२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

आर्मी र मछिन्द्रलाई जित्नैपर्ने खेल

एएफसी कप सुरू हुँदा ‘ए’ डिभिजन लिग सकिएको हुने छैन । त्यसैले सातौं चरणसम्मको खेलमा शीर्षस्थानमा रहने क्लब एएफसी कपमा जानेछ
राजु घिसिङ

काठमाडौँ — नेपाली सेनाले बेग्लै फुटबल क्लबका रूपमा दर्ता गरेको ‘त्रिभुवन आर्मी’ र मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्लो संस्करण २०७६ को अन्तिम खेलमा भिडेका थिए, जुन उपाधि होडकै निर्णायक प्रतिस्पर्धा थियो । आर्मीलाई उपाधि उचाल्न हार टारे पुग्ने थियो भने मछिन्द्रलाई ट्रफी चुम्न ३ अंक अनिवार्य थियो ।

आर्मी र मछिन्द्रलाई जित्नैपर्ने खेल

रञ्जित धिमालको फ्रिकिकमा आर्मीका डिफेन्डर विकास खवासले आफ्नै पोस्टमा गोल गरेपछि १–० को जित निकाल्दै मछिन्द्र पहिलोपल्ट लिग च्याम्पियन भएको थियो । आर्मी उपविजेतामै रोकिएको थियो । यी दुई क्लब यो सिजन पनि उपाधिका दाबेदार हुन् । उनीहरू यसपालि ट्रफीको निर्णायक खेलमा होइन, दोस्रो चरणमै आपसमा भिड्दै छन् ।

‘गत वर्षको फाइनल भिडन्तजस्तै हो,’ दशरथ रंगशालामा सोमबार हुने आर्मीविरुद्धका खेलबारे डिफेन्डिङ च्याम्पियन मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘गत सिजन उपाधि होडको निर्णायक खेलमा हामी सफल भएका थियौं । यसपालि दोस्रो खेलमै आर्मीसँग खेल्दै छौं । एक हिसाबले उपाधि होडको महत्त्वपूर्ण यो खेल पछि नै परोस् भन्ने थियो । एक किसिमले भने यो (चाँडै खेल्नुपरेको) राम्रो पनि हो किनभने सुरुमै उपाधिको दाबेदार टिमसँग हामीले ३ अंक लिन सक्यौं भने त्यो उपाधि होडलाई उत्कृष्ट हुनेछ । त्यसैले हामी भोलि ३ अंककै लागि खेल्नेछौं ।’

‘पछिल्लोपल्टको अवसर उपयोग गर्न सकेनौं । त्यसैले उपाधिबाट वञ्चित भयौं । त्यो इख पनि छ,’ कोरोना भाइरसको महामारीअघि लिगको निर्णायक खेलमा चुकेको स्मरण गर्दै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘हामीलाई उपाधि होडमा रहन मछिन्द्रविरुद्ध जित निकाल्नुको विकल्प छैन । ३ अंक एकदमै महत्त्वपूर्ण छ । त्यो मौका हामी उपयोग गर्न चाहन्छौं । ३ अंक लिन सक्यौं भने हामी उपाधि होडमा जान्छौं नत्र गाह्रो हुनेछ ।’

मछिन्द्रले पहिलो खेलमा सुनील बलको दुई गोलसँगै न्युरोड टिम (एनआरटी) लाई २–१ ले हराएको थियो । आर्मीले भने ‘विभागीय डर्बी’ मा पुलिसविरुद्ध १–१ को नतिजा निकालेको थियो । प्रदर्शनको हिसाबले पहिलो चरणमा सबभन्दा राम्रो मछिन्द्र नै थियो । त्यसैले आर्मीलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध भए पनि ३ अंक जोड्नैपर्नै दबाबमा छ ।

