१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तेस्रो जितसहित लुम्बिनी दोस्रोमा

काठमाडौँ — विशालविक्रम केसीको बलिङ र देव खनालको ब्याटिङमा लुम्बिनी प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार वाग्मती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

तेस्रो जितसहित लुम्बिनी दोस्रोमा

विशालले ४ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको वाग्मती मूलपानी मैदानमा ४७.१ ओभरमा १ सय ९१ रनमै अलआउट भयो । देवले लगातार दोस्रो अर्धशतक बनाएपछि लुम्बिनीले ४७ औं ओभरमा १ सय ९३ रन बनाउँदै विजय लक्ष्य पूरा गर्‍यो ।

विशाल ७ ओभरमा २५ रन खर्चेर प्लेयर अफ द म्याच बने । मोहम्मद हुसैन र कमल वलीले २–२ तथा दुर्गेश गुप्ता र राहुल चौधरीले १–१ विकेट लिए । वाग्मतीबाट विवेक रानामगरले सर्वाधिक ४० रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका प्रहार गरे । प्रशान्त महतले ५० बल खेल्दै ७ चौकासहित ३६ रन बनाए । विपिन शाही २४, क्रिस कार्की १७ र कप्तान प्रतिश जीसी १७ रनमा आउट भए । कप्तान एवं ओपनर देवले ६७ रनको इनिङ्स खेले । ९९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । प्रज्वल थापाले ३४ र वासिर अहमदले अविजित ३१ रन बनाए । प्रज्वलले ४५ बल खेली ४ चौका र १ छक्का तथा वासिरले ३५ बल खेली २ चौका र १ छक्का प्रहार गरे । आकाश त्रिपाठी १४ र हुसैन १२ रनमा आउट भए । वाग्मतीका गौतम केसीले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ तथा प्रतिश, क्रिस र तिलक भण्डारीले १–१ विकेट लिए ।

तेस्रो जितसहित लुम्बिनी दोस्रो स्थानमा छ । पहिलो तीन खेल नै जितेको प्रदेश १ राम्रो रनरेट लिएर शीर्षस्थानमा छ । वाग्मतीको तेस्रो खेलमा यो दोस्रो हार हो । गण्डकीले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरी पहिलो जितको स्वाद चाख्यो । कर्णालीको पनि ३ खेलमा १ जितमात्र छ ।

टस हारेर ब्याटिङमा आएको कर्णाली २८ ओभरमा १ सय १३ रन बनाई अलआउट भयो । क्रमशः नवौं र दसौं नम्बरमा ब्याटिङ गरेका रुपक दाहालले २० र अनुज चुनाराले २२ रन नबनाएको भए कर्णालीको हालत अझ खराब हुन्थ्यो । प्रकाश जैसी २६, सुवास ऐर १७ र मनीष थापा ११ रनमा आउट भए । प्लेयर अफ द म्याच कमल परियारले ४ विकेट लिए । उनले ६ ओभरमा २४ रन खर्चेका थिए । किरण पौडेलले ७ ओभरमा २१ रन खर्चेर ३ तथा सुदीप अर्याल र सुवास भण्डारीले १–१ विकेट लिए ।

दीपक डुम्रेले ३४, उत्सव श्रेष्ठले २६, अर्जुन कुमालले १४ र सुजन गौतमले १३ रन बनाएपछि गण्डकीले २६.५ ओभरमा १ सय १७ रन बनाउँदै विजय लक्ष्य पूरा गर्‍यो । कर्णालीका सन्दीप शाही र निश्चल रावलले २–२ तथा अनुज, रुपक र दिनेश पुनले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर १२, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?