सहिद स्मारक लिग

'भाग्य' मनाङको पक्षमा

राजु घिसिङ

काठमाडौँ — पहिलोपल्ट ‘ए’ डिभिजन क्लब सम्हालेका हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राई शनिबार मनाङ मर्स्याङ्दी क्लबविरुद्ध १–० ले हारेपछि भावुक भए । मनाङका यी पूर्वस्ट्राइकरले भने, ‘दुवै टिम एकअर्कालाई प्रबल देखाउनका लागि खेलमा आएको हो । यसमा मनाङले एकदम राम्रो, स्तरीय फुटबल खेल्यो । जुन अनुशासनमा खेलेको छ, एकदम राम्रो छ । खेल्दाखेल्दा कहिलेकाहीं रिजल्ट तलमाथि हुन्छ । सिस्टम एकदम राम्रो पछ्याएको छ, अनुशासनमा खेलेको छ । फुटबलमा सबैभन्दा ठूलो कुरा भाग्य हो । भाग्य हाम्रो पक्षमा थिएन ।’

'भाग्य' मनाङको पक्षमा

झापाली प्रशिक्षक राईले भने, ‘अब ११ खेल बाँकी छ । मेरा खेलाडीहरूले आजजस्तो (मनाङविरुद्ध) खेललाई निरन्तरता दिएमा लिगमा हामी पक्कै पनि एउटा आकारमा पुग्नेछौं ।’ प्रस्ट रूपमै उनको दाबी के थियो भने हिमालयनले राम्रो फुटबल खेल्यो, मनाङले पनि उत्तिकै राम्रो खेल्यो र भाग्यले मनाङलाई साथ थियो । हुन त हिमालयनले २०७० सालपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङलाई हराएको छैन । आठ वर्षअघि २–१ ले हारेको मनाङले कीर्तिमान आठौंपल्ट लिग च्याम्पियन बन्नेक्रममा २०७५ सालमा हिमालयनलाई २–१ ले पन्छाएको थियो । २०७६ को भेट भने गोलरहित टुंगिएको थियो ।

नाइजेरियन स्ट्राइकर ओलाडिपो ओलावाले आफिजले अन्त्यतिर गरेको गोलमा मनाङले शीर्ष लिगको ६ भेटमा हिमालयनविरुद्ध चौथो जित निकालेको हो । मनाङ आठौंपल्ट लिग च्याम्पियन हुँदा यिनै आफिजले सर्वाधिक ७ गोल गरेका थिए । एक दशकयता नेपाली फुटबलमा प्रभावशाली प्रदर्शन गरिरहेका आफिजले पूजन उपरकोटीको कर्नरमा निशान लिम्बूले ‘फ्लिक’ गरेको बललाई हेडद्वारा पोस्टको दिशा दिँदै ८४ औं मिनेटमा गोल गरेका थिए । निशानको क्रसमा दीपक राईको हेडरमा हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले पञ्च गर्दै बल बाहिर फालेपछि मनाङले उक्त कर्नर पाएको थियो ।

डिफेन्डर दिनेश राजवंशीको गोलमा पहिलो खेलमा जावलाखेल युवा क्लबलाई मुस्किलले १–० ले हराएको मनाङले दशरथ रंगशालामा हिमालयनविरुद्ध पूरा खेलमा आक्रामक खेल्ने प्रयास गरिरह्यो । यस्तोमा हिमालयन डिफेन्स र मिडफिल्डमा संगठित देखियो । टोलीले कप्तान अञ्जन विष्ट, विमल राना, आफिज, अर्का नाइजेरियन स्ट्राइकर एडेलाजा सोमिडेद्वारा सुसज्जित मनाङको अग्रपंक्तिलाई खुलेर खेल्ने स्थान र समय दिएन । हरेक समय र स्थानमा मनाङलाई संघर्ष गर्न बाध्य पार्‍यो । तैपनि मनाङले केही अवसर सर्जना गर्‍यो ।

