ । दुबईमा भइरहेको प्रतियोगिताको राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललाई आइतबार घरेलु टोली यूएईले ४८ रनले पराजित गर्‍यो ।

नेपाल फेरि असफल

ग्लोबल छनोटमा पुग्न जित्नैपर्ने खेलमा नेपालले निकै कमजोर प्रदर्शन गर्‍यो । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाई १ सय २७ रन बनायो । छनोट हुन नेपालले यो खेल १८.४ ओभरमा जित्नुपर्ने थियो । तर आईसीसी एकेडेमी मैदानमा नेपाल १९.४ ओभरमा ७९ रनमा अलआउट भयो ।

यूएई सबै ५ खेल जितेर विजेता बनी २०२२ मा हुने ग्लोबल छनोटमा पुगेको छ । नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गर्न सकेको भए विजेता बन्ने थियो । तर हारले नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । कुवेतलाई आफ्नो अन्तिम खेलमा ३५ रनले पराजित गरेको हङकङ दोस्रो स्थानमा उक्लेको छ ।

अपराजित रहेको यूएईले १० अंक बटुल्यो । हङकङ ८, नेपाल ६, मलेसिया ४ र भुटान २ अंकसहित दोस्रोदेखि पाँचौं स्थानमा रहे । कुवेतले सबै ५ खेलमा पराजय भोग्यो । पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटान, कुवेत र मलेसियालाई हराएर उपाधि दौडमा यूएईसँग उभिएको थियो । प्रतियोगितामा नेपाल आईसी महिला ट्वान्टी–२० को हिसाबमा उच्च वरीयताको टिम थियो ।

पहिलो ओभरमा कविता कुँवरले इशा ओजालाई ४ रनमा बोल्ड गरे पनि नेपालका लागि त्यो खुसी लामो समय रहेन । थिर्थ सतिश र कभिसा इगोडजेले दोस्रो विकेटमा ५८ रनको साझेदारी गरे । इगोडजेले २७ बलमा १ चौकासहित २२ र सतिशले ४६ बल खेली ३ चौका प्रहार गर्दै ४७

रन बनाए । चमानी सेनेभिरत्नाले ३६ बलमा ७ चौका प्रहार गर्दै ५२ रन बनाई यूएईलाई मजबुत स्थितिमा पुर्‍याइन् ।

सेनेभिरत्नालाई अन्तिम ओभरमा कविताले बोल्ड गरिन् । दुई विकेट लिनेक्रममा कविताले ४ ओभरमा २१ रन खर्चिइन् । सबनम राई, सीता रानामगर र संगीता राईले १–१ विकेट लिए ।

नेपालबाट ओपनरद्वय सीता र इन्दु बर्माले क्रमशः १३ र १५ रन बनाए । यी दुईबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सीताले ३ र इन्दुले १ चौका प्रहार गरिन् । त्यो बाहेक नेपाली खेलाडीले प्रहार गरेको एक चौका काजोल श्रेष्ठको नाममा थियो । कविता ४, कप्तान रुबिना क्षेत्री २, सरिता मगर र काजल समान ८, अप्सरी बेगम ४, कविता जोशी १, करुणा भण्डारी र सबनम २–२ रनमा आउट भए । संगीता ३ रनमा अविजित रहिन् ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?