हिमालयन शेर्पालाई नेपाल आइसको साथ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब हिमालयन शेर्पाले बुधबार नेपाल आइससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । यो अनुबन्धपछि क्लब औपचारिक रूपमा नेपाल आइस हिमालयन शेर्पाको नामले चिनिने छ । क्लबले नेपाल आइसको सीजी ब्रुअरीसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । 

हिमालयन शेर्पालाई नेपाल आइसको साथ

क्लबका कार्यबाहक अध्यक्ष फुपुदोर्जे शेर्पा र सीजीका बिजनेस हेड प्रदीप पुडासैनीले हस्ताक्षर गरे । एकवर्षे अनुबन्धको रकम भने खुलाइएको छैन ।

पुडासैनीले सामाजिक उत्तरदायित्व र फुटबल विकासका लागि प्रायोजना गरेको बताउँदै हिमालयन शेर्पासँग आबद्धता हुन पाएकोमा खुसी व्यक्त गरे । उनले थपे, ‘हाम्रो संस्था नेपाली खेलकुदसँग जोडिँदै आएको छ र यसैक्रममा हामी हिमालयन शेपासँग आबद्ध भएका छौं । यसले एकातर्फ हाम्रो ब्रान्ड बलियो त हुनेछ भने सँगै फुटबल विकासमा पनि सहयोग हुनेछ ।’

क्लब अध्यक्ष पनि रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङले प्रायोजकको सहभागिताले नेपाली फुटबल अझ व्यावसायिक हुने धारणा राखे ।

हिमालयन शेर्पाले सहिद स्मारक लिगको पहिलो खेल संकटाविरुद्ध शनिबार खेल्नेछ । प्रतियोगिता भने शुक्रबार सुरु हुँदै छ । वर्ष २०६२ देखि नेपाली फुटबलको माथिल्लो डिभिजन खेल्न थालेको हिमालयन शेर्पाका मुख्य प्रशिक्षक युगलकिशोर राई छन् । कार्यक्रममा उनले प्रतियोगितमा आफ्नो टिमको प्रदर्शन राम्रो रहने दाबी गरे ।

प्रकाशित : मंसिर २, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?