कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

छनोटका लागि त्रिकोणात्मक भिडन्त

काठमाडौँ — आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा अन्तिम चरणको खेल बाँकी रहँदा ग्लोबल क्वालिफायरमा पुग्ने स्थानका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

छनोटका लागि त्रिकोणात्मक भिडन्त

शुक्रबार चौथो चरणको खेलमा नेपालले मलेसियालाई ६ विकेट, यूएईले कुवेतलाई ७ विकेट र हङकङले भुटानलाई २० रनले पराजित गरेपछि अन्तिम चरणमा तीन टोलीबीच प्रतिस्पर्धा हुने देखिएको छ । ४ खेलबाट यूएईको ८ अंक छ । नेपाल र हङकङसँग ६–६ अंक छ ।

अन्तिम खेल नेपालले घरेलु टोली यूएईसँग खेल्नुपर्नेछ । हङकङले पुछारको टोली कुवेतसँग खेल्नेछ । यो खेलमा नेपाल पराजित भए यूएई ग्लोबल क्वालिफायरमा पुग्नेछ । तर, नेपाल र हङकङले आ–आफ्नो खेल जितेको अवस्थामा तीन टोलीको समान ८ अंक हुनेछ । त्यसपछि नतिजा नेट रनरेटका आधारमा हुनेछ । अहिलेसम्म नेपाल नेट रेनरेटमा यूएईभन्दा पछाडि छ । चार चरणको खेल नतिजाका आधारमा नेपालले यूएईलाई पराजित गर्न सकेमा ग्लोबल क्वालिफायर प्रवेशको सम्भावना प्रबल छ ।

महिला ट्वान्टी–२० विश्वकपकै एसिया क्वालिफायरको अघिल्लो संस्करणमा दुई टोली ग्लोबल क्वालिफायरमा पुग्ने व्यवस्था थियो । थाइल्यान्ड र यूएईले नेपाललाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका थिए । यसपल्ट पनि घरेलु टोलीलाई पराजित गर्नु नेपालका लागि कठिन हुनेछ ।

शुक्रबार मलेसियाविरुद्ध ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । प्रशिक्षक जगत टमाटाले हरेक खेलमा नेपालको ओपनिङ ब्याटरको परीक्षण गरिरहेका छन् । मलेसियाविरुद्ध सीता रानामगर र इन्दु बर्माले नेपालको ओपनिङ सम्हालेका थिए । इन्दु ४ रनमै आउट भइन् । तर, सीताले कप्तान रुबिना क्षेत्रीसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरिन् । सीताले ३८ बलमा ३ चौकासहित ३० तथा रुबिनाले २९ बलमा २० रनको योगदान गरेका थिए । कविता कुँवरले १० रन जोड्दा सरिता मगर १५ रनमा नटआउट रहिन् । नेपालले १३ अतिरिक्त रन पाएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले एल्सा हन्टरको ३९ रन मद्दतमा ७ विकेट गुमाएर ९२ रनको योगफल खडा गरेको थियो । इलसाले ४८ बलमा ४ चौका प्रहार गरिन् । उनीबाहेक युसरिना याकोप (१२) र मास इलिसा (१४) ले मात्र दोहोरो अंकको स्कोर गर्न सके । बलिङमा सवनम राईले २ विकेट लिइन् । कविता कुँवर, सीता र रुबिनाले १–१ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेकी सीता प्लेयर अफ द म्याच चुनिइन् ।

प्रकाशित : मंसिर ११, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?