रोहित मान्छन्, जितको कारण आक्रामक- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहित मान्छन्, जितको कारण आक्रामक

एएफपी

अबुधाबी — भारत आक्रामक भएर मैदानमा उत्रनु नै ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानमाथि प्राप्त जितको कारण रहेको प्रारम्भिक ब्याटर रोहित शर्माले बिहीबार दाबी गरेका छन् । उनको अर्धशतकीय प्रदर्शनको मदतले भारतले बुधबार अफगानिस्तानलाई सजिलै ६६ रनले हराएको थियो । उनले ७४ रन बनाए र पहिलो विकेटमा केएल राहुलसँग मिलेर १ सय ४० रनको ठोस साझेदारी गरे ।

राहुलले ६९ रनको योगदान दिए र भारतले पहिले ब्याटिङ गर्दै ठुलो जित आवश्यक भएको खेलमा २ सय १० रनको स्कोर खडा गरेको थियो । प्रतियोगिताका सुरुआती दुई खेल गुमाएको भारतले अफगानिस्तानलाई १४४–७ को स्कोरमा सीमित राख्यो र आफ्नो सेमिफाइनल पुग्ने झिनो समीकरण जीवन्त राख्न सफल भयो ।

‘सबैलाई थाहा थियो, भारतले यो खेल पनि गुमाउने छ भने प्रतियोगिताबाट बाहिरिने छ,’ रोहितले भने, ‘त्यसैले हामीले जित्नकै लागि मात्र खेल्यौं । जति बेला यस्तो स्थिति हुन्छ, कुनै पनि टिमले डर विना आक्रामक भएर खेल्नु पर्ने हुन्छ । अनि यस्तो बेला अन्यत्र स्थिति के भइरहेकोछ, त्यसमा पनि बढी ध्यान दिनु हुन्न । मेरो विचारमा आजको खेलका लागि सबै भारतीय खेलाडी नै फरक प्रकारले प्रस्तुत भए । यस्तै खेल हामीले यसअघिका दुई खेलमा पनि खेलेको भए, स्थिति बेग्लै हुने थियो । जति बेला हामी आक्रामक भएर खेल्यौं, नतिजा आजकै जस्तो हुन्छ ।’

रोहितले यसअघिका दुई खेलमा शून्य र १४ रन मात्र बनाएका थिए । तर उनले अफगानी बलिङ आक्रमणविरुद्ध खुलेर आठ चौका तथा तीन छक्का प्रहार गरे र यसका लागि खालि ४७ बलको मात्र सामना गरे । हिटम्यान उपनामले चर्चित रोहितले

आफ्नो २३ औं ट्वान्टी ट्वान्टी अर्धशतक पनि पूरा गरे । उनले अफगानी अनुभवी स्पिनर रसिद खानको बलमा दुई ठूला छक्का पनि प्रहार गरे । राहुलले पनि ४८ बलको आफ्नो खेलमा आक्रमक नै रहे ।

भारतका लागि स्पिनर रविचन्द्रन आश्विन फेरि टिममा फर्के र उनले १४ रन मात्र खर्चेर दुई विकेट लिए । सन् २०१७ यता पहिलोपल्ट भारतका लागि सेतो बलमा खेलिरहेका आश्विन अगाडि अफगानी ब्याट्सम्यान खुलेर खेल्न असफल रहे । भारतीय टिमका उपकप्तान समेत रहेका रोहितले माने, ‘हामी पक्कै पनि राम्रो टिम हौं । मेरो विचारमा पाकिस्तान र न्युजिल्यान्डविरुद्ध हाम्रो लागि खराव दिन सावित भएको मात्र हो, आजको खेलले हामी कस्तो छौं, त्यो देखाएको छ ।’

प्रकाशित : कार्तिक १९, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

कुलेखानी ‘ओभरफ्लो’

केही साताअघि जलाधार क्षेत्रमा भएको भारी वर्षाले जलाशय भरियो
कान्तिपुर संवाददाता

हेटौंडा — पूर्ण क्षमतामा विद्युत् उत्पादन नगरिँदा कुलेखानी जलाशय (इन्द्रसरोवर) बाट ११ दिनदेखि पानी ‘ओभरफ्लो’ भएर खेर गइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहे पनि कुलेखानी प्रथम जलविद्युत् आयोजना हाल ‘पिकअप टाइम’ मा मात्रै सञ्चालनमा छ । जसका कारण जलाशय भरिएर ओभरफ्लो भएको आयोजना प्रमुख धीरेन्द्र चौधरीले बताए । ‘आयोजना सञ्चालन भएको अवस्थामा पानी ओभरफ्लो हुँदैन, नत्र खेर जान्छ,’ उनले भने, ‘हिजोआज दिनमा १/२ घण्टा मात्र उत्पादन भइरहेको छ ।’ १ हजार ५ सय ३० मिटर उचाइसम्म पानी संकलन गर्ने जलाशयको क्षमता छ ।

२०७२ वैशाख १२ मा भूकम्प जानुअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटरसम्म पानी संकलन गर्न बाँधमा बालुवाको बोरा राख्ने गरिन्थ्यो । ‘भूकम्पले बाँध चर्किएपछि त्यसयता यसरी बोरा राखेर पानी संकलन गर्न छोडेका हौं,’ उनले भने । उनका अनुसार २०७२ पछि कुलेखानीको पानी ओभरफ्लो भएको यो पहिलो पटक हो ।

२०५५ र २०५८ मा पनि कुलेखानी भरिएको थियो । तर यति लामो समयसम्म ओभरफ्लो भएको थिएन । ‘२०५० को बाढीले जलाशय भरिएपछि बाँधको ढोका खोलेर पानी फालिएको थियो । त्यसयता बाँधको ढोका खोल्नुपरेको छैन,’ उनले भने ।

मनसुन सकिएपछि पनि जलाशयको जलाधार क्षेत्रमा लगातार भारी वर्षा भएकाले इन्द्रसरोवर भरिएर ओभरफ्लो भएको हो । मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । मुलुकमा मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले पनि यो आयोजना नियमित रुपमा सञ्चालन गर्नु नपरेको प्राधिकरणले जनाएको छ । आयोजना नियमित सञ्चालनमा नआउँदा जलाशयको पानी खपत भएको छैन ।

विगतका वर्षहरूमा वर्षायाममा पनि यो आयोजना चौबीसै घण्टा सञ्चालनमा ल्याइन्थ्यो, अहिले त्यस्तो भएन । यो आयोजना सञ्चालन नभए पनि तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने दाबी यसअघि नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरिसकेका छन् ।

कुलेखानी जलाशयको पानी १ हजार ४ सय ८४ मिटर उचाइसम्म प्रयोग गर्न मिल्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ । यहाँ तीन वटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ । जलाशयको चौडाइ ३ सय मिटर र लम्बाइ ७ किलोमिटर छ ।

प्रकाशित : कार्तिक १९, २०७८ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×