‘हरेक खेल फाइनल’

राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा थ्रीस्टारले लगातार छिमेकी क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो सिजनको दोस्रो खेलमा थ्रीस्टारको प्रतिद्वन्द्वी बनेको छ सातदोबाटो युवा क्लब ।

दशरथ रंगशालामा शुक्रबार हुने प्रतिस्पर्धामा शीर्ष श्रेणीको नवप्रवेशी क्लब सातदोबाटो लिगमा पहिलो गोलको खोजीमा हुनेछ भने तीनपल्टको च्याम्पियन थ्रीस्टार अर्को छिमेकीविरुद्ध पनि प्रभावशाली जित रच्न चाहन्छ ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले भने, ‘सबै विपक्षी राम्रो छ । कुनै पनि खेललाई सजिलो रूपमा लिँदैनौं । हरेक खेल फाइनल भनेरै खेल्छौं । यो लिगमा कसैलाई राम्रो, कसैलाई नराम्रो भन्ने स्थिति छैन । सबै टिम राम्रै जस्तो लाग्छ । सबैलाई प्रशिक्षकले आ–आफ्नो ट्याक्टिसअनुसार खेलाउँछन् । सबैसँग खेल्न गाह्रै हुन्छ । त्यसैले हामीले खेल्ने हरेक खेल फाइनल नै हो ।’

च्यासल युवा क्लबविरुद्ध ३–० को जितसहित थ्रीस्टार पहिलो चरण सकिँदा शीर्षस्थानमा छ । प्रशिक्षक उर्जन श्रेष्ठले भने, ‘पहिलो खेलमा स्ट्राइकिङमा गल्तीहरू भयो । त्यसपछि तयारीको अवसर पाएका छौं । ५–६ दिन ट्रेनिङ राम्रो भएको छ । स्ट्राइकर (सातदोबाटेविरुद्ध) राम्रै गर्छ होला ।’

पहिलो जितमा सन्तुष्ट देखिए पनि उनी प्रदर्शनको सन्तुष्ट छैनन् । ८०–९० मिनेटसम्म पनि गोलका लागि राम्रो अवसर सिर्जना गर्न नसकेकोमा उनको चिन्ता छ ।

सातदोबाटोले ‘ए’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध गोलरहित खेल्दै अंक बाँडेको थियो । त्यसैले सातदोबाटो शीर्ष श्रेणीको लिगमा पहिलो गोलको प्रतीक्षामा रहेको छ । यसबारे सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘समस्या छ । पहिलो खेलमा हामीले ५–६ वटा अवसर सिर्जना गरे पनि स्कोर भएन । त्यो समस्या निरन्तर दोहोरियो भने गाह्रो हुन्छ, जसलाई यो साता सुधार गर्ने कोसिस गर्नेछौं ।’ उनले पछिल्लो सिजन (२०७६) मा थ्रीस्टार सम्हालेका थिए । २०६२ सालमा मछिन्द्रदेखि ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका उनले थ्रीस्टार, आर्मी, फ्रेन्ड्स र हिमालयन शेर्पा क्लब पनि हेरेका थिए ।

‘मेरो चाहिँ ८–९ वटा क्लब भइसक्यो । फ्रेन्डस क्लब पनि पुरानै हो । थ्रीस्टार पनि,’ प्रशिक्षक केसीले भने, ‘म कस्तो लिन्छु भने विपक्षी विपक्षी नै हो । म जुन क्लबमा छु, त्योबाहेक १३ वटा विपक्षी छन् । सबैलाई एउटै नजरले हेरेको छु ।’ उनले दोस्रो चरणको प्रतिद्वन्द्वीबारे भने, ‘पहिलो चरणका खेलहरू हेर्दा थ्रीस्टारको गेम राम्रो छ । उसले सबैभन्दा बढी ३ गोल गरेको छ । त्यसअनुसार हामीले तयारी गरेका छौं । तीनै गोल डिफेन्डरले गरेका थिए । त्यसमा ‘डेथ बल’ उपयोग गरेका थिए । त्यसलाई हाम्रो खेलमा नदोहोर्‍याउने कोसिस गर्नेछौं ।’

‘पहिलो लिगमै दह्रो उपस्थिति जनाउन चाहन्छौं,’ उनले भने, ‘थ्रीस्टारविरुद्ध ३ अंकका लागि खेल्नेछौं । प्रत्येक खेल ३ अंककै लागि हुनेछ । नेपालको फुटबल सानो छ, सबैले चिनिहालिन्छ । थ्रीस्टरको तीनै गोल डिफेन्सले गरेकाले जहाँसम्म लाग्छ उनीहरू पनि सेट नभइसकेको जस्तो लाग्छ । त्यसैले त्यतिसारो थ्रीस्टार भन्नुपर्ने जस्तो लाग्दैन ।’

थ्रीस्टार प्रशिक्षक श्रेष्ठले सातदोबाटो नयाँ टिम भए पनि राम्रो भएको प्रतिक्रिया दिए, ‘पहिलो खेल सबैको हेर्‍यौं । कुनै टिमसँग पनि सजिलो छैन । झनै नयाँ टिमसँग गाह्रो हुन्छ । नयाँ खेलाडी, नयाँ जोस हुन्छ । सातदोबाटोमा त २–३ जना (खेलाडी) थ्रीस्टारबाटै गएका छन् । त्यसैले हामी आफ्नो गेम खेल्छौं, आफ्नोअनुसार खेल्छौं । शतप्रतिशत मिहिनेत गरेर जित्छौं ।’

मिडफिल्डर विक्रम लामाको कप्तानीमा रहेको थ्रीस्टारले ९ वर्षयता पहिलोपल्ट लिग च्याम्पियन बन्ने अभियानमा यसपालि राम्रो टिम बनाएको छ । च्यासलविरुद्ध क्यामरुनी डिफेन्डर राफेल रिम र गोलकिपर येभेस प्रिसो प्रभावशाली देखिएका थिए । उक्त खेलमा निशान खड्का, राफेल र अनन्तले गोल गरेका थिए । तीनै गोल ‘सेट पिस’ मा भएको थियो । सातदोबाटोलाई पनि अनुभवी कप्तान मनबहादुर तामाङसँगै नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका नाइजेरियन डिफेन्डर पिटर सेगुन र फरवार्ड अजयी मार्टिन्सको साथ छ ।

पछिल्लो सिजनको ‘बी’ डिभिजन लिग च्याम्पियनको रूपमा माथिल्लो श्रेणीमा उक्लिएको सातदोबाटोलाई भने दक्षिण अफ्रिकी मिडफिल्डर मात्सेन्जवा सिफामन्डलाको चोटले पिरोलेको छ । उनले घुँडामा चोट बोक्दै २४ औं मिनेटमै मैदान छाडेका थिए । यसबारे प्रशिक्षक केसी भने, ‘अफ्रिकाबाट आएका उनले तीन महिना मिहिनेत गरेर आफ्नो खेल देखाउनै पाएनन् । चोट गम्भीर छ । घुँडाको शल्यक्रिया गर्नुपर्छ । त्यसको ३ महिनापछि बल्ल खुट्टा टेक्न सक्छन् । त्यसैले उनले लिग गुमाउने नै भयो उपचारको व्यवस्था गरेपछि उनलाई स्वदेश फर्काउने छौं ।’ उनले मात्सेन्जवा बाहिरिएपछि प्रशान्त अवस्थीलाई खेलाएका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?