चौथो मिनेटमै एडेलाजाका हेडरमा बल पोस्ट नजिकबाट बाहिरियो । एडेलाजाले १७ औं मिनेटमा पेनाल्टी क्षेत्रमा दिएको बललाई विमलले पोस्टमा प्रहार गर्न नसक्दा मनाङले अग्रता लिन चुक्यो । पेनाल्टी क्षेत्रनजिक ४१ औं मिनेटमा पाएको फ्रि–किकमा हिमालयनका कप्तान विश्वास श्रेष्ठको बल बारमा लाग्दै फर्किएको थियो । भारतीय मिडफिल्डर दयानन्द सिंहको क्रसमा ५५ औं मिनेटमा एडेलाजाको हेडर सटीक नहुँदा मनाङले अर्को अवसर गुमायो । हिमालयनका आशिष गुरुङको क्रसमा ७१ औं मिनेटमा मुताम्बा भुनयोलीले पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्दै प्रहार गरेको बल पनि आकासिँदै बाहिरियो ।

‘हामीलाई भाग्यले साथ दिएन,’ यसअघि संकटाविरुद्ध १–१ खेल्दै अंक बाँडेका हिमालयनका प्रशिक्षक राईले भने, ‘स्कोरिङमा कमी देखेको छु । तर, अनुशासित खेल र प्रणाली छाड्ने छैनौं ।’

लगातार दोस्रो जितसहित ६ अंक बनाएर शीर्षस्थानमा उक्लिएपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले हिमालयनले रक्षापंक्तिलाई बलियो बनाएर ‘कम्प्याक्ट गेम’ खेलेको उल्लेख गर्दै भने, ‘यस्तोमा अवसर कमै आउँछ । हामीले एक अवसर पायो, गोल भयो ।’ उनले थपे, ‘विङ्सबाट खेल्ने हाम्रो योजना पहिलो हाफमा सफल भएन, खेलाडी थाकेपछि दोस्रो हाफमा क्रस धेरै भयो, सफल भयो ।’ उनले नेपाल सुपर लिगको उपविजेता धनगढी एफसीका सेन्टर–ब्याक फ्रान्कलिन टैलालाई ‘ए’ डिभिजन लिगमा ‘डेब्यु’ दिए । टैलाले पूरा समय खेले ।

च्यासलको पहिलो जित

यसअघि शनिबार पहिलो खेलमा च्यासल युवाले एपीएफ क्लबलाई १–० ले हरायो । कमल श्रेष्ठको पासमा रुमेश बर्तौलाले एक डिफेन्डर छक्याउँदै पेनाल्टी क्षेत्रको ठीकभित्रबाट प्रहार गरेको बललाई ४९ औं मिनेटमा उत्कृष्ट गोलमा परिणत गर्दै लिगमा एपीएफविरुद्ध च्यासललाई पहिलो जित दिलाएका हुन् । अघिल्ला दुई संस्करण फ्रेन्ड्स क्लबबाट खेलेका रुमेशले लिगमा पहिलोपल्ट गोल गरेका हुन् । यी मिडफिल्डरले भने, ‘हाम्रो क्लब (च्यासल) लाई जित आवश्यक थियो । मेरो गोलले पहिलो जित दिलायो । एकदमै खुसी लागेको छ ।’ पहिलो खेलमा थ्रीस्टारसँग ३–० ले हारेको च्यासलले एपीएफलाई एकतर्फी दबाबमा राख्दै थप केही अवसर सिर्जना गरेको थियो । तर, गोलकिपर राजु योगी, राजन गुरुङ र टोपबहादुर विष्टले असफल पारिदिए । एपीएफले निरन्तर दोस्रो हार टार्न सकेन । टोली ब्रिगेड ब्वाइजसँग ३–२ ले हारेको थियो ।

प्रकाशित : मंसिर १२, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?