गत सिजन ठूलो लगानी गर्दै मनाङ मर्स्याङ्दी र थ्रीस्टारबाट नाम चलेका खेलाडीहरूलाई भित्र्याएर एकाएक बलियो भएको क्लब हो मछिन्द्र । उसले लगानीअनुसार त्यो सिजन प्रतिफलको रूपमा लिगको उपाधि जित्यो । उपाधि रक्षा गर्ने अभियानमा यसपालि पनि मछिन्द्रले मोटो रकम खर्चेको छ । सुनील, मनीष डाँगी, ओमोलाजा करिम, नुर्लान नोभरुजोभलाई भित्र्याएको उसले सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित, आन्द्रेस निआजस्ता प्रभावशाली खेलाडीलाई क्लबमा कायमै राख्यो ।

आर्मीले बेग्लै क्लबका रूपमा दर्ता गरे पनि विदेशी खेलाडी भित्र्याउने हिम्मत गरेको छैन । उसले रक्षापंक्ति र अग्रपंक्तिका मुख्य खेलाडी विकास खवास र नवयुग श्रेष्ठलाई पनि चोटको कारण गुमाएको छ । उसले अस्ट्रेलियाबाट बोलाएका विंगर जगजित श्रेष्ठ लयमा फर्किएका छैनन् । त्यसैले आर्मीलाई मछिन्द्रविरुद्ध गाह्रो हुन सक्छ । लिगको तयारीमा भएको मैत्रीपूर्ण खेलमा भने आर्मी र मछिन्द्रले १–१ को नतिजा निकालेका थिए ।

मछिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘आर्मीका २ खेलाडी घाइते हुनु हाम्रा लागि सुखद समाचार हो । अर्को, आर्मीसँग एउटा पनि विदेशी खेलाडी छैन, हामीले ३ जना राखेका छौं । जसको फाइदा हामी लिन सक्छौं । यस आधारमा पनि आर्मीविरुद्ध खेल जित्ने दाबी गर्न सक्छौं ।’ ‘टिम–वर्क’ लागि परिचित आर्मीविरुद्ध उनी सचेत पनि छन्, ‘हामीले एनआरटीविरुद्ध राम्रै प्रदर्शन गरेका थियौं । तर, गोल हुने ४–५ वटा स्पष्ट अवसर गुमायौं । आर्मीविरुद्ध त्यस्तो अवसरमा चुक्नु हुँदैन । किनभने आर्मी उपाधिका लागि खेल्दै आएको टिम हो । उसले जस्तोसुकै घडीमा पनि संघर्ष गर्ने, चुनौती दिने गर्छ ।’

‘हाम्रो टिम राम्रो छ । ‘प्रेसिङ गेम’ खेल्नेछौं,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘हामीलाई हरेक खेलमा ३ अंक महत्त्वपूर्ण छ । विशेषगरी ठूला टिमविरुद्ध ३ अंक एकदमै जरुरी हुन्छ । हामी उपाधिका दाबेदार भनिरहेका छौं । तर, मनाङ, मछिन्द्र, थ्रीस्टारविरुद्धका खेल जितिएन भने गाह्रो हुन्छ । ‘सिंगल लिग’ भएकाले मुख्य टिमविरुद्ध ३ अंक लिन सक्नुपर्छ ।’ पुलिसविरुद्धको खेलमा आर्मीको टिममा विकास र नवयुगको प्रस्टै अभाव देखिएको थियो । कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, जगजित र दिनेश हेन्जनले मछिन्द्रको रक्षापंक्तिलाई छिचोल्ने प्रयास गर्नेछन् ।

‘ए’ डिभिजन लिगमा २०६९ देखिका ५ भेटमा मछिन्द्रले २ खेल जितेको छ

भने आर्मीले एक खेलमा सफलता हात पारेको छ । दुई खेल बराबरीमा टुंगिएको थियो । आर्मीले मछिन्द्रलाई २०७५ मा ३–० ले पन्छाएको थियो ।


