एमएमएमा प्रोफेसनल ‘डेब्यु’ गर्दै नेपाली युवा

लन्डन — जापनिज नाम भए पनि युकी आङ्देम्बे नेपाली हुन् । बेलायतमा मिक्सड मार्सल आर्ट्स (एमएमए) अर्थात् ‘केज फाइट’ पनि भनिने खेलमा सफलता चुमिरहेका २२ वर्षीय युवा युकीले आउँदो १० डिसेम्बरमा लन्डनमा प्रोफेसनल ‘डेब्यु’ गर्दै छन् । योर्क हलमा उनको म्याच तय छ ।

एमएमएमा प्रोफेसनल ‘डेब्यु’ गर्दै नेपाली युवा

‘पूर्ण तयारी गरिरहेको छु, चुनौती छ तर उत्साहित पनि छु’, युकीले कान्तिपुरसँग भने, ‘ट्रेनिङ पार्टनर व्यावसायिक र अनुभवी भएकाले राम्रो प्रशिक्षण पाएर म्याच जित्ने विश्वास पनि छ ।’ नेपालीमा सहन शक्ति र आँट बढी हुने भएकाले खेलमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा छ ।

ग्रेट ब्रिटेन टप टिमबाट प्रतिनिधित्व गर्दै केज फाइटमा उत्रिएका उनी अहिले ग्रेट ब्रिटेन टप टिम एमएमए जिम साउथ लन्डनमा बिहान, दिउँसो गरी दैनिक ४ घण्टा प्रशिक्षण लिइरहेका छन् ।

बेलायतमा एमेच्योर खेलाडीका रूपमा ७ वटा खेल जितिसकेका उनी यूके, आयरल्यान्डको पाँचौं तहसम्म पुग्न सफल भएका थिए । दमक झापामा जन्मिएका उनी १० वर्ष छँदा ब्रिटिस लाहुरे बाबु र आमासँगै बेलायत आए । उनले हरेक खेलमा नेपाली झन्डा बोकेर नेपालका लागि प्रतिनिधित्व गरेका छन् । ‘म अंग्रेजको देशमा बसे पनि मेरो रगत र मन मुटुमा नेपाल छ, मलाई नेपाली हुनुमा गर्व छ,’ उनी भन्छन्, ‘गोर्खाली इतिहास र साहस विश्वभर सम्मानित छ । म बाबु, बाजेको इज्जत जोगाउँंदै नेपाललाई खेलका माध्यमबाट अझ बढी चिनाउन चाहन्छु ।’

एमएमए खेल चुनौतीपूर्ण ठान्छन् उनी । ‘यसमा बक्सिङ, रेस्टलिङ, जुडो, कराते, थाइ बक्सिङ आदि खेलको टेक्निक सम्मिश्रण हुने भएकाले बढी चनाखो हुन जरुरी छ,’ युकी भन्छन् । खेलले आफ्नो स्वास्थ्यमात्र नभई अनुशासनमा बस्न र कडा परिश्रम गर्न सिकाउने उल्लेख गर्दै मार्केटिङ ग्रयाजुएट विद्यार्थी युकी अध्ययन गरेर पनि खेलमा लाग्न सकिने बताउँछन् ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?