कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वेस्ट ह्याममाथि सिटीको दबदबा

हिउँको वर्षाबीच आइतबार प्रिमियर लिगका खेलहरु भएका थिए, तर सोही कारण बर्नली र टोटनहमको खेल रद्द हुन पुग्यो
एएफपी

लन्डन — इल्काय गुन्डोगन र फर्नान्डिन्होको गोल मद्दतले म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामलाई २–१ ले हराएको छ । जितपछि लिगमा पेप ग्वार्डिओलाको सिटीको वेस्ट ह्याममाथि दबदबा कायम रह्यो । माथिल्लो डिभिजनमा ग्वार्डिओलाले सिटी सम्हालेयता टिमले ११ खेलमा जित हात पारेको यो दसौं खेल हो ।

वेस्ट ह्याममाथि सिटीको दबदबा

हिउँको वर्षाबीच भएको खेलमा गुन्डोगनले ३३ औं मिनेटमा पहिलो गाले गरे । ब्राजिली फर्नान्डिन्होले ९० औं मिनेटमा दोस्रो गोल थपे । इन्जुरी समयमा म्यानुएल लान्जिनीले वेस्ट ह्यामका लागि एक गोल फर्काए । यो गोलसँगै सिटी गोलरक्षक एडरसन सयौं क्लिन सिट राख्नबाट चुके, तर वेस्ट ह्यामले हार भने टार्न सकेन । लगातार दोस्रो हार आत्मसात् गरे पनि लन्डन टोली अंक तालिकाको चौथो स्थानमा छ । आइतबारका अन्य खेलमा ब्रेन्टफोर्डले एभरटनलाई १–० र लेस्टरले वाटफोर्डलाई २–१ ले हराउन सफल रहे ।

यसअघि लिभरपुलले शनिबार साउथ ह्याम्पटनलाई ४–० ले हराएको थियो । योर्गन क्लोपका लागि डिएगो जोटाले दुई गोल गरे । वेस्ट ह्यामविरुद्धको खेल गुमाएयता सबै खाले प्रतियोगितामा लिभरपुलको यो लगातार तेस्रो जित हो । शनिबारका अन्य खेलमा आर्सनलले न्युकासललाई २–० ले पराजित गर्‍यो । यस्तै एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई २–१ ले पन्छायो भने नर्विच र उल्भ्स तथा ब्राइटन र लिड्सले समान गोलरहित बराबरीको नतिजा निकाले ।

बेटिस चौथोमा

म्याड्रिड– स्पेनी ला लिगामा रियल बेटिसले आइतबार लेभान्टेलाई ३–१ ले हराएको छ र चौथो स्थानमा उक्लेको छ । बेटिसको १५ खेलबाट २७ अंक भएको छ । यसअघि बार्सिलोनाले यस सिजन घर बाहिर पहिलो जित निकालेको थियो । प्रशिक्षक जाभीको पनि पहिलो ‘अवे गेम’ मा बार्सिलोनाले शनिबार भिल्लारियललाई ३–१ ले हरायो । त्यसमा मेम्फिस डिपे र फिलिप कोटिन्होले खेलको अन्त्यतिर दुई गोल गरे । यस सिजन बार्सिलोनाले खेलेका अगाडिका पाँच घर बाहिरको खेलमा जित निकाल्न सकेको थिएन ।

बार्सिलोनाले फ्रान्क डे जोङको गोलले अग्रता लिएयता स्यामुएल चुक्वाजीले बराबरी गोल फर्काए । यस्तोमा डिपेले ८८ औं मिनेटमा गोल गरेपछि कोटिन्होले इन्जुरी समयमा तेस्रो गोल थपे । यो जितपछि बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ र सातौं स्थानमा रह्यो । शनिबारका अन्य खेलमा सेल्टा भिगोले एलाभेसलाई २–१ ले हरायो । भ्यालेन्सिया र रायो भाल्कोनाले १–१ र मार्लोका र गेटाफेले गोलरहित बराबरी खेले ।

पीएसजीलाई सफलता

पेरिस– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वानमा १० खेलाडीमा सीमित सेन्ट इटेयनलाई ३–१ ले हराएको छ र लिग तालिकाको शीर्षस्थानमा १४ अंकको अग्रता लिएको छ । पीएसजीले एक गोलले पछाडि रहेको स्थितिमा यो जित निकालेको हो । डेनिस बोन्गाले सेन्ट स्टेयनलाई सुरुआती अग्रता दिलाएयता मारक्विन्होसले दुई तथा एन्जेल डी मारियाले एक गोल गरे । पीएसजीको १५ खेलबाट ४० अंक भएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?