एएफसी कप छनोटमा महत्त्वपूर्ण खेल

‘हामीले पहिलो खेलमा ३ अंक लियौं तर भनेजस्तो खेल्न सकेको छैन,’ मछिन्द्रका कटुवालले भने, ‘आर्मीले पहिलो खेल बराबरी गर्दा हामीले जित्छौंजस्तो लागेको छ । तर, हामीसँग खेल्दा उसको प्रदर्शन फरक हुन्छ । आर्मी गत सिजनको हारको बदला लिने दाउमा हुनेछ ।’ उनले थपे, ‘हार्‍यो भने उपाधि होडमा गाह्रो त हुन्छ नै । त्यो दौड अरूकै नतिजामा भर गर्नुपर्ने हुन्छ । ‘कमब्याक’ पनि गर्न सकिन्छ । एएफसी कपका लागि सात खेलमै निर्णय हुँदै छ, यसको लागि प्रत्येक खेल जित्नैपर्छ । अरूको नतिजामा भर पर्नुपर्ने हुन्छ । त्यसैले आर्मीविरुद्ध ‘गर या मर’ को अवस्थामै खेल्नेछौं ।’

गत सिजन ‘ए’ डिभिजन लिग च्याम्पियन भएर पनि मछिन्द्रले एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता एएफसी कप खेल्न पाएको थिएन । किनभने मछिन्द्रसँग एएफसी क्लब लाइसेन्स थिएन । त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता आर्मीलाई महादेशीय प्रतियोगितामा देशको प्रतिनिधित्व गराएको थियो । यसपालि भने एएफसी कप सुरु हुँदा ‘ए’ डिभिजन लिग सकिएको हुने छैन । त्यसैले सातौं चरणसम्मको खेलमा शीर्षस्थानमा रहने क्लबलाई एएफसी कपमा पठाउने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।

‘यसपालि मनाङ, मछिन्द्र, एपीएफ, आर्मीले एएफसी क्लब लाइसेन्स पाएका छन्, यी चार क्लबमध्ये सातौं चरणसम्म जसले सबभन्दा बढी अंक ल्याउँछ, उसले एएफसी कप खेल्छ,’ महासचिव तुलाधरले भने, ‘यसबारे लिगको ‘म्यानेजर मिटिङ’ मा छलफल गरेर सहमति गरेका थियौं । एएफसीले तोकेको मितिसम्म लिगको सातौं राउन्डसम्मका खेल भ्याइएन भने गत सिजनको विजेता (मछिन्द्र) ले एएफसी कप खेल्नेछ ।’ एएफसीले डिसेम्बर (सन् २०२१) मा एएफसी कप खेल्ने क्लबको नाम दर्ता गर्न एन्फालाई भनेको थियो । त्यसपछि एन्फाले लिग भइरहेको भन्दै एएफसीसँग थप समय मागेको छ ।


पुलिसको पहिलो जित

वैकल्पिक सुमन लामाको उत्कृष्ट गोलसँगै पुलिसले जावलाखेल युथ क्लबलाई १–० ले पन्छाउँदै आइतबार नयाँ सिजनमा पहिलो जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलको ७० औं मिनेटमा रवि पासवानले मैदानको आफ्नै क्षेत्रबाट पेनाल्टी क्षेत्रमा दिएको बललाई सुमनले आकर्षक रूपमा ‘वान टच’ मै बललाई जाली चुमाउँदै निर्णायक गोल गरेका थिए । उक्त गोलको प्रयासमा सुमनको दौड बडो गज्जब थियो । उनी बुद्ध बल तामाङको स्थान लिंदै ५१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । निकै रोमाञ्चक प्रतिस्पर्धामा चार सहज अवसर उपयोग गर्न नसकेपछि जावलाखेलले लगातार दोस्रो हार बेहोरेको हो । गोलकिपरद्वय शत्रुघन चौधरी (पुलिस) र टेकेन्द्र सिंह थापा (जावलाखेल) को प्रदर्शन पनि उत्कृष्ट रह्यो । २०६० सालमा लिगमा फर्किएयता पुलिस जावलाखेलविरुद्ध हारेको छैन । उसले १५ मध्ये १० खेल जितेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?