नेपालले कुवेतसँग खेल्दै- खेलकुद - कान्तिपुर समाचार

नेपालले कुवेतसँग खेल्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले कुवेतसँग खेल्दै छ । प्रतियोगिताबाट एक टोलीमात्र ग्लोबल क्वालिफायरका लागि छनोट हुने भएकाले नेपाल हरेक खेलमा चनाखो हुनुपर्नेछ ।

पहिलो खेलमै हङकङसँग अप्रत्याशित हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानमाथि ८ विकेटको जितसाथ छनोट सम्भावना कायम राखेको छ । दुवै खेल जितेको यूएई नेपालभन्दा अगाडि छ । दोस्रो स्थानमा रहे पनि नेपालको नेट रनरेट यूएईभन्दा बढी छ । यसो हुँदा बाँकी तीनवटै खेलमा फराकिलो अन्तरको जित हासिल गर्दा नेपालको छनोट हुने सम्भावना छ । अघिल्लो संस्करणमा नेपाललाई हराएको यूएई यसपल्ट पनि नेपालको तगारो बन्नसक्छ । अघिल्लो दुवै खेलमा पराजित कुवेतको छनोट सम्भावना लगभग सकिएको छ । प्रतियोगिताकै कमजोर टोलीमध्ये एक कुवेतले पहिलो खेल भुटानसँग ७४ रन र दोस्रो खेलमा मलेसियासँग ८१ रनको हार बेहोरेको थियो ।

कतारको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय शृंखला क्लिन स्विप गरेर नेपाली टोली यूएई पुगेको थियो । नेपालले काठमाडौं र बंगलादेशको ढाकामा पनि प्रशिक्षण गरेको थियो ।


प्रकाशित : मंसिर ९, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

सानेपामा सुल्झियो सर्लाही कांग्रेसको विवाद

कान्तिपुर संवाददाता

सर्लाही — गुटगत राजनीतिले तनाव हुँदा रोकिएको सर्लाही कांग्रेसको अधिवेशन हुने भएको छ । विवाद समाधान भएसँगै जिल्लामा निर्वाचन गराउनका लागि केन्द्रले तेस्रोपटक निर्वाचन अधिकृत खटाइसकेको छ । केन्द्रीय निर्वाचन समितिले पार्टी कार्यालयमा जिल्लाका दुवै पक्षलाई राखेर वार्ता गराएपछि दुवै पक्ष निर्वाचनमा जान सहमत भएको हो ।

केन्द्रले दुवै पक्षलाई चार दिनसम्म वार्ता र छलफल गराएपछि मंगलबार मात्र सहमति भएको थियो । सहमति भएसँगै केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृतका रूपमा भरत राउतलाई खटाइसकेको छ ।

जिल्ला सभापति नागेन्द्रकुमार राय तथा पूर्वसभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटनपटन तथा जिल्ला निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा वडा तहको अधिवेशन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । विवादकै कारण यसअघि खटिएका निर्वाचन अधिकृतद्वय विनोद कार्की र दिवाकर पाण्डेले जिल्ला अधिवेशन गराउन सकेनन् ।

कात्तिक २६ का लागि तोकिएको निर्वाचन कार्कीले राजीनामा बुझाएपछि हुन सकेको थिएन । दोस्रोपटक निर्वाचनका लागि खटिएका दिवाकर पाण्डेमाथि कुटपिट भएपछि राजीनामा बुझाए । जसका कारण गत बिहीबारका लागि तोकिएको निर्वाचन पनि ओझेलमा पर्‍यो ।

जिल्ला अधिवेशन नहुँदा महाधिवेशनमा सर्लाहीको सहभागिता नहुने भएपछि केन्द्रीय निर्वाचन समितिले जिल्लाका दुवै पक्षका नेतालाई राखेर सहमति गराएको हो । २ सय वडा रहेको जिल्लाको वडा तहको निर्वाचनका लागि २ सय २० शिक्षक चुनिसकिएको छ । निर्वाचन सचिवालय चलाउनका लागि अधिकृत राउतले आफ्ना सहयोगीका रूपमा केन्द्रबाटै वकिलहरू ल्याउने बताइएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×