३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्पोरेट ब्याडमिन्टनमा शीर्ष आठ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ — नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयतामा शीर्ष आठमा रहेका पुरुष तथा महिला खेलाडीहरूले पुस ६ देखि हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

कर्पोरेट ब्याडमिन्टनमा शीर्ष आठ खेलाडीले प्रतिस्पर्धा गर्ने

आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ती १६ खेलाडीलाई एक कार्यक्रमवीच बुधबार सार्वजनिक गरेको छ ।

केबीएका अध्यक्ष रीता विष्टले भने, ‘ब्याडमिन्टन खेलाडीलाई कर्पोरेट हाउससँग जोड्दै आयोजना गर्न लागिएको टिम च्याम्पियनसिपमा आठ वटा कर्पोरेट हाउस सहभागि हुदैछन् । यसमा संघको वरीयताको आधारमा शीर्ष आठ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टिममावरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन् ।’ केबी सचिव दीपक थापाकाअनुसार शीर्ष आठमा रहेका महिला खेलाडीद्वय जेसिका गुरुङ (पाँचौं) र सीता राई (आठौं) ले चोटका कारण च्याम्पियनसिप गुमाउनेछन् । उनीहरूको स्थानमा नवौं र दसौं वरीयताका क्रमश : सीमा राजवंशी र सम्झना शर्माले खेल्ने अवसर पाएका छन् ।

‘गोला प्रथाको आधारमा खेलाडीहरूलाई टिममा बाँड्नेछौं,’ सचिव थापाले भने । महिलातर्फ शीर्ष वरीयताकी नङ्सल तामाङ सिटिजन्स बैंकमा कार्यरत छिन् । सिटिजन्स बैंक सहभागि नभएका अवस्थामामात्रै उनलाई गोलाप्रथामा समावेश गरिने उनले बताए । नङ्सल, सीमा र सम्झनासँगै अमिता गीरि (दोस्रो वरीयता), अनुमाया राई (तेस्रो), रसिला महर्जन (चौथो), शोभा गौचन (छैटौं), सुनयना मुखिया (सातौं) ले काठमाडौं टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको केबीएले जनाएको छ ।

पुरुषतर्फ शीर्ष आठ खेलाडी नै सहभागी हुने पक्का भएको जनाइएको छ । यसमा रत्नजित तामाङ (नम्बर १), दीपेश धामी (दोस्रो), विकास श्रेष्ठ (तेस्रो), साजनकृष्ण ताम्राकार (चौथो), विष्णु कटुवाल (पाँचौं), सुदीप सेढाईं (छैटौं), दीपक बोहोरा (सातौं) र नवीन श्रेष्ठ (आठौं) मा छन् । जुनियरतर्फ विश्व वरीयताको तेस्रोमा रहेका प्रिन्स दाहालले दुई वर्षयता घरेलु प्रतियोगितामा पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनी सिनियरको राष्ट्रिय वरीयतामा नवौं स्थानमा रहेकोले टिम च्याम्पियनसिपमा वैकल्पिक खेलाडीमा परेका छन् ।

‘हामीले पहिला संस्थानको टिमबाट प्रतियोगिता खेलेका थियौं । फेरि दुई दशकपछि ब्याडमिन्टन खेलाडीहरूले कर्पोरेट हाउससँग जोडिने अवसर पाएका छन्,’ एनबीएका अध्यक्ष रामजीबहादुर श्रेष्ठले भने, ‘च्याम्पियनसिपको लागि थप १–२ कर्पोरेट हाउससँग कुरा गरिरहेका छौं । टिम थपियो भने अरु १–२ खेलाडीले पनि अवसर पाउनेछन् ।’ केबीए सचिव थापाले सुरुमा शीर्ष १६ खेलाडी सहभागि हुने घोषणा गरिएपनि कोभिड १९ को प्रतिकूलताको कारण शीर्ष आठलाई मात्रै समावेश गर्न सम्भव भएको बताए । उनले भने, ‘हामीले गत जेठमै च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेका थियौं । तर, महामारीको कारण संभव भएन । यसलाई पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्दैछौं ।’

मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र वुमेन्स डबल्स गरी ५ स्पर्धासमावेश च्याम्पियनसिपमा विेजता टिमका वरीयता प्राप्त महिला र पुरुष खेलाडीले समान खेलाडीले ७५ हजार, उपवजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय रुपियाँ पाउनेछन् । वरीयता प्राप्त खेलाडीले सहभागि हुनेबित्तकै २० हजार पाउने र त्यसपछि प्रत्येक खेल म्याच फि २ हजार ५ सय पाउने छन् । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको लागि आठ वटा कर्पोरेट टिमको घोषणा चाँडै गर्ने केबीएले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?