नेपालगन्ज म्याराथनको तयारी पूरा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज म्याराथनको तयारी पूरा

रूपा गहतराज

नेपालगन्ज — शनिबार हुने सातौं नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमाल पनि सहभागी हुने भएका छन् । म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन/क्रिएटिभ ह्यान्ड्सले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

तस्बिर : नेपालगन्ज म्याराथन

प्रत्येक वर्ष मंसिर ५ मा नेपालगन्जमा म्याराथन हुँदै आएको छ । यसपालि शनिबार पार्न घोषित मितिभन्दा एक दिनअघि म्याराथन गर्न लागेको आयोजकले जनायो ।

गत वर्ष कोरोना महामारीका कारण भव्य गर्न नसकिए पनि यसपालि म्याराथनलाई उत्सवमय बनाउने लक्ष्य लिएको क्रिएटिभ

ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए । विश्वका ठूला सहरमा हुने सिटी म्याराथनको अवधारणामा हुन लागेको नेपालगन्ज म्याराथनमा मुख्य म्याराथन (४२.१९५ किमि), हाफ म्याराथन (२१ किमि), १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि छात्र, ३ किमि छात्रा, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचेयर दौड गरी १० इभेन्टमा प्रतिस्पर्धा हुनेछ । सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले गर्ने कार्यक्रम छ ।

सात हजार मानिसलाई दौडाउने योजनाअनुसार नेपालगन्ज म्याराथनको तयारी पूरा गरिएको आयोजकको दाबी छ । राष्ट्रिय स्तरका सबै र विदेशबाट समेत केही धावक नेपालगन्ज म्याराथनमा दौडिँदै छन् ।

सातै प्रदेशका खेलाडी नेपालगन्ज म्याराथनमा सहभागी हुँदै छन् । ‘स्थानीयदेखि अन्तर्राष्ट्रिय खेलाडी एउटै दौडमा हुँदा त्यसले फरक सन्देश पक्कै दिनेछ,’ अध्यक्ष ठकुरीले भने, ‘दौडमार्फत सहर चिनाउने एउटा अवसर पनि हो ।’ चलचित्र अभिनेता हमाल नेपालगन्ज आउने भएपछि दौडको रौनक अझ बढ्ने उनले बताए ।

म्याराथनमा अधिकांश राष्ट्रिय खेलाडी दौडिँदै छन् । विधागत दौडमा भविष्यका धावक र विद्यार्थीको उत्साहपूर्ण सहभागिता देखिँदै आएको छ । ८ देखि १२ वर्ष उमेरका बालबालिका, कर्पोरेट र वाकाथनमा सहरका गन्यमान्य व्यक्तित्वले भाग लिनेछन् । नेपालगन्ज म्याराथनमा अपांगता भएकाहरूले पनि प्रतिभा देखाउने मौका पाउँदै आएका छन् ।

प्रकाशित : मंसिर ३, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

व्यक्तिगत खर्चमा सडक मर्मत

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — वर्षाले सडक भासिँदा अरनिको राजमार्गअन्तर्गत लामोसाँघु–बसेरी–टोप्का खण्ड ४ महिना अवरुद्ध बन्यो । ९ किलोमिटर लामो यो खण्ड ठप्प हुँदा स्थानीयलाई अत्यावश्यक कामका लागि आउजाउ गर्नुपर्दासमेत घण्टौं हिँड्नुबाहेकको विकल्प रहेन । यस्तो बाध्यता स्थानीयले जनप्रतिनिधिलाई सुनाए । बलेफी गाउँपालिका–८ ले २ लाख रुपैयाँ खर्चेर मर्मतसम्भार त गर्‍यो तर सडक सञ्चालन हुन सक्ने अवस्था बनेन ।

एम्बुलेन्स नै पुग्न नसक्ने अवस्था महिनौंसम्म रहँदा गाउँका गम्भीर, असक्त र प्रसूतिसम्बन्धी बिरामीलाई आपत नै पर्‍यो । यस्तो दूरवस्थाको साक्षी बनिरहन स्थानीय सुवास तिमल्सिनाको मनले मानेन । सडक बनाउन आफैं किन नलाग्ने सोच लिएर उनले रकम जुटाउन थाले । ऋणधन गरेर जम्मा गरे ४ लाख रुपैयाँ ।

उक्त रकमबाट सडक मर्मतसम्भार र ग्राभेल सकिएर अहिले सञ्चालनमा आएको छ । सडकमा गाडी गुड्न थालेपछि स्थानीयले उनलाई खुबै धन्यवाद दिए । फेरि गाउँमै गाडी पुग्न थालेपछि आफ्नो मन पनि हलुका भएको र स्थानीयबाट पनि आशिर्वाद पाएको उनले सुनाए ।

‘९ किमि सडकको सुधार म धनी भएर गरेको हैन । आफ्नो गाउँ आफैं बनाउनुपर्छ भन्ने लाग्यो । त्यसमाथि जनप्रतिनिधि जत्तिकै हामी पनि त जिम्मेवार हुनुपर्छ,’ उनले भने । कोरोना महामारी फैलँदा पनि उनले गाउँका विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७८ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×