पुनरागमनमा जोकोभिच विजयी

बीबीसी

पेरिस — नोभाक जोकोभिचले कडा संघर्ष गर्दै पेरिस मास्टर्समा हंगेरीका मार्टोन फुसोभिक्सलाई पराजित गरेर कोर्टमा पुनरागमन गरेका छन् ।

पुनरागमनमा जोकोभिच विजयी

विश्व नम्बर एक जोकोभिचले ६–२, ४–६, ६–३ को जित हात पारे । ३४ वर्षीय उनी ‘क्यालेन्डर ग्रान्ड स्लाम’ को अवसरमा गत सेप्टेम्बरमा भएको युएस ओपनको फाइनलमा रुसका डानिल मेडभेडेभविरुद्ध पराजित भएपछि पहिलोपल्ट सिंगल्सतर्फ कोर्टमा फर्किएका हुन् ।

‘यो निकै कडा संघर्ष रह्यो र मेरा लागि पहिलो खेल राम्रो रह्यो,’ सर्बियाली स्टारले भने, ‘मैले केही अपेक्षा गरेको थिइनँ । तर, मलाई थाह थियो कि प्रतिस्पर्धा सजिलो हुने छैन ।’

जोकोभिचले पुरुषतर्फ कीर्तिमान सातौंपल्ट शीर्ष वरीयतामा रहेर सन् २०२२ टुंग्याउने लक्ष्य बनाएका छन् । उनले तेस्रो चरणमा एड्रियन मानारिनो वा गेल मोन्फिल्सविरुद्ध खेल्नेछन् । २० पल्टको ग्रान्ड स्लाम च्याम्पियनले न्युयोर्कमा मेडभेडेभविरुद्धको हारपछि बिदा लम्ब्याएका थिए । एउटै सिजन चारवटै ग्रान्ड स्लाम जित्न ५० वर्षयताको पहिलो खेलाडी बन्ने सपना तुहिएपछि उनले आँसु बगाउनुपरेको थियो ।

लगभग दुई महिना प्रतिस्पर्धात्मक खेल नखेले पनि जोकोभिचले ४० औं वरीयताका फुसोभिक्सविरुद्ध उत्कृष्ट सुरुआत गरेका थिए । तर, फुसोभिक्सले संघर्ष गर्दै दोस्रो सेट जिते । उनको सर्भिस र खेलले जोकोभिचलाई समस्यामा पारेको थियो । तेस्रो सेटमा जोकोभिचले सर्भिस ब्रेक गर्दै ४–२ ले अघि बढेपछि फुसोभिक्सको चुनौती समाप्त भयो र शीर्ष वरीयताका खेलाडीले जितको खुसीयाली मनाए ।

प्रकाशित : कार्तिक १७, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?