च्याम्पियन्स लिग

म्यानचेस्टर र चेल्सी अन्तिम १६ मा

बार्सिलोनाले अर्को चरण प्रवेश निश्चित गर्न आफ्नो अन्तिम खेलमा बायर्न म्युनिकलाई हराउनुपर्नेछ
एएफपी

पेरिस — म्यानचेस्टर युनाइटेडले मंगलबार भिल्लारियललाई २–० ले हराएर युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा आफ्नो स्थिति सुरक्षित गरेको छ । डिफेन्डिङ च्याम्पियन चेल्सीले युभेन्ट्समाथि एकपक्षीय जित निकाल्दै नकआउट चरण यात्रा निश्चित गरेको छ ।

म्यानचेस्टर र चेल्सी अन्तिम १६ मा

तीनपल्टको युरोपेली च्याम्पियन म्यानचेस्टर टिम व्यवस्थापक ओले गनर सोल्सायरलाई बर्खास्तगी गरेयता मैदानमा उत्रेको थियो । टोलीलाई समूह ‘एफ’ विजेता बन्न जित आवश्यक थियो ।

हारको स्थितिमा म्यानचेस्टरसामु नाजुक बन्ने डर पनि थियो । यस्तोमा गोलरक्षक डेविड डी जियाले दुई उत्कृष्ट बचाउ गरे र म्यानचेस्टरका लागि क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक–एक गोल गरे । बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर आएयता सान्चोले पहिलो गोल गरेका हुन् । क्लब आफै भने निमित्त प्रशिक्षक माइकल कारिकको नेतृत्वमा मैदान उत्रेको थियो । खेलपछि कारिकले भने, ‘व्यक्तिगत रूपमा यो नतिजा मेरो लागि केही होइन, तर यही नतिजाले खेलाडी र क्लबका लागि धेरै अर्थ राख्छ ।’

रोनाल्डोले भने आफ्नो खेलजीवनको ७ सय ९९ र च्याम्पियन्स लिगमा १ सय ४० औं गोल गरे । समूहको अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले रोमाञ्चक ३–३ को बराबरी खेले । अब एटलान्टाले अर्को महिना भिल्लारियलको सामना गर्नेछ र यसमा जित्ने टिम नआउट चरण पुग्ने अर्को क्लब हुनेछ ।

चेल्सीले भने समूह ‘एच’ को स्टानफोर्ड ब्रिजमा भएको खेलमा इटालीको युभेन्ट्समाथि ४–० को प्रभावशाली जित निकाल्न सफल रह्यो । हार टार्न सकेको स्थितिमै थोमस टचेलको टिम चेल्सी नकआउट चरण पुग्ने थियो । तर चेल्सीले एकपक्षीय जित हात पार्‍यो । टोलीका लागि ट्रेभो चालोबाह, रीस जेम्स, क्यालुम हडसन ओडोई र टिमो वार्नरले गोल गरे । समूह ‘ई’ मा भने बार्सिलोनाले नोउ क्याम्पमा भएको खेलमा बेन्फिकासँग गोलरहित बराबरी खेल्यो । जाभीले दोस्रोपल्ट बार्सिलोनाको प्रशिक्षक पद सम्हाले, तर टिमले आफ्नो घरमै भएको खेलमा जित निकाल्न सकेन । बराबरीका बावजुत बार्सिलोना बेन्फिकाको माथि दोस्रो स्थानमा छ ।

बार्सिलोनाले अर्को चरण प्रवेश निश्चित गर्न आफ्नो अन्तिम खेलमा बायर्न म्युनिकलाई हराउनुपर्नेछ । अन्तिम दिनको खेलमा बेन्फिकाले डिनामो किभको सामना गर्नेछ । प्रतियोगितामा युक्रेनी टिम किभको सम्भावना भने समाप्त भइसकेको छ । यस्तोमा जाभीसामु बार्सिलोनालाई प्रतियोगितामा कायम राख्ने ठूलो चुनौती हुनेछ । समूहको शीर्ष स्थानमा रहेको बायर्नले किभलाई भने २–१ ले हरायो । बायर्न लगातार पाँचौं खेल जित्न सफल रह्यो ।

त्यसमा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे भने छपल्टको विजेताका लागि अर्को गोल किंग्सले कोमनको नाममा रह्यो । समूह ‘एच’ मा लिलेले साल्सबर्गलाई १–० ले हरायो । त्यसमा जोनाथन डेविडले पहिलो हाफमा निर्णायक गोल गरे । जितका बावजुत लिले अर्को चरण प्रवेशको निर्णयलाई अझै कुर्नुपर्नेछ । सेभियाले सोही समूहमा उल्भसबर्गलाई २–० ले पन्छायो । समूहका चारै टिमसामु अर्को चरण पुग्ने सम्भावना कायम छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?