१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ग्लोबल छनोटको लक्ष्य

कुशल तिमल्सिना

काठमाडौँ — ‘अहिले नभए कहिल्यै सकिन्न’ नेपाली महिला क्रिकेट टोलीले अर्थ पूर्णरूपमा बुझेको छ । यही मूलमन्त्रका साथ आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट सोमबारबाट यूएईमा सुरु हुँदा पहिलो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

ग्लोबल छनोटको लक्ष्य

नेपालले यसअघि यो छनोट प्रतियोगिता नखेलेको होइन । तर जहिल्यै यो नेपालका लागि ‘फलामे ढोका’ साबित भयो । कप्तान रुविना क्षेत्रीको भनाइ नै मान्ने हो भने उनीसहित सीता रानामगर, करुणा भण्डारीका साथै केही खेलाडी आफ्नो खेल जीवनको उत्तरार्धमा आइपुगिसकेका छन् । त्यसैले यस्तो मौका उनीहरू र नेपाललाई फेरि आउँदैन ।

नेपालको तयारी पनि यसअघिको भन्दा विशेष छ । पछिल्लो एक महिनायता काठमाडौं, बंगलादेशको ढाका र कतारको दोहामा आवश्यक तयारी गरी नेपाली टोली यूएई पुगेको हो । ढाकामा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको नेपालले कतारसँग तीन खेलको शृंखला खेलेको थियो । नेपालको तुलनामा कतार कमजोर नै टोली भए पनि नेपालका लागि दोहा भ्रमण म्याच एक्सपोजरका हिसाबले निकै महत्त्वपूर्ण थियो ।

त्यसक्रममा इन्दु बर्मा, कप्तान रुविना क्षेत्री, उपकप्तान सीता राना मगरले अर्धशतक प्रहार गरेका थिए । ट्वान्टी–२० विश्वकप खेल्ने सपनाको पहिलो खुट्किलोका रूपमा रहेको एसियाली क्वालिफायरमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्नुपर्नेछ । राउन्ड रोविन प्रणालीमा हुने यो प्रतियोगिताको विजेताले ग्लोबल क्वालिफायरमा प्रवेश पाउनेछ ।

नेपालका प्रशिक्षक जगत टमाटाले यसअघि नै विपक्षीलाई कमजोर रूपमा नलिई हरेक खेल फाइनल जस्तै सोचेर खेल्दा सकारात्मक परिणामको अपेक्षा गर्न सकिने बताइसकेका छन् । नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा अहिलेसम्म एसिया क्वालिफायर पार गर्न सकेको छैन । सन् २०११ यता नेपाली महिला टोलीको अन्तर्राष्ट्रिय सफलताको बाधकका रूपमा रहने थाइल्यान्ड यस प्रतियोगितामा छैन । थाइल्यान्ड सिधै ग्लोबल क्वालिफायरमा पुग्नु र अर्को बलियो टोली चीनले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले आफूलाई सहज हुने ठानेको छ । पछिल्लो संस्करणको छनोट प्रतियोगितामा यूएईसँगै हारेपछि ग्लोबल छनोट प्रवेशको सम्भावना समाप्त भएको पनि बिर्सनु हुँदैन ।

अघिल्लोपल्ट सन् २०१८ को नोभेम्बर तेस्रो साता थाइल्यान्डमा भएको एसिया क्वालिफायरबाट दुई टोली ग्लोबल क्वालिफायरमा पुग्ने व्यवस्था थियो । थाइल्यान्डसाग पराजित भए पनि नेपालको छनोट सम्भावनामा यूएई बाधक बनेको थियो । यसपल्ट नेपालका लागि घरेलु टोली यूएई प्रमुख चुनौती हुनेछ । सन् २००७ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरे पनि नेपाली खेलाडीका लागि यूएई नयाँ गन्तव्य जस्तै हो । त्यसैका लागि क्यानले यूएई पुग्नुअघि सोही मौसमसँग मिल्ने कतारमा एक साता प्रशिक्षणको व्यवस्था मिलाएको थियो ।

१५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली टोलीमा पहिलो पुस्ताबाट सीता रानामगरमात्र बाँकी छन् । महिला क्रिकेटमा नेरी थापाको पुस्तापछिको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो यो । महिला क्रिकेटलाई प्राथमिकता दिएको बताउँदै क्यानले पहिलोपल्ट वार्षिक अनुबन्धनमा प्रशिक्षक नियुक्ति गरेको थियो । पुरुष टोलीलाई सफलता दिलाएका प्रशिक्षक टमाटाले टोलीको जिम्मेबारी लिएका छन् ।

कोरोना कालपछिको पहिलो प्रतियोगितामा सकारात्मक प्रदर्शन र नतिजाको अपेक्षा रहेको रुविनाले बताएकी छन् । नेपालले सन् २०१९ को डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपालले सोमबार हङकङपछि मंसिर ७ गते भुटान, मंसिर ९ गते कुवेत, १० गते मलेसिया र १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : मंसिर ६, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?